८ वैशाख २०८१ शनिबार
खेल

पारसको अर्धशतकमा युएईमाथि नेपालको जित

काठमाडौं – कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। 

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक नामिबियाविरुद्ध १ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भयो।

आइतबार भएको तेस्रो खेल अन्तर्गत विन्डोकस्थित एफिज पार्क मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले ११५ रनको विजयी लक्ष्य पायो। वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा युएर्इ ३१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान खड्काको सर्वाधिक ५१ रनको मद्दतमा ३१ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका लागि ४८ बलमा सर्वाधिक ५१ रन बनाएका पारसले २ चौका र ५ छक्का प्रहार गरे। आरिफ शेखले १ चौकासहित १६ रन बनाए। रोहितकुमार पौडेल र सोमपाल कामीले नटआउट १२ र १० रन जोडे । अन्य खेलाडीको प्रदर्शन कमजोर रह्यो। युएईका मोहम्मद नाभेद अमिर हयातले २–२ विकेट लिए भने अहमद राजा, रोहन मुस्तफाले १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको यूएईका लागि सैमन अनवरले सर्वाधिक ३० रन बनाए। अद्नान मुफ्तीले १८, गुलाम साब्बरले १६, मोहम्मद बोटाले १५, मोहम्मद नाभिदले १० रन बनाए। अन्य खेलाडीले खासै प्रदर्शन गर्न सकेनन्। नेपालका सोमपाल कामीले युएईका सर्वाधिक ४ विकेट लिए। सन्दिप लामिछानेले ३, पारस खड्काले २ तथा करण केसीले १ विकेट लिए।

खेलमा अर्धशतक प्रहार गर्ने कप्तान पारस खड्का म्यान अफ द म्याच घोषित भएका छन्।

प्रकाशित: २८ माघ २०७४ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App