१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पढाइ खर्च जुटाउन जोगीको भेष

जीवनदर्शन बुझेर लोभलालच एवं सांसारिक मोह त्यागी आध्यात्मिक बाटोमा लाग्नेलाई जोगी भन्ने चलन छ । अचेल भने जीवनदर्शन बुझेर वा वैराग्यले होइन, लहडबाजीले जोगी बन्ने चलन बढेको छ ।

जोगी समेत पेसाका रूपमा विकासित हुन थालेको पाइन्छ । शिवरात्रिमा पशुपति क्षेत्रमा देखिने बलियाबांगा र उरन्ठेउला जोगीको उपस्थितिले त्यसलाई पुष्टि गर्छ ।शिवरात्रिका लागि पशुपति क्षेत्रमा भारतको इलाहबादबाट  किशोर र तन्नेरी जोगीको समूह समेत आएको छ । गेरु वस्त्रधारी उनीहरू भिक्षा माग्न हातमा बोकेका भाँडा अघि सार्छन् । दशनामी समुदायका ती जोगी स्कुल पढ्दै छन् । शिवरात्रिका बेला पशुपतिनाथ आउँदा पैसा कमाउन पाइन्छ भन्ने सुनेपछि १५÷१६ जनाको समूह बनाएर नेपाल आएको बताउँछन्, १५ वर्षीय सन्नी गिरी ।

हामी इलाहबादमा स्कुल तहमा पढ्दै छौँ, शिवरात्रिका बेला पशुपतिमा जोगीले पैसा कमाउँछन् भन्ने सुनेर जोगीको भेषमा यता आएका हौँ ।’

‘हामी इलाहबादमा स्कुल तहमा पढ्दै छौँ, शिवरात्रिका बेला पशुपतिमा जोगीले पैसा कमाउँछन् भन्ने सुनेर जोगीको भेषमा यता आएका हौँ,’ गिरीले भने । उनीसँग १६ वर्षीय रञ्जित गिरी, १७ वर्षीय कल्लु गिरी, १८ वर्षीय छोटे गिरी र २३ वर्षीय सुजित गिरी पनि तीन दिनअघि काठमाडौं आइपुगेका छन् । पशुपति क्षेत्रका मन्दिरमा बसिरहेका उनीहरू शिवरात्रिपछि भारत फर्कने बताउँछन् ।

पढाइ छाडेर किन जोगी बनेर हिँडेको भन्ने प्रश्नमा उनीहरूले एकै स्वरमा भने, ‘हामीले पढ्न छोडेका छैनौँ, किताब–कापी किन्ने खर्चको जोहो गर्न यहाँ आएका हौँ ।’ शिवरात्रिमा प्राप्त हुने दक्षिणाबाट स्कुलखर्च कटाएर कपडा किन्ने उनीहरूको योजना छ ।

इलाहबाद सरगाउँका उनीहरूले बिहान स्कुल र बेलुका ट्युसन पढ्ने गरेको बताए । यहाँबाट प्राप्त हुने दक्षिणाले ट्युसन खर्चको जोहो गर्ने १५ वर्षीय सन्नी बताउँछन् ।पशुपति क्षेत्रमा भेटिने तन्नेरी जोगीहरू कसैले भिक्षा दिन लागेमा दौडिएर हानाथाप गर्छन् । कसैले उनीहरूका बारे चासो राखे पनि भिक्षा नै दिन लागेका हुन् कि भनेर एकै ठाउँमा जम्मा हुन्छन् ।

शिवरात्रिपछि पनि जोगीकै भेषमा बस्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनीहरू भन्छन्, ‘हामीहरू शिवरात्रिसम्मका लागि मात्र जोगी हौँ, यहाँबाट फर्किएपछि विद्यार्थी हुन्छौँ ।’ आफूहरूको आर्थिक अवस्था कमजोर भएका कारण पढाइखर्च जुटाउन सानै उमरेमा जोगी बनेको उनीहरूले बताए ।

‘हामी बच्चै छौँ, जीवनजगत् बुझेर जोगी बनेका होइनौँ, मजबुरीले जोगी बनेका हौँ,’ २३ वर्षीय सुजित गिरीले भने । शिवरात्रिमा दक्षिणा पाउने आसमा नेपाल आएको उनले बताए । पहिलोपटक नेपाल आएका उनीहरूलाई दक्षिणाबापत कति पाइन्छ भन्ने जानकारी छैन । ‘कति पाइन्छ थाहा छैन, जति पाए पनि यहाँ आउँदाको खर्च कटाएर बाँकी पैसा पढाइमा लगाउँछौँ ।’

प्रकाशित: २९ माघ २०७४ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App