coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तीन सातामा १८७ अंकले ओर्लियो नेप्से

काठमाडौं- साउनको दोस्रो सातादेखि घट्न सुरु गरेको सेयर बजार मापक नेप्से सोमबार पनि उच्च बिन्दुले घटेको छ। नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से तीन सातायता निरन्तर ओर्लिरहेको छ। नेपाल धितोपत्र बोर्डले कालोधन अनुसन्धान गर्ने समिति गठन गरेको समाचार सार्वजनिक भएपछि ओरालो लागेको सेयर बजार समिति बिघटन गरेको दिन उकालो लगे पनि त्यसपछि निरन्तर घटेको छ।

१९ दिनमा १ सय ८७ बिन्दुले ओर्लिएको छ। साउन १२ गते बढेर नयाँ रेकर्ड बनाउँदै १८८१.४५ अंकमा पुगेको नेप्से सोमबारसम्ममा ओर्लिएर १६९४.८१ अंकमा आइपुगेको छ।

सरकार परिवर्तनको अंकगणितीय खेल सुरु भएदेखि नै सेयर बजार विस्तारै घट्न थालेको हो। सत्ताको खेलले राजनीतिक अस्थिरता निम्तने संकेत देखिएसँगै लगानीकर्ता निरुत्साहित भएर सेयर बिक्री गर्न थालेका थिए।

साउन २० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्व गर्न पुगेपछि नेप्से ७३.७९ अंकले घटिसकेको छ। माओवादी सरकारलाई सेयर बजारले नपत्याउने गरेको केही विश्लेषकहरुको भनाइ छ।  यसअघि पनि माओवादीले सरकारको नेतृत्व गर्दा सेयर बजार न्यून बिन्दुमा ओर्लिएको थियो।

नेप्सेमा लगातारको गिरावटलाई लगानीकर्ताहरु सेयर बजारमा 'पहिरो' जान थालेको भन्न थालेका छन्। लगानीकर्ताले हतारिएर सेयर बिक्री गर्न थाल्दा परिसूचक व्यापक घटेको ब्रोकरको भनाइ छ।

१–२ दिनको कारोबारले सेयर बजार कतातिर जान्छ भनेर निर्क्योल गर्न नसकिने सेयर विश्लेषक रविन्द्र भट्टराईले सोमबार नागरिकलाई बताए।

विगत १४ वर्षमध्ये १२ वर्षको विवरणले वैशाखदेखि भदौसम्म बजार बढेको देखाउँछ। यसपालि भदौअघि नै उच्च अंक छोइसकेकाले अब धेरै नबढ्ने अनुमान विश्लेषकले गरेका छन्।

बजार एकोहोरो बढेपछि 'करेक्सन' भएको पनि ती विश्लेषकले नाम उल्लेख नगरिदिने सर्तमा भने, '१८८१.४५ को बिन्दु पार गरेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से १८६.६४ बिन्दुले 'करेक्सन' भएर १६९४.८१ मा झरेको छ,' उनले भने, 'यो दर आगामी दिनमा अझ बढ्ने देखिन्छ।'

गएको साता निकै उतारचढाव देखिएको सेयर बजारमा यो साताको पहिलो दुई दिनको कारोबारमा उच्च बिन्दुले गिरावट आएको छ। आइतबार करिब ४१ अंकले घटेको नेप्से सोमबार ३९ बिन्दुभन्दा धेरैले घटेको छ।

कारोबारमा आएका सबै समूहको सूचकमा गिरावट आएपछि बजार उच्च बिन्दुले झरेको हो। यस दिन  अघिल्लो दिनको तुलनामा कारोबार रकम भने ५ करोड रुपैयाँभन्दा धेरैले बढेको छ।

सोमबार बजार खुल्नासाथ निरन्तर ओरालो लागेको बजार बीचमा केही बेर सम्हालिन खोजे पनि बन्द हुने बेलासम्ममा ३९.१२ बिन्दुले घटेर १६९४.८१ अंकमा आइपुगेको छ। यस दिन १ सय ४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि घटेको बजारमा सबैभन्दा धेरै बिमा समूहको परिसूचक २ सय ३४ बिन्दुले ओरालो लागेको छ। त्यस्तै होटल समूह ७६.५९, जलविद्युत समूह ४९.६१, वणिज्य बैंक समूह ४०.८८, विकास बैंक समूह ३७.९९, अन्य समूह ९.५५ र फाइनान्स समूह २.८ बिन्दुले ओरालो लागेको छ।

सोमबार एनबी बैंकको सबैभन्दा धेरै ९ करोड ३४ लाख रुपैयाँ र एभरेस्ट बैंकको ५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेस्टमेन्ट र नेपाल बैंकले ४ करोडभन्दा बढीको कारोबार गरेका छन्।  सिद्धार्थ, एनएमबी, माछापुच्छे्र बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको पनि ३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस दिन वाणिज्य बैंक समूहमा ६० करोड बराबरको सेयर किनबेच भएको छ।

सोमबारको बजारमा दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपेमन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो। यसपछि कमाउनेमा समिट माइक्रो र नागबेली वित्तीय संस्था देखिएका छन्।

सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले गुमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ। रिडी हाइड्रो, राप्तीभेरी विकास बैंक, प्रोगेसिभ फाइनान्स, सिन्धु विकास बैंक, पूर्णिमा र कर्णाली विकास बैंक लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।

उत्तारचढावले लगानीकर्ता चिन्तित

काठमाडौं- सेयर बजारमा आएको उत्तरचढावप्रति लगानीकर्ता संघ चिन्तित भएको छ। सोमबार उक्त संघले विज्ञप्ति जारी गर्दै सेयर बजार सामान्यतया माग र आपूर्तिसँग सम्बन्धित रहेर कारोबार हुने व्यापार भए तापनि विगत केही दिनदेखि सेयर बजारमा असामान्य तरिकाले उतारचढाव आएकोप्रति संघ अत्यन्त चिन्तित रहेको बताएको छ।

'यो साता नेपालको आर्थिक क्षेत्रमा कुनै नकारात्मक सूचना वा कृयाकलाप भएको छैन, बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको वार्षिक अपरिस्कृत आर्थिक विवरणहरु विगतभन्दा अझ राम्रो छ,' उसले विज्ञप्तिमा उल्लेेख गरेको छ, 'इन्स्योरेन्स कम्पनीहरुको विगतभन्दा धेरै नै व्यापार वृद्धि देखिएको छ र नाफामा उल्लेख्य सुधार देखिएको छ। अब केही दिनभित्र नै बैंक तथा वित्तीय संस्थाहरुले बोनस, नगद लाभांश तथा हकप्रद सेयर जारी गर्न लागेकोले सेयर बजार घट्नुपर्ने देखिँदैन।' नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्य रहेको भन्दै संघले लगानीकर्तालाई आवेगमा नआई, धैर्य र उच्च मनोबलका साथ रहन अपिल गरेको छ।

प्रकाशित: ३२ श्रावण २०७३ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App