८ वैशाख २०८१ शनिबार
अर्थ

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

काठमाडौं – १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले बनाउन लागेको यो आयोजनाको म्याद सात पटक थपिइसकेको छ । अहिले आठौं पटक समय थप्न लागिएको हो । कुलेखानी तेस्रो जलविद्युत आयोजनाका प्रमुख सुभाषकुमार मिश्रले सिभिल निर्माण तर्फको म्याद एक महिना थप्न प्राधिकरणमा सिफारिस गरिएकोे बुधबार नागरिकलाई बताए । ‘सिभिल निर्माणको काम करिव ९९ प्रतिशत पुरा भइसकेको छ,’ उनले भने ।

सिभिलको काम अन्तिम चरणमा भए पनि इलेक्ट्रोमेकानिकलको काम भने भर्खरै ७५ प्रतिशत मात्र पूरा भएको छ । इलेक्ट्रोमेकानिकलले काम पूरा गरे पछि कतिपय काम सिभिलले गर्नुपर्ने भएकाले पनि सिभिलको पाटोलाई बिदा गर्न समस्या परेको आयोजनाका अधिकारी दाबी गर्छन् । यसले गर्दा म्याद थप गरी राख्नु परेको हो ।

सिभिलतर्फको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गर्दै आएको छ । इलेक्ट्रो तथा हाइड्रोमेकानिकल चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकलले अनेक बहाना बनाउँदै काम नगरेका कारण आयोजना निर्माणको काम कछुवा गतिमा भएको मिश्रले बताए ।

‘अझै कहिले आयोजना सम्पन्न हुन्छ भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अझै इलेक्ट्रोमेकानिकलको काम २५ प्रतिशत बाँकी छ ।’प्राधिकरणले इलेक्ट्रोमेकानिकलको ठेकेदारलाई हटाएर नयाँबाट काम गराउन सकेको छैन । ‘नयाँ कम्पनी ल्याएर काम गर्ने अवस्था छैन,’ मिश्रले भने, ‘अहिले गरिरहेकोले पनि काम गरेको छैन ।’

गत सोमबार पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इलेक्ट्रोमेकानिकल कम्पनीका उच्च अधिकारीबीच आयोजना निर्माणका विषयमा छलफल भएको थियो । त्यो छलफल पनि फलदायी नभएको प्राधिकरण स्रोतको भनाइ छ ।यो आयोजना निर्माणको काम २०६४ चैतमा सुरु भएको थियो । कुलेखानी पहिलो र दोस्रोबाट निस्केको पानीबाट १४ मेगावाट बिजुली निकाल्ने योजना अनुसार प्राधिकारणले यो आयोजना निर्माण गर्न सुरु भएको थियो ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App