८ वैशाख २०८१ शनिबार
खेल

प्रशिक्षक व्यवस्थापन टाउको दुखाइ

बाँके  – खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।

नयाँ खेलाडी उत्पादन र उपलब्धि हासिल गर्न प्रशिक्षकले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर नेपाली खेलकुदमा कर्मचारी व्यवस्थापन टाउको दुखाइको विषय बन्दै गएको छ । कर्मचारी व्यवस्थापन गर्न नसक्दा खेलविकासमा अवरोध मात्र होइन सरकारले खेलकुदको नाममा गरेको लगानीसमेत खेर गइरहेको छ । चाहिनेभन्दा धेरै प्रशिक्षक एउटै जिल्लामा हुँदा खेलकुदको नाममा सरकारी ढुकुटीको समेत दुरुपयोग भइरहेको बताउँछन् सुटिङ खेलाडी तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति उपाध्यक्ष नरेन्द्र थापा ।

कुनै जिल्ला प्रशिक्षकविहीन छ भने कहीं धेरै भएर समस्या देखिएको छ । जसले खेल विकासमा समस्या थपिरहेको बताउँछन् क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली । प्रशिक्षकको सही व्यवस्थापन नहुँदा समस्या बढिरहेको छ । तर प्रशिक्षक व्यवस्थापन खेलकुदको नयाँ समस्या भने होइन । प्रशिक्षकलाई समानुपातिक रुपमा नियुक्त दिन नसक्नु पुरानै समस्या हो ।

कुनै जिल्ला प्रशिक्षकविहीन छन् । कतै भने आवश्यकताभन्दा धेरै प्रशिक्षक हुँदा समस्या बढिरहेको छ ।  
प्रशिक्षक व्यवस्थापन समस्याले खेलकुद विकासमा मात्र असर गरेको छैन राज्यको लगानीसमेत दुरुपयोग भइरहेको छ । सरकारले प्रशिक्षकको नाममा गरेको खर्चको समेत मूल्यांकन हुने गरेको छैन । कर्मचारी व्यवस्थापन गर्न नसक्दा राज्य ढुकुटीको समेत दुरुपयोग भैरहेको बताउँछन् मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति उपाध्यक्ष थापा ।

प्रशिक्षक व्यवस्थापन गर्ने जिम्मेवार निकाय मौन बस्दा ग्रामीण खेलकुद विकासमा समस्या देखिएको छ । अर्कोतर्फ प्रशिक्षणमा सरकारले गरेको लगानी खेर गइरहेको छ । बाँके जिल्ला मार्सल आर्टका लागि राम्रो सम्भावना देखिएको क्षेत्र हो । तर मार्सल आर्टमा बाँकेको प्रदर्शन प्रशंसनीय छैन ।

बाँकेमा तेक्वान्दोका सात प्रशिक्षक छन् । प्रशिक्षकको संख्यालाई आधार मान्ने हो भने तेक्वान्दोको नतिजा उपलब्धिजनक छैन । साताै राष्ट्रिय खेलकुदमा तेक्वान्दोको एउटा खेलाडीले पनि स्वर्ण पदक जित्न सकेका थिएनन् । यसै महिना भएको राखेप च्याम्पियनसिप तेक्वान्दोमा भने मध्यपश्चिम टोलीले ८ कांस्य पदक जितेर फर्किएको थियो ।बाँकेमा तेक्वान्दो प्रशिक्षक श्रीमान् थापामगर, नेत्रबहादुर थापा, विमला भण्डारी, चन्द्रप्रकाश श्रेष्ठ, उत्तमबहादुर रिमाल, राजेन्द्रसिंह आले, मानबहादुर लामिछाने कार्यरत छन् ।

