८ वैशाख २०८१ शनिबार
अर्थ

कालंगा हाइड्रोपावरको काम तीव्र

कालंगा हाइड्रो पावरको सुरुङ मार्ग । तस्बिर : जगत- नागरिक

जगत खड्का
बझाङ – निजी लगानीबाट निर्माणाधीन कालंगा हाइड्रो पावरको काम तीव्र रुपमा सञ्चालन भइरहेको छ । ७ नम्बर प्रदशेको विकट पहाडी जिल्ला बझाङको बुगल नगरपालिकामा निजी लगानीमा निर्माण भइरहेको कालंगा हाइड्रो पावरको काम तीव्र रुपममा सञ्चालन भइरहेको हो । काम सम्पन भएपछि कालंगबाबाट ७५ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

‘गाउँमा सडक पुग्छ र गाडी चढ्न पाइन्छ भन्ने सोचको थिएन,’ बुगल नगरपालिका–२ का धौल्या धामीले भने, ‘अहिले गाउँमा अपर कालंगा हाइड्रो पावर निमार्ण हुन थालेपछि उनीहरुले नै सडक निर्माण गरेर गाउँमा गाडी चढ्न पाउनुका साथै बत्ती बाल्न पाउने आस जागेको छ, ।’ हाइड्रो पावरबाट खेर गएको पानीको सदुपयोग भएकोमा उनी खुसी छन् । ‘रोजगारीका लागि विदेसिने हामीलाई अहिले गाउँमा नै  रोजगार पाइन थालेका छ,’ उनले भने, ‘अहिले गाउँमा विकास र रोजगार दुवै पाउँदा खुसीले सीमा नाघेको छ । यस्तै तीव्र काम हुने हो भने छिट्टै बिजुली बाल्न पाइने आसमा छु ।’

‘अहिले गाउँमा आएको विकास भनेकै कालंगा हाइड्रो पावरको काम हो,’ हाइड्रो पावरमा कार्यरत कलक भण्डारीले भने, ‘अहिले आफूले दैनिक १२ घन्टा काम गरे पनि काम अनुसारको दाम पाउँदा निकै खुसी लागेको छ ।’ काम गरेर पैसा पनि कमाइ हुने, बिजुली पनि बाल्न पाइने भएर खुसी लागेको उनले बताए । ६ महिनामा झन्डै एक किलोमिटरभन्दा बढी अपर कालंगाको सुरुङ मार्ग कटान गरिएको उनको अनुभव छ । उनी भन्छन्, ‘सुरुङभित्र काम गर्दा जोखिम हुने भएपनि कमाई पनि राम्रै हुन्छ ।’

कालंगा हाइड्रो पावरले गर्दा नगरपालिका धेरै वडा र गाउँमा सडक विस्तार गर्न सजिलो भएको छ । करिब ४५ किलोमिटर सडक नै हाइड्रोपावरले आफ्नै लगानीमा निर्माण गरेकाो बुगल नगरपालिका प्रमुख धनबहादुर बिष्टले बताए । ‘नगरपालिकाभित्र रहेका खोलाले बर्खामा किसानको खेतीयोग्य जमिन कटान गरेर लैजान्थ्यो,’ बिष्टले भने, ‘अब त्यस्तो अवस्था आउँदैन । हाइड्रो पावकै कारण पाँच सयजनाले रोजगारी पनि पाएको उनको भनाइ छ ।

सुदूरपश्चिमको बझाङ धेरै सम्भावना भएको जिल्ला हो । त्यसमध्येको सबैभन्दा महत्वपूर्ण सम्भावना भनेकै विद्युत् उत्पादन भएकाले यसमा लगानी गर्न आफू उत्साहित भएको कालंगा हाइड्रो पावरका निर्देशक शिवप्रसाद घिमिरेले बताए । यहाँबाट उत्पादित बिजुलीले विकट गाउँ उज्यालो पार्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

‘एक वर्ष नपुग्दै ३० प्रतिशत काम सम्पन गर्न सफल भएका छौं । चार वर्षभित्र पूरै काम सक्ने र विद्युत् वितरण गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘निजी लगानीबाट विद्युत् उत्पादन गरिएकाले ७० प्रतिशत काम सम्पन हुनेबित्तिकै स्थानीयलाई २५ प्रतिशत सेयर वितरण गर्ने योजनामा छौं ।

निजी लगानीमा निर्माण भइरहेको हाइड्रोपावरमा माछापुच्छे बैंक, एनएमबि बैंक, सिभिल बैंक र केही सर्वसाधारण लगानीकर्ता गरी १३ सय करोड रुपैयाँमा निर्माण कार्य भइरहेको छ । ०७७ सालभित्र निर्माण कार्य पूरा गरी दार्चुलाको चमेलियाको विद्युत् लाइनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी वितरण गरिने कम्पनीका सञ्चालक खगेश्वर बोहराले बताए ।

उनले भने, ‘अपर कालंगा, सानिगाड, कालंगा र बुगल हाइड्रो गरी चारवटा ठाउँमा विद्युत् उत्पादन गरिने छ । गाउँ झिलिमिली हुनुका साथै रोजगार पनि स्थानीयले नै बढी पाएका छन् । सबैगरी करिब दुई हजार जनशक्ति र मेसिन प्रयोग गरिएको छ । अपर कालंगामा ८.२ सानिगाड २.९ र कालंगामा ३.४ किलोमीटर सुरुङ मार्ग रहेको  छ सबैठाउँको गरि करिब दुई किलोमिटरभन्दा बढी सुरुङ मार्ग कटान भइसकेको छ ।


 

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App