१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्व सैनिकको घरभरी मौरीको घार (फोटो फिचर)

धादिङ – तीन तले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार। सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो। घरको बरण्डामा टनक्क मिलाएर काठको बक्साभरी मौरीका घारहरु राखिएका छन्। उनले बर्षाैदेखि सदरमुकाम धादिङबेसीस्थित शान्तबजारको आफ्नै घरमा यसरी नै मौरी पाल्दै आएका छन्। नेपाली सेनाको जागिरबाट रिटाएर लिएर घर फर्किएका घिमिरेले अहिले मौरी पालेर मनग्य आम्दानी लिन थालेका छन्। १५ वर्ष यता मौरीपालनलाई नै मुख्या पेसा बनाउँदै आएको नारायण बताउँछन्। थोरै लगानी र कम मेहनतमा धेरै फाइदा लिर्दै आइरहेकी छु नारायणले भने, ‘आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको छ।’ 

३ तले पक्की घरको हरेक वरण्डा र छतमा १ सय ५० वटा मौरीका घारहरु छन्। उनले वर्षौ अघिदेखि सदरमुकाम धादिङबेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन्। सुरुमा ५, ६ वटा घारबाट मौरी पाल्न सुरु गरेका उनले अहिले घरभरी नै छपक्कै मौरीका घारहरु राखेका छन्। उनले  नारायणसँग हाल १ सय १० ओटा आधुनिक घार छ। एक मानो महको ६ सय रुपैयासम्ममा मह बिक्री गर्ने गर्दछन्। मासिक २ लाख रुपैया बराबरको मह बिक्रि हुने गरेको उनले बताए। मौरी पालन सुरु गर्छु भन्ने किसानहरुलाई घारै समेत बेच्ने गरेका छन्। मह बिक्रीबाट भएको आम्दानीले २ छोरा र २ छोरीको पढाइ खर्च र परिवारको खर्च धानेको छ। ‘बिक्रीको लागि समस्या हुँदैन,’ नारायणले भने, ‘मह बेच्न कही जानु पर्दैन किन्ने मान्छे घरमा नै आउँछन्।’ मह किन्न मानिसहरु पहिल्यै नै अर्डर गरेर घरमा नै लिन आउने गरेका छन्। खेर जाने फूलका रसहरुको सदुपयोग गर्न, वरिपरीका बोटबिरुवामा परागसेसन गराएर राम्रो र रसिलोफल फलाउन सकिने भएकोले यस्तो पेशा रोजेको उनले बताए।

पैसा कमाउन कि त जागिर नै खानु पर्छ, की ठूलै लगानी देखाउनुपर्छ नत्र बिदेशिनु पर्छ भन्ने कुरालाई चिर्दै नारायण घिमिरे उदाहरणीय मौरी पालक कृषक बनेका छन्। सुरुमो मौरी पालन सम्बन्धि तालिम र कार्यक्रममा सहभागी भएका थिए। त्यसले आफूलाई मौरी पालन गर्ने उर्जा थपिएको बताए। नारायणसँगै उनका श्रीमती अम्बिका घिमिरेले पनि मौरी पालन व्यावसायमा साथ दिएकी छन्। घरभरी रहेका मौरीका घार हेर्न भनेर मानिसहरु झुम्मिने गरेकोे अम्बिका बताउँछिन्। अहिलेका मानिसहरु यस्ता पेशा गर्न रुचाउँदैनन् अम्बिकाले भनिन्, ‘स्वदेशमै सुन फल्छ।’ युवाहरुलाई विदेश जानुभन्दा स्वदेशमै यस्ता व्यवसायले आय आर्जन गर्न सुझाव दिन्छिन्। जिल्ला कृषि विकास कार्यालय धादिङले प्रदान गरेको युवा लक्षित अनुदान कार्यक्रमले पनि थप हौसला प्रदान गरेको अम्बिका बताउँछिन्। मौरीबाट निर्माण भएको महबाट बढी पोषण तत्व पाइने भएपछि मानिसहरुले चोटपटक लागेको बेलामा कामजोर भएको बेला मह खाने गर्दछन्।

ज्वालामुखी गाउँपालिकाको चैनपुरका तेजकुमारीले आफ्नै घरको कौसीमा मौरी पालेकी छन्। विद्यालयको कार्यालय सहयोगीको जागिर गर्दै आएका तेजकुमारीले जागिर छोडेर घरको कौसीमा आधुनिक घारमा मौरी पालन सुरु गरेका हुन्। श्रीमानको सहयोगमा सुरु गरेको यो व्यावसाय अहिले उनी आफैँले सम्हाली रहेकी छन्। ‘विदेशमा खर्चने श्रमले स्वदेशमा नै सुन फल्छ’ तेजकुमारीले भनिन्, ‘थेरै लगानी र कम मेहनतमा पनि आम्दानी हुने गर्ने गरेकी छु।’ तीन वर्ष अघिबाट २ लाख लगानीमा सुरु भएको मौरी पालनबाट वार्षिक २ लाख ५० हजार सम्म आम्दानी गरिरहेकी छन्। उनले महलाई ६ सय रुपैयाँ मानोमा, मौरीघारलाई ६ हजार ५ सय देखि ८ हजार सम्ममा बिक्रि गरिरहेकी छन्। 

नारायण र तेजकुमारी त उदाहरणका पात्र मात्र हुन्। उनीहरु जस्ता मौरी पालक कृषकहरु धेरै छन्। धादिङको नलाङ, जोगिमारा, नौविसे, मैदी, ढोला, नीलकण्ठ जस्ता गाउँ विकास समितिका किसानहरुले मौरी पालन गरेर प्रशस्त लाभ लिगिरहेका छन्। सुरुमा आफैले मौरी पाल्न सुरु गरेको भएतापनि जिल्ला कृषि कार्यलयले पछि भनेको बेलामा घार उपलब्ध गराएर, युवा लक्षित अनुदान दिएर सहयोग गर्दै आइरहेका छन्। समय समयमा तालिम तथा कार्यक्रममा सहभागी भएर पनि मौरीको हेरचाह्रको बारेमा राम्रो जानकारी पाएको किसानहरु बताउँछन्। 

धादिङमा एपीबी र सेरेना जातको मौरीको व्यवसाय गर्ने गरिन्छ। जिल्ला कृषि विकास कार्यालयले किसानहरुकै आवश्यकतालाई मध्यनजर गर्दै न्यूटन बी मौरीको घार वितरण गरिरहेका छन्। कृषि विकास कार्यलय धादिङले आर्थिक वर्ष २०५४/०५५देखि जिल्लामा पहिलो पटक २५ वटा उन्नत मौरीको घार वितरण गरी आधुनिक तरिकाले मौरी पालन कार्यको सुरुवात गरेको थियो। अहिले किसानहरुले सोचेभन्दा राम्रो आम्दानी गर्न थालेपछि उन्नत जातको घारको माग बढेको कार्यालयले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App