८ वैशाख २०८१ शनिबार
अर्थ

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

काठमाडौं – नवलपरासीको शाश्वत धाममा ‘बुद्धिस्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।

सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । बौद्ध धर्मका नौजना गुरूले विधिवत पूजा अर्चना गरी प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ।

बुद्धिस्ट सेन्टरमा बुद्ध धर्मसँग सम्बन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्लभ वस्तुको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकका लागि यो सेन्टर विशेष महत्वको रहने बताइएको छ।
‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमिका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ शाश्वत धामका फाउन्डिङ ट्रस्टी

विनोद चौधरीले भने, ‘सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोचका साथ हामी धामको विकास गरिरहेका छौं।’ बुद्धिस्ट सेन्टरसँगै शाश्वत धाममा बौद्ध धर्मसँग सम्वन्धित शिक्षा पनि सुरू गरिने उनले बताए । यसअघि स्थापित गुरूकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।

यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्रहालयलगायत हिन्दू धर्मसँग सम्बन्धित सम्पदा निर्माण भइसकेका छन् । विगत ११ महिनामा १२ लाख भक्तजनले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेको जनाएको छ।

फागुन पहिलो साता वसन्त महोत्सव
आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५औं ‘वसन्त महोत्सव’ गर्न लागिएको छ । शाश्वत धाम र श्री राणी सतीजी मन्दिर, झुन्झुनबीचको सहकार्यका यो महोत्सव आयोजना गर्न लागिएको जनाएको छ।

महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । उक्त धार्मिक यात्रा सुरू भइसकेको छ । महोत्सवका क्रममा भारतबाट आउने दुई हजार भक्तजनका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १ फाल्गुन २०७४ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App