८ वैशाख २०८१ शनिबार
राजनीति

सभामुखमा घर्ती निर्विरोध

बुटवल – पाँच नम्बर  प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिएपनि निर्विरोध भएको घोषणा गरेको छैन  ।

बुधवार दिउँसो १ बजे सभामुखको निर्वाचनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सभामुख निर्विरोध भएको घोषणा हुनेछ । माओवादी केन्द्र प्रदेश ५ संयोजक घर्ती पूर्वी रुकुमका (ख) का सांसद हुन् ।
पाँच नम्बर प्रदेशमा एमाले र माओवादीबीच भएको सत्तासाझेदारी अन्र्तगत मुख्यमन्त्री एमाले र सभामुख माओवादीबाट बन्ने सहमतिअन्तर्गत माओवादी केन्द्रले घर्तीलाई सभामुखको उम्मेदवार बनाएको थियोे । दिउँसो १ बजे सभामुखको चयन भएको घोषणापछि अपराह्न ५ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।सपथ लगत्तै सभामुख घर्तीले सहिद र पुष्पलालको सालिकमा माल्यापर्ण गर्ने छन्। त्यसपछि प्रदेशसभा सचिवालयमा आएर पदवहाली गर्ने छन् ।
मुख्यमन्त्रीको नियुक्ति आज
एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत सांसदको हस्ताक्षर सहितको पत्र वाम गठबन्धनले आइतबार प्रदेश प्रमुखलाई बुझाइसकेका छन्  । सभामुख चयन भएपछि प्रदेश प्रमुख उमाकान्त झाले मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । ‘सभामुख चयन भएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नुहुनेछ,’ प्रदेश प्रमुखको सचिवालय स्रोतले भन्यो ।

मुख्यमन्त्रीको सपथ बिहीबार साढे दुई बजे सडक डिभिजन कार्यालय अतिथि गृह  परिसरमा हुनेछ । सडक डिभिजन कार्यालयको अतिथि गृहलाई अहिले प्रदेश प्रमुखको निवासका रूपमा प्रयोग गरिएको छ । प्रदेश प्रमुखको निवासको व्यवस्था नहुञ्जेल त्यही उनको निवास हुनेछ । प्रदेश प्रमुखको निवासस्थल भएको, खुला ठाउँ र सुरक्षाका दृष्टिले उपयुक्त भएकाले सपथ यहाँ गराउन लागेको एक सुरक्षा अधिकारीले बताए ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै पोखरेलले एमालेबाट एक र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त गर्ने छन् । एमालेबाट नवलपरासीका बैजनाथ चौधरी पहिलो चरणमा मन्त्री हुनेछन् । माओवादी केन्द्रबाट संसदीय दलका नेता रोल्पाका कुलप्रसाद केसी र उपनेता प्युठानका कृष्णध्वज खड्का मध्ये एक मन्त्री हुनेछन् । यी दुईबीच सहमति गर्न नेतृत्वले दबाब दिइरहेको छ ।

‘उहाँहरूलाई मिलेर अघि बढ्न, दुईमध्ये एकको नेतृत्वमा सरकारमा जान नेतृत्वले भनेको छ, बुधवार सम्म टुंगो लाग्छ—माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले भने । माओवादीमा सभामुख घर्ती र संसदीय दलका नेता केसी  बैध माओवादीबाट अलग भइ रामबहादुर थापा बादलसँगैं एकता प्रक्रियामा आएका नेता हुन् ।

रुकुमका घर्ती सभामुख भएकाले सबै सन्तुलन मिलाउन खड्कालाई सरकारको नेतृत्वको जिम्मा दिनुपर्ने लविङ चर्को छ । संसदीय दलको नेता मुख्यमन्त्री पाए हुनुपर्ने नभए उपनेतालाई सरकारको नेतृत्व गर्ने अवसर दिनुपर्ने लविङमा खड्का छन् । केसीले विगतको योगदानका आधारमा काम गर्ने अवसर दिन भन्दै नेतृत्वमाथि दवाव पारेका छन् ।यी दुई नेताबीचको रस्साकस्सी  नटुंगिएपछि काठमाडौं  गएका नेता वर्षमान पुन बुधवार बुटवल आएपछि सरकारको नेतृत्वको विषय टुंगो  लाग्ने एक माओवादी नेताले बताए ।

चौधरीलाई आर्थिक मामिला र योजना तथा माओवादीबाट मन्त्री हुने केसी वा खडकालाई आन्तरिक मामिला र कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारीमा पोखरेल छन् । यद्दपी यो विषय नेताहरुले औपचारिक पुष्टि गरेका छैनन् ।  मुख्यमन्त्रीको सपथलगत्तै नियुक्त दुई मन्त्रीको सपथ पनि प्रदेश प्रमुखले त्यही गराउने छन् ।

 

 

 

प्रकाशित: २ फाल्गुन २०७४ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App