काठमाडौं- अभिनेत्री दीपाश्री निरौला र गायिका निशा सुनार एकअर्कासँग निकै मिल्छन्। सधैं आफ्ना लागि तीजको गीत गाउने गायिका सुनारले यसवर्ष भने साथी दीपाश्रीका लागि गाइदिएकी छिन्। विवाह गर्ने नेपाली युवतीको उमेर घर्काइसकेकी दीपाका लागि जुन देश बस्ने भए पनि 'नेपाल छोरो' चाहिएको आशयको गीत गाएकी हुन्।
'फ्रेन्ड्सिप डे'को अवसरमा गत आइतबार सार्वजनिक भएको गीत पत्रकार डिबी खड्काले लेखेका हुन्। गीत तीजमा युवतीले योग्य वर माग्ने कुरामा रहे पनि देशभक्ति र सन्देशले भरिपूर्ण छ। जातपातमा रहेको विभेदलाई लक्ष्य गरी भनिएको छः
'बाहुनको होस् कि क्षेत्रीको भन्दिनँ जनजातिको
महादेव टुंगो लगाइदेऊ मेरो जीवनसाथीको'
त्यसैगरी नेपालीहरु विश्वभर फैलिरहेका छन्। जुन देशमा बस्ने भए पनि नेपालप्रति माया गर्ने कुरालाई सम्बोधन गर्दै गीतमा लेखिएको छः
युकेमा होस् कि अमि्रका, जापानमा होस् जर्मनी
दयालु होस् मायालु होस् बुझ्ने होस् मनको मर्म नि
सौन्दर्य भन्ने कुरा नजरपिच्छे फरक हुने कुरा पनि गीतमा अटाइएको छ :
अग्लो होस् कि होचो होस्, कालो होस् गोरो होस्
जो भए नि मेरो जीवनसाथी नेपालीको छोरो होस्
विनोद बाजुरालीले संगीत र एरेञ्ज गरेका छन्। शंकर विसीले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् भने अभिनय दीपाश्री र निशाको रहेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको गीत धेरैले रुचाइरहेका छन्।
प्रकाशित: ३२ श्रावण २०७३ ०२:४७ मंगलबार