संघ सक्रिय नहुँदा पनि प्रशिक्षक व्यवस्थापनमा समस्या देखिएको बताउँछन् जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेत । बस्नेतले भने, ‘प्रशिक्षक चाहिनेभन्दा धेरै छन् । धेरै प्रशिक्षक एउटै जिल्लामा हुनु भनेको सरकारी ढुकुटीको पनि दुरुपयोग हो । हामीले समस्या समाधान गर्न खोजेका हाै । तर यसमा संघ र राखेपले नीति बनाएर अगाडि बढ्नुपर्छ ।’यसै गरी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिअन्तर्गत एथलेटिक्सका तीन प्रशिक्षक छन् । एथलेटिक्सका विक्रमजंग थापा, चन्द्रबहादुर गुरुङ, हृदयकृष्ण मास्के छन् । थापा र गुरुङ उपनिर्देशक हुन् भने मास्के सहायक प्रशिक्षक हुन् ।

क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली प्रशिक्षक व्यवस्थापनलाई खेलकुदमा एउटा जटिल समस्याका रूपमा लिन्छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो क्षेत्रअन्तर्गतका कर्मचारी सरुवा गर्न पनि नसक्ने र गर्न खोजे पनि गर्न नदिँदा समस्या देखिएको ओली बताउँछन् ।‘खेलकुदमा कति प्रशिक्षक र कर्मचारी चाहिन्छ भन्ने बारेमा अध्ययन नै भएको छैन । कुनै जिल्लामा प्रशिक्षकको अभाव छ । कुनै जिल्लामा धेरै भएर समस्या छ,’ ओलीले भने, ‘इमानदारिताका साथ काम गर्ने हो भने एउटा जिल्लामा १, २ प्रशिक्षक भए पुग्छ । तर हाम्रोमा धेरै प्रशिक्षक भएर पनि खेल विकासमा असर गरिरहेको छ ।’

खेलका अन्तर्राष्ट्रिय नियम र पद्धति हरेक वर्ष परिवर्तन भइरहेका हुन्छन् । प्रशिक्षकलाई समयअनुसार नयाँ प्रशिक्षण शैली र नियमको बारेमा अवगत गराउन आवश्यक हुन्छ । नतिजाका आधारमा प्रशिक्षकलाई अवसर, मौका, हौसला दिनुपर्छ । प्रशिक्षकलाई मूल्यांकन र प्रोत्साहन गर्ने जस्ता नीति आवश्यक रहेको क्षेखेविस उपाध्यक्ष थापाले बताए । तर जिम्मेवार निकाय मौन बस्दा समस्या थपिरहेको थापा बताउँछन् । उनले भने, ‘राखेपले प्रशिक्षक व्यवस्थापन गर्नुपर्ने हो । राखेपले यसमा आँट नै गर्न सकेको छैन ।

प्रशिक्षकहरू प्रशिक्षणभन्दा आफ्नो व्यक्तिगत काममा व्यस्त छन् । उनीहरूलाई सम्बन्धित संघ र हामीले काम दिन सकेका छैनौं । प्रशिक्षक भएर मात्र हुँदैन उनीहरूलाई प्रशिक्षण गराउने सामग्री हुनुपर्यो । पूर्वाधार हुनुपर्यो ।’उनले भने, ‘सुटिङमा बाँके र मध्यपश्चिमले राम्रो नतिजा हासिल गरेको छ । तर यहाँ खेल्ने सामान नै छैन । अनि प्रशिक्षकले कसरी काम गर्छन् ?’

राजनीतिक पहुँचका आधारमा प्रशिक्षक नियुक्ति गरिएका कारण समस्या देखिएको क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष ओली स्विकार गर्छन । उनले भने, ‘प्रशिक्षक नियुक्त गर्दा राजनितिक कारणले पनि समस्या देखिएको छ । योग्यभन्दा कार्यकर्ता भर्ना गर्ने ठाउँ बनाइएको छ खेलकुद । प्रशिक्षक अभाव भएका ठाउँमा हामीले केही प्रशिक्षकलाई पठाउन खोज्याै । तर हामी पूर्ण रूपमा सफल भएनौं । उहाँहरू सरकारको महत्वपूर्ण जिम्मेवारी पाए पनि दुर्गम ठाउँमा जान मान्नुहुन्न ।’

