वायुसेवा निगममा बेथिति

चार जहाज, एक क्याप्टेन

बुधबार, ०२ फागुन २०७४, ०६ : ४५ सुशील भट्टराई  | @sushbhattarai


काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।

निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् ।

‘दुइटा मात्र हुँदा त पर्याप्त उडाउन सकिएको थिएन झन् अब चार भएपछि नयाँ दुई जहाजलाई घाममा सेकाउने बाहेक अर्को विकल्प छैन,’ निगमका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग लाचारी पोखे, ‘जहाज नहुँदा निगमले केही गर्न सकेन भन्छन् र अब हुँदा पनि केही गर्न नसकिने भयो ।’निगममा चार थान वाई १२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पा, वरिष्ठ क्याप्टेन भट्टराई र सञ्जयबादे श्रेष्ठ र क्याप्टेन उद्धव घिमिरे छन् ।

तीमध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा दुई सातादेखि अमेरिकामा छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन् । अर्का क्याप्टेन अनिशमान शाक्यले राजीनामा दिएका छन् । त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा आएको हो ।

‘केही दिनभित्र दुवै नयाँ जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने तयारीमा छौं । तर, पाइलटको चरम अभाव छ ।’

–प्रवक्ता रवीन्द्र श्रेष्ठ, नेपाल वायुसेवा निगम

ती जहाज उडाउन को–पाइलटहरू लिबर्टी भण्डारी, सिर्जना रावत, प्रचण्ड खड्का, राकेशकुमार काफ्ले, विजय अवाले, रविन केसी र महेशराज पाण्डे छन् । तीमध्ये खड्को ‘पाइलट प्रोफिसिएन्सी चेक’ (पिपिसी) पूरा भएको छैन भने केसी र पाण्डेको प्रशिक्षक पाइलट (आइपी) उडान अवधि पूरा नभएका कारण जहाज उडाउन पाउँदैनन् । 

 निगमले मंगलबार ल्याएका दुई जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९ एन–एकेयु’ र ‘९ एन–एकेभी’ कलसाइन दिएको छ । ‘केही दिनभित्र दुवै नयाँ जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने तयारी छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘तर, पाइलटको चरम अभाव भएका कारण सबै जहाजलाई पालैपालो उडाउने बाहेक अन्य विकल्प हामीसँग छैन ।’
दुइटा वाई १२–ई हुँदा निगमले सातामा २८ उडान गर्ने तालिका बनाएको छ । अब चारवटा भएपछि सातामा ५६ सम्म उडान गर्ने उसको योजना छ । यस हिसाबले एक दिनमा एउटा जहाजले दुई उडान गर्नुपर्नेछ । अब एउटा क्याप्टेन र चार को–पाइलटले एकैचोटि चार जहाजबाट दैनिक ८ उडान गर्न असम्भव छ । एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।
‘एक क्याप्टेन र चार को–पाइलटबाट चार जहाज उडाउने असम्भव काममा निगम लागेको छ,’ निगमकै एक वरिष्ठ पाइलटले नागरिकसँग तितो पोखे, ‘एउटा क्याप्टेनले चारवटा जहाज सँगसँगै कसरी उडाउन सक्छ ? यसको अर्थ के हो भने चार जहाज कहिल्यै पनि सँगै उड्न सक्दैनन् ।’उनका अनुसार एकमात्र क्याप्टेनले एउटा जहाज उडाएपछि बाँकी तीन जहाज उडाउन क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छन् ।

निगमले दुई थान वाई १२–ई जहाज मंगलबार ल्याए पनि ती जहाज तीन वर्षअघि नै चीनले निर्माण गरेको थियो । निगमले एकैपटक चार थान खरिद गर्ने र दुइटा सित्तंैमा दिने सम्झौताअनुसार साढे ३ अर्ब रुपैयाँमा चीनसँग जहाज खरिद गरेको हो । उक्त रकम पनि चीनसँगै सहुलियतपूर्ण ऋणमा लिइएको हो । चीनसँग भएको सम्झौताअनुसार १७ सिटे चार थान वाई१२–ई र ५८ सिटे दुई थान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका छन् । निगमले अनुदानमा पाएका एकएक थान वाई १२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई १२–ई र एमए–६० ल्याएको थियो । अहिले अन्तिम दुई वाई १२–ई ल्याएको हो ।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

अनुप र वर्षाको ‘जय शम्भु’

अनुप र वर्षाको ‘जय शम्भु’

निर्माता तथा निर्देशक अशोक शर्माले निर्देशन गरिरहेको फिल्म ‘जय भोले’को झापामा धमाधम छायांकन भइरहँदा उस्तै लाग्ने नाममा ‘जय शम्भु’को घोषणा...

सरोजका ‘यादहरु’ सार्वजनिक

गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत रहेको गीति संग्रह ‘यादहरू’ काठमाडौंमा लोकार्पण गरिएको छ। ...

दुई स्रष्टालाई भोजपुरको सम्मान

बेलायतमा रहेका भोजपुरे स्रष्टा–सर्जकहरूद्वारा एक दशकअघि स्थापित भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ स्रष्टा गणेश रसिक र युवा स्रष्टा तथा समालोचक...

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

‘भुइयाँ’लाई ‘पहिचान पुरस्कार’

लेखक, अनुवादक तथा सञ्चारकर्मी यज्ञशको पछिल्लो कृति ‘भुइयाँ’ले ‘पहिचान पुरस्कार २०७४’ प्राप्त गरेको छ । राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका...