coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

म्याद थप्दै, ठेक्का बचाउँदै

ठेकेदारको लापरबाहीले भक्तपुरको कमलविनायक हुँदै नगरकोट प्रवेश गर्ने मुख्य सडक निर्माण तीन वर्षदेखि अलपत्र परेको छ ।कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको १५.६ किलोमिटर सडक तीनपटक म्याद थप्दा हालसम्म बन्न सकेको छैन । सडक नबन्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

हालसम्म ठेकेदार कम्पनीले ३१.५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । ‘हरेक दिनको यात्रा त्रासदिमा पार गर्नुपर्ने बाध्यता छ,’ नगरकोटका मनीष तामाङले भने, ‘एक त भनेका बेला गाडी नपाइने, अर्को सडकको अवस्था झन् त्यस्तो छ ।’ उनले कमलविनायक–नगरकोट रुटमा बसको संख्या अत्यन्तै कम भएकाले अचेल सबै बस भरिभराउ हुने गरेको बताए ।

भक्तपुर र काभ्रेको सीमानामा पर्ने नगरकोट क्षेत्र उपत्यका नजिकको पर्यटकीय गन्तव्य हो । यहाँ दैनिक सयौँ पर्यटक ओहोरदोहोर गर्छन् । आठ महिनायता ठेकेदार कम्पनीले केही ठाउँमा कालोपत्र गर्न भनेर तीनपटक ग्राभेल बिछ्याइसकेको छ । तर, कालोपत्रे नगरेपछि त्यसको केही दिनमै सम्याइएको सडक खाल्डाखुल्डीमा परिणत भएको छ ।

सडक नबन्दा धुलोले सडक आसपासमा कुहिरो लागेजस्तै हुने गरेको छ । सडक निर्माणमा ठेकेदार कम्पनीले आलटाल गर्दा समस्या आएको स्थानीय बताउँछन् । ‘साघुँरो सडक अब त फराकिलो बन्छ कि भनेको झन् समस्या पो थपियो,’ खरिपाटीका अशोक लामिछानेले भने, ‘अहिले त बुङबुङ धुलो र ठुल्ठूला खाल्डाखुल्डी देख्दा कतै हिँड्नै मन लाग्दैन ।’

कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको १५.६ किलोमिटर सडक तीनपटक म्याद थप्दा पनि बन्न सकेको छैन ।

उनले यस क्षेत्रका जनप्रतिनिधि र नेताको बेवास्ताले जनताले सास्ती पाएको बताए । बिदाका दिन यही सडक भएर काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेलगायतका  धेरै मानिस नगरकोट पुग्ने गर्छन् ।
कमलविनायक–नगरकोट सडक सुधार आयोजनाका परामर्शदाता इन्जिनियर नरेशबाबु श्रेष्ठले ०७२-७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक ठेक्का दिएको बताए ।

उनले ठेकेदारले भूकम्प, नाकाबन्दीलगायत समस्या देखाएर २०७४ मंसिरसम्म सम्पन्न गरिसक्ने भन्दै म्याद थपेको जानकारी दिए ।मंसिरसम्म पनि कुनै काम नभएपछि ठेकेदारले फेरि म्याद थपे गर्न माग गरेको थियो । सरकारले पनि ठेकेदारलाई फेरि म्याद थपिदियो ।सडक विस्तारको जिम्मा लिएको शैलुङ कन्स्ट्रक्सन कम्पनीले १५.६ किलोमिटर सडक निर्माण गर्न अझै एक वर्ष म्याद थप गर्न सडक विभागसमक्ष माग गरेको छ ।

सडक विभागले २८ करोड रुपैयाँमा ठेकेदार कम्पनीलाई दुई वर्षभित्र सक्ने गरी सडक निर्माणको जिम्मा दिएको थियो । ‘हामीले बारम्बार घचघच्याइरहेका छौँ,’ उनले भने, ‘ठेकेदारले काम नगर्नाले हामीलाई समेत अप्ठेरो परेको छ ।’  भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बिग्रेका सडक बनाउन भन्दै सडक विभाग र डिभिजन सडक कार्यालयका कर्मचारीलाई धेरैपल्ट ध्यानाकर्षण गराएको बताए । ‘सडक बिग्रेको धेरै समय भयो,’ उनले भने, ‘हामीले धेरैपल्ट भन्दा पनि ठेकेदार कम्पनीले अटेर गर्यो ।’

ठेकेदार राकेशकुमार झाले सडक चौडा पार्ने, रूख काट्ने, सब बेस बनाउने लगायत कामले गर्दा तोकिएको समयमा काम नसकिएको बताए । उनले ठेक्का लिएको डिजाइन र मापदण्डअनुसार काम गर्न निकै मुस्किल परेकाले ढिलो भएको बताए । ‘हामीले यो सडक अरुभन्दा भिन्न किसिमले पिच गर्दै छौँ,’ उनले भने, ‘यसमा ग्राभेल र गिटी ओछ्याइसकेपछि अलकत्रा छर्केर दुई–तीन महिनासम्म सुकाएर मात्रै पिच गर्नुपर्छ ।’ उनका अनुसार हालसम्म नौ करोड रुपैयाँ खर्च भइसकेको छ ।

कमलविनायक–चरेली पनि उस्तै
कमलविनायक–चरेली सडकखण्डको अवस्था पनि उस्तै छ । यो सडक भक्तपुरको कमलविनायकबाट भत्केको पाटी–सुडाल–जितपुरफेदी–चरेली–कलमसी हुँदै नगरकोट टावरसम्म पुग्छ । साढे ११ किलोमिटर लम्बाइको यो सडकमा जताततै खाल्डैखाल्डा छन् ।

करिब दुई वर्षअघि ग्रामीण पुनः निर्माण तथा पुनस्थापना आयोजनाले एसियाली विकास बैंक र बेलायती सरकारको सहयोगमा ६ करोड रुपैयाँ खर्च गरी सडक निर्माण गरेको थियो ।अहिले यो सडक खाल्डैखाल्डा भएको सुडालका स्थानीयवासी किशोर परियारले बताए । उनले योभन्दा पहिले सडक पिच गर्दा कमसल सामग्री प्रयोग भएका कारण दुई वर्षमै कालोपत्रे भत्किएको बताए । ‘ठेकेदार कम्पनीले सडक बनाउँदा बदमासी गरेका कारण यस्तो समस्या आएको हो,’ उनले भने, ‘त्यतिबेला ठेकेदारले धेरै कमिसन खाएर कम बजेट सडकमा खर्च गरेका थिए ।’

कमलविनायबाट यो सडकखण्ड हुँदै नगरकोट पुग्न आधा घन्टा लाग्छ । खाल्डैखाल्डाको साँघुरो सडकले धेरै दुर्घटना निम्त्याएको चालकको भनाइ छ । ‘जोखिम मोलेर गाडी हाँक्नुपरेको छ,’ कमलविनायक–चरेली रुटमा बस चलाउँदै आएका उत्तम फुयाँलले भने, ‘यहाँका नेताले भोटका लागि मात्रै सडकलाई चुनावी मुद्दा बनाए, काम कसैले गरेनन् ।’

 

प्रकाशित: २९ माघ २०७४ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App