४ वैशाख २०८१ मंगलबार
राजनीति

समानुपातिकमा नियम मिचेर सिफारिस

काठमाडौं – निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकतर्फको सूची पठाउँदा तीन राजनीतिक दलले नियम मिचेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालले समावेशी समूह र क्रम संख्या मिचेर नामवली पठाएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले र संघीय समाजवादी फोरमले भने कानुनअनुसार नामवली पेस गरेका छन्।

समावेशी समूह र क्रमसंख्या मिच्ने तीन दललाई निर्वाचन आयोगले पुनः नाम पठाउन पत्र पठाउने भएको छ । कानुन मिच्ने दलले दुई दिनभित्र पहिल्यै आयोगमा बुझाएको सूचीका आधारमा नाम सच्याएर पठाउनुपर्नेछ।

पाँच दलले प्रतिनिधिसभा समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नामवली आयोगमा सोमबार पेस गरेका हुन् । निर्वाचन आयोगले तीन दिनको समय दिएर पहिले बुझाएको बन्दसूची र क्रम संख्याका आधारमा नाम पठाउन चिठी पठाएको थियो । तीन दलले यसअघि आयोगमा पठाएका नामको क्रमसंख्या मिचेर नाम पठाएका हुन्।

समानुपातिकतर्फ राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा नेकपा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६÷६ जनाको नाम सिफारिस गरेका हुन् । समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड पार गर्ने यिनै पाँच दलमात्र हुन्।

कानुनअनुसार जनसंख्याका आधारमा दलहरुले समानुपातिकतर्फ दलित १३.८, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५.३, थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत सहभागी गराउनुपर्ने हुन्छ । समानुपातिक उम्मेदवार छनोटसम्बन्धी निर्देशिकाअनुसार कुनै समावेशी समूहका उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएका उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएका उम्मेदवारको नाम छान्न पाइनेछैन।

माघ २६ मा बसेको आयोग बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० उपदफा (५) बमोजिम केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी सोमबारसम्म नाम पठाउन दलहरुलाई समय दिएको थियो।

आयोगमा पेस गरिएको नामवली समावेशी समूह र क्रमसंख्याअनुसार मिले÷नमिलेको जाँच गरिने र दलहरुले नमिलाई पठाएको भए दुई दिनभित्रमा सच्याउनुपर्ने आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘नमिलाई पठाएका राजनीतिक दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिने कानुनी व्यवस्था छ’, उनले भने, ‘हामी हेर्दैछौं । कुनै दलले कानुन मिचेको पाइएमा सच्याएर पठाउनुपर्नेछ।’
 

प्रकाशित: १ फाल्गुन २०७४ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App