४ वैशाख २०८१ मंगलबार
अर्थ

वैदेशिक रोजगारीमा जान सीप अनिवार्य

काठमाडौं – वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? यदि त्यस्तो सोच छ भने पहिला जुन काममा जाने हो त्यसबारे सीप सिक्नूस् । विगतमा जस्तो सीप सिक्नु भएको छैन भने अबदेखि तपाईंको वैदेशिक रोजगारीको यात्रा रोकिन पनि सक्छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारीका लागि विदेश पस्ने हरेक युवाका लागि सीप र तालिम अनिवार्य ठान्दै श्रम तथा रोजगार मन्त्रालयमा पेस गरेको कार्यविधिलाई उक्त मन्त्रालयले पास गरेपछि सीपबिना कोही पनि रोजगारीका लागि विदेश जान पाउने छैनन्  ।बोर्डकी निर्देशक निर्मला थापाले बोर्डको प्रस्तावलाई मन्त्रालयले पास गरेलगत्तै सीप सिकाउनका लागि संस्था छनोटको सूचना प्रकाशित भइसकेको बताइन् । हाल सीप नसिकेर वैदेशिक रोजगारीमा जाने कामदारको वर्चस्व रहेको छ ।

पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीमा जाने कामदारको संख्या चारदेखि पाँच लाखको हाराहारीमा हुँदा समेत अधिकांश सीप नसिकेका हुने गरेका छन् । सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर श्रमिकले विदेशमा राम्रो पारिश्रमिक पाउन सकेका छैनन् भने अर्कोतर्फ ठूलो संख्याका कामदार पठाउँदासमेत नेपालले प्राप्त गर्ने रेमिटेन्समा सुधार हुन सकेको छैन ।

केही वर्षअघि केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको विवरण अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशत अदक्ष कामदार हुने गरेका छन् । ठूलो संख्याका कामदार अदक्ष हुँदा विदेशमा तिनै कामदार सर्वाधिक शोषणमा पर्ने गरेका उदाहरण तमाम छन् । कामदार शारीरिक, मानसिक, आर्थिकलगायत शोषणमा पर्नुको कारण सीपको अभाव ठानिएपछि पहिलोपटक वैदेशिक रोजगारीमा जान कामदारका लागि सीप अनिवार्य गरिएको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारी र निजी संस्थाले सीप सिकाउने व्यवस्था मिलाउने गरी सीप विकास तालिम कार्यविधि तयार पारी अघिल्लो साता श्रम तथा रोजगार मन्त्रालयमा पठाइएको बताए ।

‘सीपलाई बढी व्यवहारिक र कार्यमूलक बनाउन निजी संस्थाले वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सीप सिकाउने र सरकारी निकायले अनुगमन गर्नुको साथै प्रमाणपत्रको प्रमाणीकरण गर्ने व्यवस्था गरिएको छ,’ उनले भने । रोजगारीका लागि सीप अनिवार्य गरिएको निर्णय आगामी दिनमा समेत कार्यान्वयन हुने उनको भनाइ छ । देश संघीयतामा गइसकेपछि बोर्ड लगायत श्रम तथा रोजगार मन्त्रालयको अवस्था के हुने भन्नेबारेमा अन्योल रहेका कारण अनिवार्य सीपको प्रावधानमा हेरफेर हुन सक्ने कतिपयको अनुमान छ ।

देशको अर्थतन्त्रमा रेमिटेन्सको करिब २९ प्रतिशत सहभागिता रहँदै आए पनि सरकारले भने अहिलेसम्म वैदेशिक रोजगारीमा जाने कामदारलाई कुनै तालिम र सीप सिकाउने गरेको छैन । सीमित व्यक्तिले आफ्नै प्रयासमा सीप सिकेर वैदेशिक रोजगारीमा जाने गरे पनि अधिकांश कुनै सीपबिना नै वैदेशिक रोजगारीमा जाने चलन छ । अधिकांश कामदार विदेशमा गर्नुपर्ने काम उतै गएर मात्र सिक्ने गर्छन् । जसले गर्दा कम पारिश्रमिक पाउने गर्छन् ।

वैदेशिक रोजगारीमा जाने कतिपय युवायुवतीलाई गन्तव्य मुलुकमा सडक पार गर्ने तथा कोठामा एसी चलाउने सामान्य ज्ञानसम्म नहुने गरेको पाइन्छ । जसले गर्दा गुजाराको जोहो गर्न रोजगारीमा पुगेका कामदार विदेशमै अनाहक ज्यान गुमाउन बाध्य छन् । बोर्डका अनुसार २०६५ सालयता वैदेशिक रोजगारीको क्रममा विभिन्न गन्तव्यमा पुगेका ६ हजार दुई सय ७० भन्दा बढी युवायुवतीले ज्यान गुमाइसकेका छन् ।

वैदेशिक रोजगारीको क्रममा कामदार समस्यामा पर्नु तथा वैदेशिक रोजगारीमा राम्रो पारिश्रमिक प्राप्त गर्न नसक्नुमा सीप अभाव ठहर गर्दै बोर्डले प्रभावकारी तालिमको आवश्यकता महसुस गरेको निर्देशक थापाले बताइन् । सीप विकास तालिम कार्यविधिमा बोर्डले १८ देखि ५० वर्ष उमेरसम्मका व्यक्तिलाई जुन कामका लागि विदेश जाने हो त्यसैमा पोख्त बनाउन तालिम र सीपलाई अनिवार्यको गरिएको उनले बताइन् ।

हाललाई वैदेशिक रोजगारीमा जाने कामदारलाई जुन काममा जाने हो त्यसमा कम्तीमा एक महिना अनिवार्यको प्रस्ताव गरिएको छ । बोर्डको प्रस्तावमा लामो तालिम (एक वर्षसम्म) पनि उल्लेख छ ।
वैदेशिक रोजगारीमा तालिम र सीपको आवश्यकता महसुस गरिएपछि बोर्डले कल्याणकारी कोषको रकम प्रयोग गरी गत वर्षदेखि एक महिने तालिम सुरु गरेको थियो । तर उक्त तालिम सीमित व्यक्तिले मात्र पाउने गरेका छन् । बोर्डका अनुसार गत वर्ष देशका ५३ जिल्लामा सञ्चालन गरिएको तालिममा नौ हजार नौ सय सहभागी थिए । बोर्डले यस वर्ष देशभरिका १० हजार युवालाई विभिन्न ट्रेडमा तालिम दिने तयारी गरिरहेको काफ्लेले जनाए ।

कल्याणकारी कोषको रकम खर्च गरी तालिम दिँदा सबैलाई समेट्न गाह्रो परेपछि अब सबै समेटिने गरी तालिम सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको हो । हाल इजरायल र कोरिया जाने कामदारले प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ तथा अन्य मुलुकमा रोजगारीका लागि कामदारले एक हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा जम्मा गर्ने गर्छन् । सरकारी निकायले कामदारलाई दक्ष बनाउन एक सुको पनि लगानी गर्ने गरेको छैन ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App