८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कास्मिर घटनाको पाकिस्तानले मूल्य चुकाउनुपर्ने भारतको चेतावनी

नयाँ दिल्ली– भारतको उत्तरी राज्य जम्मु र कास्मिरको सैनिक शिविरमा भएको लडाकु आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्ने भारतले चेतावनी दिएको छ ।भारतको सैनिक शिविरमा पछिल्लो पटक भएको आक्रमणपछि आणविक शक्ति सम्पन्न दुई छिमेकी विरोधी राष्ट्रबीचको तनाव थप सतहमा आएको छ ।

भारतबाट हुने कुनै पनि प्रकारको उदण्ड घटनासँग पूर्ण रूपमा लड्नसक्ने बताउँदै पाकिस्तानले नयाँ दिल्लीले कुनै प्रमाण बिना आक्रमणमा आफूहरुको संलग्नताको आरोप लगाएको बताएको छ ।मुसलमान बाहुल्यता रहेको भारत नियन्त्रित हिमाली क्षेत्र जम्मु नजिकै शनिबार भएको लडाकु आक्रमणका कारण ६ सैनिक र एक सैनिक पिताको मृत्यु भएको थियो । शनिबारको घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्धमा पुनः किचलो थपिएको छ ।

आक्रमणको प्रतिकार गर्दा कम्तीमा तीन लडाकुको मृत्यु भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।भारतीय रक्षामन्त्री निर्मला सिथारमनले पत्रकारसमक्ष भारतीय सेनासँग शनिबारको आक्रमणमा पाकिस्तानको  संलग्नता रहेको प्रमाण भएकोे बताएकी छिन् ।

‘भारतीय गुप्तचर निकायले सरकारलाई दिएको विवरणमा शनिबारको आक्रमणमा संलग्न आतंकवादी लडाकुहरुलाई सीमापारीबाट सञ्चालन गरिएको विषय रहेको छ,’ रक्षामन्त्री सिथारमनले सोमबार अबेर बताइन् ।‘पाकिस्तानले आतंकको परिधी फैलाइरहेको छ र उसले युद्धविरामलाई थप हिंसा बढाउने सहयोग माध्यमका रूपमा प्रयोग गरिरहेको छ,’ उनले बताइन् ।

‘यस आक्रमणका लागि पाकिस्तानले ठूलो मूल्य चुकाउनुपर्नेछ,’ रक्षामन्त्री सिथारमनले बताइन् ।
पाकिस्तानले भने भारतको पछिल्लो आरोपलाई अस्वीकार गरेको छ । उसले कास्मिरका मुसलमान विखण्डनवादीलाई भौतिक सहयोग गरिररहेको भन्ने भारतीय आरोपको पनि खण्डन गरेको रोयटर्सले जनाएको छ ।

बेलायती उपनिवेशबाट ७१ वर्ष अगाडि स्वतन्त्र भएदेखि यी दुई देशबीच हालसम्म तीनवटा युद्ध भइसकेको छ, जसमा दुईवटा कास्मिर विषयलाई लिएर भएका छन् । कास्मिरको केही भागमा मात्रै यी दुई देशले शासन सञ्चालन गरेको भए पनि दुवै देशले कास्मिर पूर्ण रूपमा आफ्नो भएको बताउँदै आएका छन् ।

प्रकाशित: २ फाल्गुन २०७४ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App