केही खेलमा प्रशिक्षक धेरै छन् । केही खेल सम्भावना भए पनि प्रशिक्षकविहीन छन् । मध्यपश्चिमका सात जिल्ला प्रशिक्षकविहीन छन । तीन महिनाअघि लालबहादुर मल्लले अवकाश लिएपछि भलिबलको प्रशिक्षक बाँके जिल्ला र क्षेत्रीय खेलकुदमा छैन । यसै गरी उसु प्रशिक्षक पनि छैनन् जिल्ला र क्षेत्रमा ।
प्रशिक्षकलाई न्याय हुने गरी माग भएका जिल्लामा पठाउने योजना बनाएको क्षेत्रीय अध्यक्ष भीम ओलीले बताए । उनले भने, ‘धेरै प्रशिक्षक भए पनि नतिजा करिब शून्य छ । नतिजा र लगनशीलताका आधारमा प्रशिक्षक सरुवा गर्ने नीति हुनुपर्छ ।’

पछिल्ला समय क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले ब्याडमिन्टन प्रशिक्षक जयन्तकुमार श्रेष्ठलाई सुर्खेत, फुटबल प्रशिक्षक सानु तामाङलाई सुर्खेत, करातेका दीपक गोसार्इंलाई जाजरकोट र तेक्वान्दोका राजेन्द्र सिंहलाई दैलेख पठाइएको थियो ।नेपालगन्जले आगामी मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ । प्रतियोगिताअघि क्षेत्रले विशेष तयारी सुरु गर्ने बताएको छ । तर प्रशिक्षक व्यवस्थापन गर्न नसक्दा क्षेत्रको विशेष तयारी सुरु गर्न समेत समस्या देखिएको ओलीले बताए ।

प्रशिक्षक व्यवस्थापन बाँकेको मात्र समस्या होइन । नेपाली खेलकुदमा सबै क्षेत्रीय खेलकुद विकास समितिको साझा समस्या हो कर्मचारी व्यवस्थापन । काठमाडौमा धेरै प्रशिक्षक बस्न रुचाउने गर्छन् । त्यसपछि क्षेत्र र सुगम जिल्ला । खेलाडी संख्याको आधारमा प्रशिक्षक व्यवस्थापन गर्नुपर्ने धारणा राख्छन् एथलेटिक्स प्रशिक्षक एवम् उपनिर्देशक चन्द्रबहादुर गुरुङ । प्रशिक्षकको मूल्यांकन तथा सुपरिवेक्षण तालिम तथा प्रशिक्षण विभाग गर्ने गर्छ । सरकारले प्रशिक्षक नियुक्त गरे पनि प्रशिक्षण कार्यक्रमका लागि भने बजेट छुट्याउने गरेको छैन । जिल्ला खेलकुद विकास समिति अध्यक्ष बस्नेत भन्छन्, ‘प्रतियोगिता र भौतिक पूर्वाधारबाहेक खेलकुदमा अन्य शीर्षकमा बजेट आउँदैन । प्रशिक्षकलाई हामीले काम गराउन सक्ने अवस्था पनि छैन ।’

बाँके जिल्लामा कार्यरत तेक्वान्दोका मुख्य प्रशिक्षक श्रीमान थापामगर स्वयम् आफ्नो क्षेत्रको नतिजाबाट सन्तुष्ट छैनन् । थापामगर भन्छन्, ‘राजनीतिक शक्तिको भरमा प्रशिक्षक नियुक्त भए । कसैले डोजाङ चलाएर काम गरिरहेका छन् । कोही काम नगरी बसेका छन् । कुनै ठाउँमा प्रशिक्षक अभाव छ । त्यस्तो ठाउँमा जाने वातावरण सरकारले गराउनुपर्छ । खेलाडी पठाएर मात्र हँुदैन त्यहाँ प्रशिक्षण गराउने वातावरण निर्माण गर्नुपर्छ ।’

‘प्रशिक्षक नियुक्त गर्दा राजनितिक कारणले पनि समस्या देखिएको छ । योग्यभन्दा कार्यकर्ता भर्ना गर्ने ठाउँ बनाइएको छ खेलकुद । प्रशिक्षक अभाव भएका ठाउँमा हामीले केही प्रशिक्षकलाई पठाउन खोज्यांै । तर हामी पूर्ण रूपमा सफल भएनौं ।’

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App