८ वैशाख २०८१ शनिबार
कला

धकधक गर्दै जेकलिन

मुम्बई – बलिउडमा ‘धक धक गर्ल’ भन्नासाथ दर्शकलाई अभिनेत्री माधुरी दिक्षितको तस्बिर दिमागमा आउँछ ।  तर अब माधुरीको यो पहिचानलाई अहिलेकी नायिका जेकलिन फर्नान्डिजले आफ्नो पार्ने भएकी छन् ।

फिल्म ‘तेजाब’मा माधुरीले नृत्य गरेको सुपरहिट डान्सिङ नम्बर ‘एक दो तिन’लाई रिमेक गरेर फिल्म ‘बागी २’मा राखिँदैछ । यसरी रिमेक हुन लागेको गीतमा ज्याकलिनले नृत्य गरेकी छिन् । ज्याकलिनले आफ्ना लागि यो गीतमा नृत्य गर्नु चुनौतीपूर्ण रहेको बताएकी छन् । ‘ त्यस्तो चर्चित गीतलाई फेरि कसरी न्याय गर्ने भन्ने दबाब थियो,’उनले भनेकी छन्,‘तर नृत्य निर्देशकले मलाई माधुरी र सरोज खानको जस्तै गरी नृत्य गर भनेर हौस्याएपछि सहज भयो ।’

उनले आफूलाई निर्देशक अहमद खान, साजिद नाडियाडवाला र गणेश आचार्यले गीतमा नाच्ने मौका दिएकोमा आभार व्यक्त गरेकी छन् । ‘म कहिल्यै पनि माधुरी दिक्षितसँग नृत्यमा बराबरी गर्न सक्दिन । किनकि जो कोही पनि  माधुरी दिक्षित जस्ता बन्न असम्भव छ ,’ उनले भनेकी छन् । ज्याकलिनले नृत्य गर्नुअघि माधुरीसँग पनि आशीर्वाद लिएको बताएकी छिन् ।

‘बागी २’ दुई वर्षअघि सार्वजनिक फिल्मको सिक्वेल हो । पहिलो भागमा टाइगर श्राफ र श्रद्धा कपुरले मुख्य भूमिकामा अभिनय गरेका थिए । दोस्रो भागमा टाइगर श्राफ दोहोरिए पनि टाइगरको जोडीको रुपमा दिशा पटानीले अभिनय गरेकी छिन् । दिशा फिल्ममा फाइनल हुनुअघि ज्याकलिन र श्रद्धाको नाम चर्चामा थियो । फिल्म आउँदो मार्च महिनाको अन्तिममा रिलिज हुँदैछ ।
 

प्रकाशित: २९ माघ २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App