coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मरिसस हुन सक्छ रोजगारीको गतिलो गन्तव्य

मरिसलगुनास्थित समुद्रमा पर्यटक डुलाउन राखिएका डुंगा । तस्बिर : रुद्र/नागरिक

मरिसस – कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारको लागि गतिलो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ।

रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना वृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिए पनि सरकारी निकाय र मेनपावर व्यवसायीको प्राथमिकतामा यो देश पर्न सकेको छैन।

निरन्तर बढिरहेका पर्यटक आगमनले मरिससमा रोजगारीका अवसर सिर्जना भइरहेको स्थानीय व्यवसायी बताउँछन् । उनीहरूका अनुसार यतिखेर मरिससमा होटल, रेस्टुरेन्टको साथै कृषि क्षेत्रमा काम गर्ने मजदुरको माग बढ्दो छ । पोर्टलुइसमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका सुन्दर सिंह पछिल्ला वर्षमा मरिससको जनसंख्या बराबर नै संसारका विभिन्न मुलुकबाट पर्यटक आइरहेकाले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको माग बढिरहेको बताउँछन्।

‘मरिससको जनसंख्या नै निकै कम रहेकाले यहाँ आउने पर्यटकलाई स्थानीयले आवश्यकता अनुसार सेवा, सुविधा दिन सक्दैनन्,’ उनले भने, ‘त्यसैले मरिससको पर्यटन उद्योगमा विदेशीलाई राम्रो अवसर छ ।’ मरिससका व्यवसायीले नेपालबाट युवा ल्याउन खोजे पनि मेनपावर सञ्चालक र सरकारी कर्मचारीले चासो नदिँदा सम्भव हुन नसकेको उनले बताए । करिब १२ लाख जनसंख्या रहेको मरिससमा बर्सेनि त्यति नै संख्यामा आउने पर्यटकको सेवा, सुविधा उपलब्ध गराउन यतिखेर सबभन्दा बढी भारतीय युवा आउने गरेको बताइन्छ।

पुस महिनामा २७ हजार नौ सय २७ नेपाली रोजगारीका लागि विभिन्न मुलक पस्दा मोरिसस आउनेको संख्या तीनजना मात्र

पर्यटक संख्या वृद्धि हुँदै गइरहेको र प्रतिव्यक्ति आम्दानी पनि राम्रो भइरहेकाले मरिसस आउनेले राम्रो पारिश्रमिक पाइरहेको बताइन्छ । उनीहरूका अनुसार अंग्रेजी भाषामा कुरा गर्न सक्नेले मासिक दुई लाख रुपैयाँ कमाउन गाह्रो छैन । अंग्रेजी नजान्नेले हिन्दी भाषामा कुराकानी गर्न सक्ने अवसर रहे पनि त्यस्ता कामदारको पारिश्रमिक भने केही कम हुने गरेको बताइन्छ । पर्यटन व्यवसायी मिजिया सिन्हा मरिससको आर्थिक अवस्था राम्रो भएकाले यहाँ काम गर्न आउने जोसुकैले महिनामा एक लाख रुपैयाँभन्दा कम पारिश्रमिक पाउने सम्भावना नरहेको बताउँछन्।

नेपाल सरकारले रोजगारीका लागि खुला गरेका एक सय आठ १० मुलुकको (हाल दुई देश बन्द)  गन्तव्यमा मरिससलाई राखिए पनि यहाँ आउने नेपालीको संख्या भने निकै कम छ  । मरिसस आउनुको साटो अधिकांश नेपाली खाडी मुलुकको साथै कमजोर आर्थिक अवस्था भएका अन्य मुलुकमा पुगिरहेको पाइन्छ । सरकारी निकाय र मेनपावर व्यवसायी मरिससबाट मागपत्र लिन नसक्नुमा एकले अर्कोलाई दोष लगाउने गर्छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापाले सरकारले मरिसस रोजगारीको गन्तव्य हुन सक्ने ठानेर खुला गरेको तर व्यवसायीले माग ल्याउन नसकेको बताइन् । व्यवसायी भने सरकारले मरिसस खुला मात्र गरेको तर कामदारको माग ल्याउने प्रक्रियामा सहजीकरण गर्न नसक्दा राम्रो गन्तव्यको फाइदा नेपालले लिन नसकेको बताउँछन्।

वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने हो भने राम्रा गन्तव्य खोजी गर्नुपर्ने आवाज उठिरहे पनि अधिकांश युवायुवती रोजगारीका लागि खाडी मुलुक पुग्ने गर्छन् । खाडी मुलुक पुग्ने अधिकांशको मासिक पारिश्रमिक सरदर ३० हजार रुपैयाँ हुने गरेको पाइन्छ । अधिकांशले एक तिहाइ पारिश्रमिक खाना र बस्नमा खर्च गर्ने गरेको पाइन्छ । श्रम गर्ने उमरेका ठूलो संख्याका युवायुवती वैदेशिक रोजगारीमा पुग्दासमेत नेपालले अपेक्षित रेमिटेन्स प्राप्त गर्न नसकेको गुनासो बढिरहेको छ । कामदारले पाउने न्यून पारिश्रमिकले गर्दा नेपाल भित्रिने रेमिटेन्समा गिरावट आउन थालेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा (साउन–पुससम्म) अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रेमिटेन्स ०.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको ६ महिनामा रेमिटेन्सको वृद्धिदर ५.७ प्रतिशत थियो । चालु आर्थिक वर्षको ६ महिनामा नेपालमा तीन खर्ब ४० अर्ब ५४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक रोजगारीमा पस्ने युवाको अहिलेको सीप र क्षमता हेर्दा नेपालले प्राप्त गर्ने रेमिटेन्स ‘स्याचुरेसन’ (उच्च विन्दु) मा पुगिसकेको बताउँछन्।

विज्ञहरूले रोजगारीका लागि विदेश पस्नेलाई अनिवार्य सीप सिकाउनुपर्ने, नभए राम्रा गन्तव्य खोज्नुपर्ने सुझाव दिँदै आएका छन् । पुसमा २७ हजार नौ सय २७ कामदार रोजगारीका लागि विभिन्न मुलक पस्दा मरिसस आउनेको संख्या तीनजना मात्र रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जबकि सोही महिनामा मरिससभन्दा कमजोर आर्थिक अवस्था भएका अल्जेरिया, माल्टा, रोमानिया जस्ता देशमा क्रमशः १८, चार र तीन नेपाली पुगे । मरिसस नौ हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी भएको मुलुक हो । व्यवसायीका अनुसार हाल मरिसममा फ्रान्स, चीन, जर्मन, भारत लगायतका मुलुकबाट बढी पर्यटक आउने गर्छन्।

पुसमा सबभन्दा बढी १० हजार एक सय ४४ जना श्रम स्वीकृति लिएर मलेसिया पसे । मलेसियापछि कतारमा आठ हजार ६ सय ४०, साउदी अरेबियामा तीन हजार ६ सय ३२ र संयुक्त अरब इमिरेट्समा तीन हजार एक सय चार रोजगारीका लागि पुगेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नयाँ श्रम स्वीकृति लिएर एक लाख ८६ हजार ५३ युवायुवती रोजगारीका लागि विभिन्न गन्तव्यमा पुगेका विभागले जनाएको छ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App