coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री बन्न हानथाप

पोखरा – प्रदेश ४ को मुख्यमन्त्री र सभामुख टुंगो लागेपछि मन्त्री हुन आकांक्षीबीच हानथाप सुरु भएको छ । एमाले र माओवादी केन्द्रले  प्रदेशका मन्त्रालय बाँडफाँट तयारी गरिरहँदा मन्त्रीका आकांक्षीले पार्टी तहको उपल्लो निकायमा लबिङ सुरु गरेका छन् ।

प्रदेश–४ मा तत्काल ७ वटा मन्त्रालय बनाउने र तीमध्ये मुख्यमन्त्रीसहित ५ वटा एमाले र २ वटा माओवादी केन्द्रले पाउने स्रोतको दाबी  । सोमबार मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले शुक्रबार शपथ गरेलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । एमाले–माओवादी सहमतिअनुसार यो प्रदेशको मुख्यमन्त्री एमाले भागमा परेको छ ।

एमालेले चारवटा मन्त्रालय पाउने भएपछि पार्टीलाई गरेको योगदान र वरिष्ठता आधारमा नेताहरुले मन्त्री बन्न लबिङ तीव्र पारिरहेको स्रोतको दाबी छ । एमाले र माओवादीबीच कुन मन्त्रालय कसले पाउने भन्ने टुंगो भने लागिसकेको छैन ।

एमालेका एक वरिष्ठ नेताका अनुसार मुस्ताङका पुराना नेता चन्द्रमोहन गौचन मन्त्रीका आकांक्षी हुन् । यसअघि नै राज्यमन्त्री बनेकी म्याग्दीकी नरदेवी पुन र पर्वतका विकास लम्साल पनि मन्त्रीका दाबेददार हुन् । बागलुङका इन्द्रलाल सापकोटा पनि सम्भावित मन्त्रीका रुपमा हेरिएका छन् । ती नेताका अनुसार लम्सालले चुनावमा जनतामाझ  नै आफू प्रदेशको गृहमन्त्री बन्ने भन्दै भोट मागेका थिए ।

कास्कीका जिल्ला अध्यक्षसमेत रहेका कृष्ण थापा पनि मन्त्रीका आकांक्षी छन् । प्रदेशभित्र आफू उत्कृष्ट पाँच नेताभित्र पर्ने दाबी गर्दै थापाले गृहप्रशासन सम्हाल्न इच्छुक रहेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यसमेत रहेका मायानाथ अधिकारी पनि सम्भावित मन्त्रीका दाबेदार हुन । अधिकारीले पनि आफूलाई वरिष्ठ भन्दै मन्त्री पाउनुपर्ने तर्क गर्दै आएका छन् । त्यस्तै केन्द्रीय कमिटीका अर्का सदस्य रामशरण बस्नेत पनि मन्त्रीकै दौडमा छन् ।

समावेशी र तराई भेगलाई पनि समेट्ने हो भने नवलपुरका रोशन गाहामगर र प्रदेशसभा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ पनि मन्त्रीका आकांक्षी छन् । महिलाभित्र मित्रकुमारी गुरुङ सुवेदी, सिर्जना शर्मालगायतको नाम सम्भावित मन्त्रीका रुपमा लिन थालिएको छ । ‘हुन त सबै (२७) सदस्य मन्त्री बन्न चाहन्छन्  तर, प्रदेश संयोजक किरण गुरुङले चाहेमा पहिलो प्राथमिकताको मन्त्रालय उनले पाउनेछन्,’ ती नेताले भने, ‘मुख्यमन्त्रीको दौडमा रहेका किरण गुरुङले संसदीय दलको नेतामा दाबी छाडेपछि उनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले अहिलेसम्म कसलाई मन्त्री बनाउने भनेर पार्टी निकायसँग सल्लाहसमेत गर्न पाएका छैन् । ‘मुख्यमन्त्री बन्न बरु सजिलो छ तर मन्त्री छान्न उत्ति सहज छैन,’ ती नेताले भने । एमाले प्रदेश–४ का सहसंयोजक गणेश तिमिल्सेनाले प्रदेशका सबै सदस्य सक्षम रहेकाले कसलाई मन्त्री बनाउने भन्ने छलफल नचलेको बताए । ‘मुख्यमन्त्री गुरुङ पारिवारिक काममा व्यस्त हुनुहुन्छ । अहिलेसम्म कसलाई मन्त्री बनाउने भन्नेमा छलफल हुनसकेको छैन,’ तिमिल्सेनाले भने, ‘जनताबाट अनुमोदित भएर आएकाले सबै सदस्य सक्षम हुनुहुन्छ  तर मन्त्री हुने त दुईचारजना मात्र न हो ।’

एमालेका एक नेता एवं प्रदेशसभा सदस्यले भौगोलिक, जातीय, लैंगिक हिसाबले सन्तुलन मिलाएर मन्त्रिमण्डल बनाउनुपर्ने बताए । ‘वरिष्ठता मात्र हेरेर भएन । समावेशी, भौगोलिक क्षेत्र र लैगिक आधारमा पनि सन्तुलन कायम गरिनुुपर्छ,’ ती सदस्यले भने, ‘सबै सक्षम हुनुहुन्छ । सबैको चाहना मन्त्री बन्ने छ तर, पहिलो प्राथमिकता प्रदेश संयोजक किरण गुरुङले रोजेको मन्त्रालय लिन चाहेमा सहजै दिनुपर्छ । बाँकीमा समावेशी बनाउनुपर्छ ।’

प्रदेश सत्ता साझेदार माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै छन । माओवादीले सभामुखमा नेत्रनाथ अधिकारीलाई प्रस्ताव गरिसकेको छ । माओवादीले पनि कसलाई मन्त्री बनाउने भन्ने निर्णय गरिसकेको छैन । माओवादी केन्द्रले हरिबहादुर चुमानलाई संसदीय दलको नेता चयन गरिसकेको छ । चुमानले  कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल नभएको बताए । ‘मन्त्री बन्ने आकांक्षी धेरै हुनुहुन्छ तर, मिलाउनुपर्छ । सबैलाई समेट्नुपर्छ,’ उनले भने । संसदीय दलको नेताले चाहेमा स्वतः मन्त्री हुन पाउनुपर्ने उनले बताए । ‘एमाले र माओवादीबीच अहिलेसम्म मन्त्रालय बाँडफाँट भएको छैन,’ उनले भने, ‘मन्त्रालय बाँडफाँट नभएकाले पनि अन्योल भएको हो । बाँडफाँट पछि बल्ल व्यक्तिको टुंगो लाग्छ ।’

प्रकाशित: २ फाल्गुन २०७४ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App