७ वैशाख २०८१ शुक्रबार
अर्थ

विवादबीच टेलिकमको सञ्चालक समितिमा कर्मचारीको छनोट चुनाव

काठमाडौं – विभिन्न विवादबीच नेपाल दूरसञ्चार कम्पनीले सोमबार कर्मचारीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व छनोट सम्बन्धी निर्वाचन सम्पन्न गरेको छ । कम्पनी ऐनको प्रावधान विपरित भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले तत्काललाई चुनाव स्थगित गर्न दिएको आदेश विपरित टेलिकमले उक्त चुनाव सम्पन्न गरेको हो।

शेयरधनी नभएका कर्मचारीले मतदान गरेको, आधिकारिक ट्रेड युनियन (सिबिए ) र कर्मचारी प्रतिनिधी सञ्चालक समितिमा छनोट चुनाव एकै दिन हुनु पर्ने,  कम्पनीको नियमावली अनुसार नभएको लगायतका विवाद आएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यलयले चुनाव स्थगित गर्न शुक्रबार २४ घण्टे पत्र काटेको थियो।  

कम्पनीको शेयरधनी नै नभएका कर्मचारी पनि मददान गर्न पाउने गरी चुनाव गराउन लागेको भन्दै उक्त कार्य कम्पनी ऐनको दफा ७२ अनुसार विपरित भएकाले कम्पनी रजिष्ट्रारको कार्यालयले चुनाव स्थगित गर्न पत्राचार गरेको थियो । साथै, कार्यालयले उक्त निर्वाचनको सम्बन्धमा २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आदेश दिएको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयको चुनाव स्थगित गर्न भने पनि सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत र टेलिकमका ट्रेड युनियनहरूको दबाबका कारण कर्मचारीको छनोट चुनाव भएको टेलिकम स्रोतले बतायो।
निर्वाचनमा उमेदवार बनेका नेपाल दूरसञ्चार कर्मचारी संघका अध्यक्ष राजबहादुर रावलले भने सोमबार भएको चुनाव कानुन सम्मत भएको बताए । उनका अनुसार चुनाव स्थगित गर्न नपर्ने गरी पाटन उच्च अदालतले स्वीकृति दिएको बताए । ‘उच्च अदालतले रोक्न नपर्ने भनि फैसला भएपछि हामीले चुनाव गराएका हौं,’ रावलले भने, ‘अदालतले भनिसकेपछि कम्पनी रजिष्ट्रार कार्यलयबाट पत्र आएको हो।’

शुक्रबार २४ घण्टे चिठी आएको र अर्को दिन विदाको दिन परेकाले सोमबार मात्र चिठीको जवाफ दिएको उनले बताए । ‘उच्च अदालतले अनुमति दिएकाले चुनाव गराएको जवाफ दिएका छौं,’ रावलले भने।    

ऐन अनुसार उक्त निर्वाचनमा उमेदद्धार बन्न कर्मचारीलाई एक सय कित्ता शेयर आवश्यक पर्छ । त्यस्तै, स्थायी शेयरधनी कर्मचारीले मात्र उक्त चुनावमा मतदान गर्न पाउने व्यवस्था छ । रजिष्ट्रारको कार्यलयमा चुनाव स्थगित गरी पाउ भनी हालेको रिटमा भने टेलिकमले निकालेको मतदाताको सूचीमा शेयरधनी नभएका कर्मचारीको समेत नाम उल्लेख भएको बताएको छ।

२०६५ सालसम्म स्थायी भएका कर्मचारीहरूले शेयर पाएका हुन । त्यसपछि भर्ना भएर स्थायी भएका कर्मचारीलाई कुन पनि शेयर दिइएको छैन । २०६५ सालपछि स्थायी भएका कर्मचारी झन्डै ८ सय छन्।

