८ वैशाख २०८१ शनिबार
अर्थ

सुदूरपश्चिमकै बिद्युतीय हव बन्यो चमेलिया

दार्चुला – निर्माण कार्य सुरु भएको ११ वर्षपछि सञ्चालनमा आएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना साविकको सुदूरपश्चिकै विद्युतीय हव बन्न पुगेको छ । दार्चुलाजस्तो विकट क्षेत्रमा परियोजना निर्माण थालनीसँगै विकासका पूर्वाधारका साथै अन्य विद्युत् आयोजना समेत भित्रिएका छन्।

सरकारी लगानीमा निर्माण भएको यो आयोजना प्रधानमन्त्री शेरबहादुर देउवाकै पहलमा झन्डै दुई दशकअघि निर्माण प्रक्रिया थालिएको थियो । भौगोलिक जटिलता, बन्द हडताल, प्राकृतिक प्रकोप, भ्रष्टाचारका आरोपप्रत्यारोप, ठेकेदारको लापरबाही, अनुगमन तथा नियमनमा बेवास्ता लगायत कारण आयोजनाबाट करिब सात वर्ष ढिलो विद्युत् उत्पादन भएको छ।

सुरु लागत साढे आठ अर्ब अनुमान गरिएकामा आयोजना पूरा हुँदासम्म करिब १५ अर्ब  रुपैयाँ खर्च भएको छ । अन्तिम लागत अझै तयार नभएको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । उनका अनुसार ठेकेदारका दाबी, भेरियसन, अन्य खर्चलगायत शीर्षक पुँजीकरण गरेपछि वास्तविक लागत आउँछ । यसको अर्थ आयोजनाको अन्तिम लागत थपिने देखिन्छ । महँगो भएपनि विद्युत् उत्पादन भएपछि आयोजनाको सबै लागत गौण मानिएका छन्।

चमेलिया सुदूरपश्चिममा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजना निर्माणसँगै स्थानीयले विद्युत् उपभोग गर्ने आधार फराकिलो भएको छ । यसलाई लागतसँगमात्र जोडेर गरिएका विभिन्न विश्लेषण हेर्दा, भौतिक, सामाजिक, आर्थिक र प्राविधिक पक्षको विकास केलाउँदा यो लागत चमेलियाको मात्रै नभई यस क्षेत्रमा सञ्चालित सबै आयोजनाका लागि  सहायक बन्न पुगेको छ।

आयोजना निर्माणको सफलतासँगै यसका लागि निर्माण भएका पूर्वाधारले चमेलिया प्रदेश ७ कै विद्युतीय हब बन्न सफल भएको प्रमुख अजय दाहालले बताए । ‘चमेलियाले सुदूर पश्चिमको ऊर्जा क्षेत्रको कोशेढुंगा बन्न सफल भएको छ,’ उनले भने, ‘१३२ केभी क्षमताको बलाच–अत्तरिया एक सय ३१ किमि प्रसारण लाइन निर्माण हुँदा र आयोजना स्थलमा निर्माण भएको सबस्टेसनबाट यस क्षेत्रमा उत्पादित सबै विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न मिल्ने छ ।’

आयोजनाले तयार पारेको प्रसारण लाइन लगायत भौतिक संरचना उपयोग गरी अपि हाइड्रो पावर कम्पनी (८.५ मेवा) सञ्चालनमा आइसकेको छ भने माथिल्लो चमेलिया (८५ मेवा), मध्यचमेलिया (१६ मेवा) र कलिंगा गाड (६५ मेवा), छत्तिगाड (२५ मेवा) जस्ता अन्य कतिपय आयोजना निर्माण सुरु हुने क्रममा रहेका छन् । यही लाइनमा करिब दुई सय मेगावाट विद्युत जोडिने र यी मध्ये ८० मेगावाटको विद्युत् खरिद बिक्री सम्झौतासमेत भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

चमेलियाकै कारण दार्चुलाको नौगाड गाउँपालिका–४ मा निजी क्षेत्रबाट निर्माणाधीन अपर नौगाडले अप्रिलबाट विद्युत् उत्पादन गर्ने भएको छ । अपी पावर कम्पनीले आठ मेघावाट क्षमताको अपर नौगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत्् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । आयोजना स्थलसम्म सडकको पहुँच पुगेको र नेपाल विद्युत् प्राधिकरणले चमेलियाको बलाचसम्म प्रसारण लाइन निर्माण गरिसकेकाले छोटो समयमै विद्युत् उत्पादन गर्न सहज भएको उक्त कम्पनीले जनाएको छ।

आयोजनासँगै विकास पनि ल्यायो
करिब दई दशकअघि चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु हुँदा यो क्षेत्र विकासमा समेत धैरै पछाडि रहेको थियो । विकासका पूर्वाधार अभावमा रहेको यस क्षेत्रमा  आयोजना आगमनसँगै विकास पनि भित्रिएको छ।

विकट पहाडी क्षेत्र  दार्चुला र बैतडीको सीमावर्ती आयोजना स्थलमा सबै भौतिक संरचना, सडक पहुँच, सत्तरोन्नति, विद्युत्, पुलपुलेसा चमेलियाले नै निर्माण भएको आयोजनाले जनाएको छ । ‘आयोजना स्थलसम्म सडक र त्यसमा पर्ने पुल स्वयं आयोजनाले निर्माण गरेको हो,’ आयेजना प्रमुख दहालले भने, ‘यस क्षेत्रमा चमेलियाकै पहलमा विद्युतीकरण भएको छ।’

चमेलियाले केवल विद्युत् उत्पादन मात्रै नभई यस क्षेत्रको समग्र ऊर्जा क्षेत्र तथा विकासमा सहयोग पुगेको उनको भनाइ छ । ‘आयोजना लागत बढी भयो मात्रै भनिए पनि सरकारले आयोजनामार्फत यहाँको विकासका लागि लगानी गरेको सावित हुनेछ,’ दहालले भने, ‘यो आयोजना यस क्षेत्रको नियमित  आम्दानीको स्रोत बनेको छ र यसैबाट पनि यस क्षेत्रको विकासमा टेवा पुग्ने छ।’

वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली
आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड रुपैयाँ आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन् । सुदूरपश्चिमको विकासमा जलविद्युत् र ऊर्जा विकासको प्रचुर सम्भावना रहेको र आवश्यक लगानी भिœयाउन सके विद्युत् उत्पादनमार्फत यस क्षेत्रलाई ऊर्जा, पर्यटनमा सबैभन्दा सम्पन्न क्षेत्र बनाउन सकिने छ।
 
‘जलविद्युत्को विकासका साथै यस क्षेत्रको आर्थिक र पूर्वाधारका लागि चमेलिया आयोजना सँचालनले विद्युत् उत्पादनमा कोशेढुंगा सावित हुन सक्छ,’ उनले भने, ‘जलविद्युत्को विकासले यस क्षेत्रको मुहार फेर्ने छ ।’ अहिले यसै क्षेत्रमा आधा दर्जन विद्युत् आयोजना भित्रिनु पनि चमेलियाकै लगानी रहेको आयोजनाको दाबी छ।

सुदूरपश्चिम तथा अहिलेको प्रदेश नं. ७ जलविद्युत् क्षेत्रमा घनी रहेकामा चमेलियाले यस क्षेत्रको विकासको ढोका खोलेको शनिबार उद्घाटनका क्रममा यहाँ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत उद्घोष गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७४ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App