coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट अभावले टेम्केमा टावर बन्न सकेन

भोजपुर–पूर्वको रमणिय डाँडा टेम्के आफैंमा विशाल टावर हो। त्यहाँबाट मनास्लुदेखि कञ्चनजंघा हिमालसम्मको लामो लर्कन देखिन्छ । त्यही डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा चम्काउन चिण्डो आकारको टावर बनाउने अभियान सुरु गरिएको थियो । तर, बजेट अभावले टावर निर्माण अभियान बीचमै अलपत्र परेको छ ।   

सरकारले पर्याप्त बजेट नछुट्टयाएकाले महत्वाकांक्षी योजना अघि नबढेको हो । माओवादी नेता गोपाल किरातीको योजना अनुसार त्यहाँ ३ सय ६५ पिट अग्लो ३३ तले किरात गणतन्त्र टावर बनाउने अभियान थालिएको हो । टावर बनाउन एक अर्ब रुपैयाँ चाहिने  किरात गणतन्त्र टावर फाउण्डेशनका अध्यक्ष समेत रहेका किराती बताउँछन् ।

विसं २०६६ सालदेखि हालसम्म त्यहाँ १ करोड ७४ लाख रुपैयाँ खर्च भैसकेको उनले बताए । भञ्ज्याङदेखि डाँडासम्म मोटर बाटो खन्न, बेस क्याम्पमा भवन बनाउन र डाँडाको माटो परिक्षणमा उक्त रकम खर्च भएको हो । 

‘हामीले एक अर्ब रुपैयाँको योजना बनाएका हौं । बजेट अभावले टावर निर्माण अलपत्र परेको छ’, किराती भन्छन्, ‘यसका लागि सरकारले ठूलै बजेट छुट्टयाउनु पर्छ।’

गणतन्त्रका लागि लडेको पुस्ताको सम्मान गर्न र पूर्वी नेपालको पर्यटनमा नयाँ आयाम थपि युवालाई गाउँमै गरिखाने वातावरण बनाउन टावर योजना अघि सारिएको उनले प्रस्ट्याए । टावरसँगै बुद्ध, महादेव र यलम्बरका ठूल–ठूला मूर्ति राखिनेछ । यसो हुन सके टेम्के त्रिधार्मिक संगम बन्नेछ ।

डाँडामा एउटा शिवालय छ । डाँडाको काखमा एक जना जोगीले उहिल्यै तपस्या गरेको साँघुरो गुफा छ । गुफाभित्र त्रिशुल र मूर्ति छन् । 

टावर बनाएपछि टेम्केको दक्षिणपट्टि सेल्मे डाँडामा अन्तराष्ट्रिय मूर्ति पार्क बनाउने फाउण्डेशनको योजना छ।   

किरातीका अनुसार टावरको शिरमा बिशाल बिजुली राखिनेछ । राती टाढा टाढाबाट त्यसको उज्यालो देख्न सकिनेछ। बीसौं तलाबाट दृश्यावलोकन गरिनेछ भने त्यहाँ भन्दा माथि सर्बसाधारण जान पाउने छैनन्, माथि प्राविधिक मात्र जान सक्नेछन् । टावरको १८ औं तलामा ८८ जना क्षमताको सभाकक्ष बनाइने छ । टावरमा किरात संग्रहालय, सूचना केन्द्र, होटल, लज र रेष्टुँरा समेत हुनेछन्।

मुन्दुम ट्रेल एक्सप्लोरेशनमा काठमाडौंबाट गत पुस तेस्रो साता टेम्के पुगेका पर्यटनविज्ञहरुको टोली चिण्डो आकारमा बन्ने टावरको योजना सुनेर उत्साहित बन्यो । ‘यस्तो खालको टावर बनाउन सके त्यो आफैंमा राम्रो पर्यटन प्रोडक्ट बन्न सक्छ’, हिमालयन म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले भने, ‘टावरै हेर्न पनि पर्यटक आउनेछन्।’ 

टेम्के (३,००० मिटर) भोजपुर र खोटाङको संगमस्थल मानिन्छ । त्यहाँबाट मनास्लु, दोर्जे लाक्पा, नुम्बुर, कार्यालुङ, गौरीशंकर, क्वाङदे, चोयु, कुसुम कँगारु, थामसेर्कु, खाङतेगा, क्यासर, मेरा पिक, नुप्से, सगरमाथा, ल्होत्से, चामलाङ, मकालु, कुम्भकर्णदेखि कञ्चनजंघा हिमालसम्म देखिन्छ । सूर्योदय र सूर्यास्त समेत चित्ताकर्षक देखिन्छ ।

टेम्केमा शिवरात्री, बाला चर्तुदशी र रामनवमीमा मेला लाग्छ । मध्य पहाडी लोक मार्गको चखेवा भञ्ज्याङबाट करिब ८ किमिमा अबस्थित डाँडामा खाने/बस्ने सुविधा छैन । तैपनी दिनहुँ घुमन्ते टेम्के चढ्छन् ।

खाना र बासका लागि भञ्ज्याङमा सामान्य होटल छन् । भञ्ज्याङबाट तीन घन्टा हिँडे टेम्के पुगिन्छ । 

टेम्केको पर्यटन प्रवद्र्धमा स्थानीय टेम्के–मैयुङ गाउँपालिका तातेको छ । उसले डाँडा भन्दा मुन्तिरको पानी डाँडामा उकाल्ने तयारी गरेको छ । ‘हामी टावर बनाउने बिषयमा छलफल चलाईरहेका छौं’, गाउँपालिकाका प्रमुख धु्रब राई भन्छन्, ‘गाउँमा होमस्टे गराउने तयारीमा पनि छौं ।’

बेस क्याम्पमा बनाइएको आकर्षक भवन प्रयोगविहिन अबस्थामा छ । त्यसलाई गाउँपालिकाले पाहुना घरका रुपमा व्यवस्थित गर्नु पर्ने देखिन्छ ।

लोकमार्ग खुलेसँगै टेम्केका दिन फिरेको स्थानीयको अनुभव छ । ‘अब टेम्के चम्किन्छ’, मुन्दुम टे«लका अभियन्ता रमेश राई भन्छन्, ‘बेस क्याम्प र चखेवा भञ्ज्याङमा राम्रा होटल तथा रेष्टुरेन्ट खोल्ने बेला भैसक्यो ।’

भञ्ज्याङबाट ४८ किमि दुरीमा दिक्तेल बजार पर्छ भने ४२ किमिमा भोजपुर बजार । टेम्के धेरैतिरबाट चढ्न सकिन्छ। खोटाङका रतन्छा, खिदिमाबाट प्रबेश गर्न सकिन्छ भने भोजपुरका नागी, खाबा, लेखर्क–पान्धारे र चखेवाबाट।

प्रकाशित: २९ माघ २०७४ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App