७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग वार्ता गर्न अमेरिका तयार

वासिङ्टन – अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग निःशर्त वार्ता गर्न वासिङ्टन तयार रहेको बताएका छन् ।

‘यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ,’ वासिङ्टन पोष्टले अमेरिकी उपराष्ट्रपति माइक पेन्सलाई उद्धृत गर्दै सोमबार समाचार प्रकाशन गरेको छ ।

अमेरिका वासिङ्टनसँग निःशर्त वार्ता गर्न तयार रहे पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नत्यागेसम्म रुस विरूद्धका कडा प्रतिबन्ध भने कायम नै रहने अमेरिकी उपराष्ट्रपति पेन्सकोे भनाइ रहेको छ ।

यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जोङ–उन निशस्त्रीकरणका लागि तयार नभएसम्म प्योङयाङसँग वार्ता नगर्ने बताउँदै आएको थियो ।

 दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भइ स्वदेश फर्केपछि पेन्सको पछिल्लो अभिव्यक्ति आएको हो । दक्षिण कोरियामा रहँदा पेन्सले त्यहाँका राष्ट्रपति मुन जाय–इनसँग भेटवार्ता गरेका थिए ।

    दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले वासिङ्टन पोष्टसँगको कुराकानीका क्रममा बताएका थिए ।

 यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दबाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको बताएका थिए । उनले उत्तर कोरियासँग वार्ता गर्ने विषयमा कुनै प्रकारको मतभेद नभएको पनि सञ्चारकर्मीसँग बताएका थिए ।  

 शनिबार उत्तर कोरियाली नेता किम जोङ–उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनलाई प्योङयाङमा शिखर सम्मेलनमा सहभागी हुनका लागि निम्ता दिएका थिए । उत्तर कोरियाली शासक किम जोङ–उनकी बहिनी एवं प्रभावशाली नेत्री किम यो–जोङले दक्षिण कोरियाली राष्ट्रपति मुनलाई प्योङयाङ भ्रमणको निम्ता दिएकी थिइन् ।

दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसमा उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसँगको शनिबार भएको भेटवार्ताका क्रममा मुनले उत्तर कोरियालाई अमेरिकासँगको वार्तामा फर्कन प्रोत्साहितसमेत गरेका थिए ।

 दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शीतकालीन ओलम्पिक्सले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो । उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा सहभागी भए भने दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ ।

 दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरले निश्चित शर्तहरू पालना गर्नुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतबार सोलमा भएको एक कार्यक्रममा बताएका थिए ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App