७ वैशाख २०८१ शुक्रबार
अर्थ

मुलुकको अर्थतन्त्र बिरामी जस्तो

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ६ महिनाका अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ । मुलुकको अर्थतन्त्रका लागि मेरुदण्ड मानिएको रेमिटेन्स आय गत वर्षको तुलनामा पहिलोपटक घटेको छ । सरकारको चालू खाता घाटा पुससम्ममा ७५ अर्ब ७१ करोड पुगेको छ । अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा छ । राष्ट्र बैंकका अनुसार अर्कोतिर व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक देखिँदैन । अर्थतन्त्रका समग्र परिसूचकहरुले मुलुकको अर्थतन्त्रलाई एउटा बिरामी जस्तो देखाएका छन्।   

अर्थतन्त्रका परिसूचक

रेमिटेन्स आय : ०.५ प्रतिशतले ह्रास
शोधनान्तर घाटा : ६ अर्ब ६६ करोड
चालु खाता घाटा : ७५ अर्ब ७१ करोड
कुल व्यापार घाटा :४ खर्ब ९३ अर्ब
विदेशी मुद्रा सञ्चिति : १.१ प्रतिशत कमी
पुसको मूल्यवृद्धि : ४ प्रतिशत  

राष्ट्र बैंकका अनुसार केही समयदेखि रेमिटेन्स आयको वृद्धिदरमा कमी आइरहेको बेला चालु आवको पहिलो ६ महिनामा यो आय उल्टै घटेको हो । चालु आवको पुससम्ममा रेमिटेन्स आय अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले घटेको हो । बैंकका अनुसार पुससम्ममा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ रेमिटेन्स आएको छ । अघिल्लो वर्ष पुससम्ममा यसको वृद्धिदर ५.७ प्रतिशत थियो । सरकारले दुई वर्ष अगाडिदेखि वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेपछि रेमिटेन्स आयमा यसको प्रभाव पर्दै आएको छ । यस्तै मध्यपूर्वका कतिपय देशमा भएका घटनाका कारण पनि रेमिटेन्समा कमी आएको हो । राष्ट्र बैंकका अनुसार श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) यो अवधिमा १.८ प्रतिशतले घटेका कारण रेमिटेन्समा प्रभाव परेको हो।

बैंकका अनुसार अघिल्लो वर्षको पहिलो ६ महिनामा एक अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको चालु खाता यो वर्ष ७५ अर्ब ७१ करोड घाटामा पुगेको छ । अघिल्लो वर्ष ४५ अर्बले बचतमा रहेको शोधनान्तर अवस्था यो वर्ष ६ अर्ब ६६ करोडले घाटामा छ।

यो वर्ष मूल्यवृद्धिमा भने सकारात्मक अवस्था देखिएको छ । पुसमा मूल्यवृद्धि ४ प्रतिशतमा सीमित छ । यो बेला खाद्यान्नको मूल्य केही बढे पनि समग्र मूल्यवृद्धि गत वर्षको तुलनामा धेरै बढी भएको छैन।

बैंकका अनुसार चालु आवमा कुल वस्तु निर्यात १३.४ प्रतिशतले बढेको छ । ६ महिनामा ४१ अर्ब १४ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अन्य मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घिउ, जिंक सिट, धागो लगायत वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जिआई पाइप, ऊनी गलैँचा, तामाका तार लगायत वस्तुको निर्यात घटेको छ।

यो बेला कुल वस्तु आयात १५ प्रतिशतले बढेर पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो । यो अवधिमा आयात भारतबाट १५.३ प्रतिशत, चीनबाट ९.२ प्रतिशत र अन्य मुलुकबाट १७.६ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायत वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोसाक लगायत वस्तुको आयात घटेको छ।

चालु आवको ६ महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढी चार खर्ब ९३ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष व्यापार घाटा ७४ प्रतिशतले बढेकोे थियो । निर्यात–आयात अनुपात ७.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८ प्रतिशत थियो।

बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमा पनि १.१ प्रतिशतले कमी आएको छ । अहिले १० खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । चालु आवको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले १२.२ महिनाको वस्तु आयात र १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App