८ वैशाख २०८१ शनिबार
विचार

विचलित कांग्रेस

विभिन्न उतारचढावका साथ सात दशक लामो यात्रा पार गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस प्रतिनिधिसभा र र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले ल्याएको बहुमतपछि विचलित मुद्रामा छ । पार्टी शुद्धीकरणका नाउँमा नेता बाटोमा बसेर जुत्ता पालिस गर्दै लोक हँसाउने काम गरिरहेका छन् भने कोही आरोप÷प्रत्यारोपमा व्यस्त छन् । कांग्रेसको हार शर्मनाक छ । पराजयमा पार्टी नेतृत्वको कमजोरी पनि उत्तिकै छ ।

कांग्रेस नेताहरूका बोली सुन्दा लाग्छ, उनीहरूले अझै पनि यो समय एकअर्काबीच आरोप÷प्रत्यारोपमा खर्च गर्ने नभई कमीकमजोरी सुधार्ने या सच्याउने हो भन्ने बुझेका छैनन् । चुनाव आउँछ जान्छ, यो एउटा लोकतन्त्रको नियमित प्रक्रिया हो । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलले यो प्रक्रियालाई सामान्यरूपमा लिनुपर्छ । तर कांग्रेसीहरू चुनाव १ पटकमात्र आउने हो, सबै सकिसक्यो, अब केही बाँकी छैन जस्तोगरी अलाप बिलाप गर्दै विचलित भइरहेका छन् । उनीहरूमा यसरी विचलन आउनुमा ३ वटा प्रमुख कारण छन् ः

इतिहासको अहंकार

आजको समय इतिहासको ब्याजले चल्दैन । २००७, २०३६ र २०४६ सालको कुरा गरेर केही फाइदा छैन । यो इतिहास हो । इतिहासको सम्मान गर्नुपर्छ र सिक्नुपर्छ तर त्यसलाई भजाउनु हुँदैन । सधैँभरि कोठे बैठकमा कांग्रेसले २००७ सालमा राणा फाल्यो, हतियार उठायो, २०३६ सालमा जनमत संग्रहका लागि लड्यो, २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनामा मुख्य भूमिका खेल्यो भनेर मात्र केही हुनेवाला छैन । हो,  कांग्रेसको इतिहास राम्रो छ, देशका लागि धेरै रगत बगाएको छ । अब त्यसैको बलमा मात्र जनताले पत्याउने छैनन् भन्ने बुझ्न जरुरी छ । आफैँले सिकाएको र बुझाएको लोकतन्त्र, दिएको वाक् स्वतन्त्रताको प्रयोग गरी जनताको विचार र सोच्न सक्ने क्षमता कहाँ  पुगिसक्यो भन्ने कुरा नेपाली कांग्रेसले कहीँ÷कतै बुझेकोजस्तो लाग्दैन ।

पार्टी संगठन

कांग्रेसमा कार्यकर्ताभन्दा नेता बढी छन् । सबैलाई पद चाहिएको छ । संगठनबारे सोच्ने कार्यकर्ता छँदै छैनन् भन्दा पनि हुन्छ । महाधिवेशन र महासमिति सदस्यलाई फूलमाला लगाएर घरबाट बाहिर निकाली चुनावमा हिँडाउनुपर्छ भने अरुको त के कुरा ? कांग्रेसमा सबै भन्दा ठूलो छुवाछूत नै नयाँ र पुरानोको बीचमा छ । म पार्टीमा लागेको यति वर्ष भयो, ३६ र ४६ सालमा लडियो, यो पार्टीमा ठूलो योगदान छ । नयाँ आउनेले के नै गरेका छन् भन्ने सोच राख्नेहरू नै संगठनमा हाबी छन् । जहिलेसम्म  संगठनमा म पुरानो, मैले नै सबै कुरा जानेको देखेको छु भन्नेहरूको हालिमुहाली हुन्छ, त्यो बेलासम्म कांग्रेस सुध्रने देखिँदैन । पुरानो मान्छे पनि चाहिन्छ तर समय र परिस्थितिअनुसार आफ्नो विचार र सोच बदल्नु पनि जरुरी छ ।

चरम गुटबन्दी

कांग्रेसी कार्यकर्तालाई पनि बेलाबेलामा लाग्दो होला, म कुनै पार्टीको सदस्य हो या कुनै नेताको कार्यकर्ता ? यसको अर्थ कांग्रेसमा चरम गुटबन्दी छ । कांग्रेसमात्र यस्तो पार्टी होला जसका नेताले सिधै फोन गरेर आफ्नै पार्टीका यो नेतालाई चुनाव जिताउनुपर्छ, यो नेतालाई हराउनुपर्छ भन्न सक्छन् । त्यो पनि खुलमखुला । कांग्रेसमा टिकट पाउनु नै चुनाव जितेबराबर हो । टिकट पाएपछिको अवस्थामा जनताकोमा जानुभन्दा पहिला दाबेदार र आफ्नै पार्टीभित्रका विरोधी मिलाउँदैमा समय सकिने अवस्था छ । आजकल कांग्रेसमा नयाँ बहस सुरु भएको छ– के कांग्रेसको नेतृत्व असफल भएकै हो त ? तर नेतृत्व असफल भएको हैन, गैरजिम्मेवारमात्र भएको हो । त्यसैले ५ वर्षभित्र कांग्रेसलाई फेरि ‘सबैलाई जोड्ने कांग्रेस’ बनाउने हो भने पार्टीभित्र गुट अन्त्य गर्न जरुरी छ ।

 

प्रकाशित: २९ माघ २०७४ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App