४ वैशाख २०८१ मंगलबार
राजनीति

कँडेलको महत्वाकांक्षा कायमै

सुर्खेत– ‘६ नम्बर प्रदेशको हकमा वाम गठबन्धनले गरेको निर्णय ‘गम्भीर गल्ती’ हो ।’ संसदीय दलको नेता चुनिनुअघि एमाले नेता यामलाल कँडेलले बोलेको यो वाक्यांशभित्र गहिरो अर्थ लुकेको छ । र, उनले नागरिकसँग थप खुलासा गरे, ‘गल्ती सच्याउन पार्टीभित्र औपचारिक पहल पनि भइसकेको छ ।’

 पोलिटब्यूरो सदस्य प्रकाश ज्वालालाई रोक्दै दलको नेता चुनिएपछि कँडेलमा मुख्यमन्त्री बन्ने महत्वाकांक्षा झन् बलियो बनेर गएको छ । उनी प्रदेशको पहिलो मुख्यमन्त्री हुन नसके पनि पाँच वर्षभित्रै मुख्यमन्त्री बन्ने दाउमा देखिन्छन् ।

 कँडेलको महत्वाकांक्षाको प्रभाव मुख्यमन्त्री चयनमा समेत देखिएको छ । माओवादी केन्द्रले पाँच दिनअघि नै महेन्द्रबहादुर शाहीका लागि मुख्यमन्त्रीको बाटो खोलिदिए पनि एमालेले ‘आलोपालो’को बार्गेनिङ गर्दा नियुक्तिको प्रक्रिया सुरु भएको छैन । गठबन्धनका एक नेताका अनुसार पाँच वर्षे कार्यकालको आधा समय शाही र आधा समयआफू (कँडेल)ले पाउनुपर्ने एमालेको अडान छ ।

संसदमा आधा हिस्सा रहेको तर्कसहित उसले सरकारको नेतृत्व पनि आधा–आधा गर्नुपर्ने अडान राखेको छ । यद्यपि, माओवादी केन्द्रको लागि यो प्रस्ताव स्विकार्य देखिँदैन । सातवटा प्रदेशमध्ये सबैभन्दा उत्कृष्ट नतिजा यही प्रदेशमा ल्याएकोले ६ नम्बर प्रदेशबाटै माओवादी केन्द्रले पहिलो दाबेदारी दियो । र, गठबन्धनले समेत माओवादीको लागि सहज रूपमा नेतृत्व सुम्पियो ।

 ६ नम्बर प्रदेशमा एमालेलाई एकल सरकार बनाउन एक सिटमात्र अभाव छ । गठबन्धनको ‘स्पिरिट’लाई बिर्सिने हो भने उसले त्यो अभाव राप्रपाबाट सहजै पूर्ति गर्न सक्छ । केन्द्रमा कांग्रेससँग सरकारमा सहकार्य गरिरहेको राप्रपाले एमालेकै पहलमा राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्नुले थप शंका उब्जाएको छ । ६ नम्बर प्रदेशसभामा राप्रपाकी एक्लो सांसद सोशीला शाहीले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेकी थिइन् ।

 वाम गठबन्धन पार्टी एकीकरणको निर्णायक मोडमा पुगेको बेला कँडेलले हाकाहाकी गठबन्धनको निर्णयमाथि औंला उठाउनुमा माओवादीबिना सरकार बन्नसक्ने अवस्था विद्यमान रहनुमात्र होइन, एमालेको बिगतदेखिको अडान पनि प्रमुख आधार हो । पुस दोस्रो साता बसेको पार्टी प्रदेश कमिटीको बैठकले एमालेको नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेको थियो । प्रदेशसभा गठनपछि माघ ७ गते बसेको संसदीय दलको पहिलो बैठकले सोही निर्णयलाई बल दिँदै पुनः नेतृत्वको दावी गर्यो ।

यस्तैमा वाम गठबन्धनले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व माओवादी केन्द्रले गर्नेगरी भागवण्डा गर्यो । तैपनि एमाले शान्त भएन । माघ १९ गते बसेको संसदीय दलको दोस्रो बैठकले वाम गठबन्धनको निर्णयलाई ‘गम्भीर गल्ती’ भन्दै सच्याउनको लागि पार्टी केन्द्रलाई औपचारिक दबाब दियो ।
एमाले स्रोतका अनुसार यी तीनवटै दबाबमूलक निर्णयका नेतृत्वकर्ता कँडेल हुन् । मुख्यमन्त्रीको महत्वाकांक्षाले नै उनी पार्टी प्रदेश कमिटी र संसदीय दललाई गठबन्धनको निर्णयबिरुद्ध चुनौती दिने निर्णय गराउन सफल भएका हुन् ।

 एकपटक मन्त्री र दुईपटक सांसद भइसकेका कँडेलको मुख्यमन्त्री महत्वाकांक्षाले कात्तिकमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएपछि औपचारिक रुपमा प्रस्थान गरेको हो । उनी त्यतिबेला मुख्यमन्त्री बन्ने सपनाका साथ प्रदेशसभा सदस्यमा झरेका थिए । शुभेच्छुकको सल्लाहविपरीत आपूभन्दा कनिष्ठलाई प्रतिनिधिसभामा सारेर आफू प्रदेशसभामा बस्नुको पछाडि एकमात्र कारण मुख्यमन्त्री सपना थियो ।

प्रकाशित: २ फाल्गुन २०७४ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App