त्यसैगरी, कम्पनीको नियमावलीको दफा १२ खण्ड (क) अनुसार सञ्चालकहरूको नियुक्ती वार्षिक साधारण सभाबाट हुनेछ भन्ने व्यवस्था गरेको छ । कम्पनीको १० औं साधारण सभा पुस ३० गते सम्पन्न भइसकेको छ । उक्त साधारण सभावमा आधाकारिक ट्रेड युनियनको चुनाव (सिबिए) सम्पन्न भइसकेको छ।

एक जना सञ्चालक समितिको छनोटको लागि सोमबार निर्वाचन भएको हो । यो चुनाव पनि साधारण सभामा मै हुनु पर्ने व्यवस्था रहेको छ । कुनै शेयरधनीले दुई पटक मतदान गर्ने र कुनैले एक पटक मात्र गर्ने जस्तो निमिल्दो प्रकृयाबाट निर्वाचन भएको कम्पनी रजिष्ट्रारमा हालेको निवेदनमा उल्लेख छ।

रावलले भने साधारण सभाले कर्मचारीको शेयरलाई पनि पब्लिक शेयर भनिसकेकाले यस्तो विवाद टुंगिसकेको दावी गरे । उनले प्रोक्सीबाट प्रतिनिधी छान्न नपर्ने भएकाले यो चुनाव जुनै दिन गर्न सकिने बताए।

कम्पनी रजिष्ट्रारको पत्रपछि आइतबार साझ टेलिकम व्यवस्थापन र कर्मचारी ट्रेड युनियनबीच पत्रको जवाफा के दिने भन्ने विषयमा छलफल भएको चुनावमा उमेदवार समेत भएका नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहताले बताए । ‘सबै तयारी भएकाले चुनाव रोक्न नहुने निर्णय भयो,’ मेहताले भने।
कर्मचारीबाट सञ्चालक समितिमा प्रतिनिधी छनोट गर्ने उक्त निर्वाचनमा तीन जनाले उमेदवार दिएका छन् । मेहता सहित नेपाल टेलिकम वर्कस युनियनका सल्लाकार कुमारजङ कार्की र नेपाल दूरसञ्चार कर्मचारी संघका अध्यक्ष रावल प्रतिस्पर्धामा छन्।

वर्कस युनियन नेपाली कांग्रेस निकट मानिन्छ भने कर्मचारी संघ एमाले निकट रहेको छ । मेहता संलग्न भएको कर्मचारी युनियन स्वतन्त्रका रुपमा रहेको छ । यस बाहेक नेपाल टेलिकमभित्र माओवादी केन्द्र निकट मानिने नेपाल राष्ट्रिय कर्मचारी संगठन पनि रहेको छ । उक्त चुनावमा संघ र संगठनले सयुक्त उमेदवारी दिएका छन्।

दूरसञ्चार कम्पनीको सञ्चालक समितिमा कर्मचारीको तर्फबाट एक जना छनोट गर्ने गरी पहिलो पटक चुनाव भएको हो । २ वर्ष अघि नै यो चुनाव गर्ने साधारण सभाबाट निर्णय भए पनि विभिन्न विवादका कारण सम्पन्न हुन सकेको थिए । अहिलेसम्म सर्वसाधरणको शेयरबाट एक जना सञ्चालक समितिमा जाने चुनाव हुदै आएको थियो।

कम्पनीमा कार्यरत झन्डै ४ हजार ३ सय कर्मचारीले यो चुनावमा भाग लिएका छन् भने ४ हजार १ सय कर्मचारीले सिबिएमा भाग लिएका थिए । केन्द्रिय कार्यलय सहित कम्पनीका विभिन्न क्षेत्रिय कार्यलयमा चुनाव भएको हो । मतदाता धेरै भएकाले र विभिन्न क्षेत्रमा रहेकाले रातीसम्म चुनावको नतिजा आउने उमेदवारले बताएका छन्।

प्रकाशित: १ फाल्गुन २०७४ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App