coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बढी भार बोक्ने भारतीय नम्बर प्लेटका गाडी कारबाहीमा

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयामा अनुमति पाएभन्दा बढी भार बोकेर आएको आशंकामा भारतीय नम्बर प्लेटका गाडी चेकजाँच गरिँदै । तस्बिर : नागरिक

बारा – मध्य क्षेत्रीय ट्राफिक प्रहरीले मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोकेर भित्रिएका भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई कारबाही गरेको छ।

सवारीसाधनको ब्लुबुकमा उल्लिखित भार क्षमताभन्दा बढी सामान बोकेर गुड्ने भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँचका क्रममा कारबाही गरिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। 

३० टन बोक्ने अनुमति पाएका भारतीय ट्रकले ५२ टनसम्म बोक्ने गरेको भेटिएको छ । यसले गर्दा नेपालका सडक र पुल जोखिममा परेका छन्।

विभिन्न नाकाबाट बढी भार बोकेर आउने भारतीय नम्बर प्लेटका सवारीसाधनले वीरगन्ज–पथलैया, हेटौडालगाएतका औद्योगिक करिडोरका उद्योगका लागि कच्चा पदार्थ ढुवानी गर्ने गरेका छन्। यस्ता सवारीसाधनका कारण सडक र पुल जोखिममा परेपछि कारबाही सुरु गरिएको कार्यालय प्रमुख सुरेन्द्र मैनालीले बताए। माघ १४ देखि २९ सम्मको चेकजाँचमा अनुमति पाएभन्दा बढी भार बोकेका ४९ सवारीसाधनलाई कारबाही गरिएको र त्यसबाट आठ लाखभन्दा बढी राजस्व उठेको मैनालीले जानकारी दिए। निर्धारित क्षमताभन्दा २० टनसम्म बढी भार बोकेका सवारीसाधन भेटिएको उनले बताए । ‘पूर्वको जोगबनी भन्सारबाट जाँच पास भई हेटौंडा जाँदै गरेको पीबी ०३ एपी १०१२ नं. को १८ चक्के गाडीलाई पथलैयामा चेक गर्दा त्यसले ५१ टन भार बोकेको भेटियो,’ मैनालीले भने, ‘३० टन भार बोक्ने अनुमति भए पनि यसले २१ टन बढी भार बोकेको भेटिएपछि कारबाही गरिएको छ।’ उक्त गाडी कारबाहीका लागि वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा पठाइएको र ३२ हजार रुपैयाँभन्दा बढी जरिवाना गराइएको उनले बताए। 

त्यसैगरी जोगबनी भन्सारबाट जाँच पास भएर वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेको सिमेन्ट उद्योगका लागि क्लिंकर लोड गरी आउँदै गरेको आरजे ०२ जिबी ०९६२ नम्बरको १८ चक्के गाडीलाई चेक गर्दा त्यसमा ५२ टन लोड गरेको भेटिएपछि कारबाही गरिएको मैनालीले बताए । भारतीय नम्बर नम्बर प्लेटका गाडीले फलाम र क्लिंकरलगायतका औद्योगिक कच्चा पदार्थ अनुमतिभन्दा बढी लोड गरी नेपाल ल्याउने गरेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

भारतीय टिपरमा पछाडिको क्यारियरमा करिब दुई फिटसम्म भाग थपेर क्षमताभन्दा बढी सामान ल्याइने गरेको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताए। अतिरिक्त भाग थपेर सञ्चालनमा ल्याइएका नेपाली टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर थपिएको भाग काटे पनि भारतीय ट्रकलाई छुट दिँदा नेपाली यातायात व्यवसायी मर्कामा परेको उनले बताए।

१० चक्के नेपाली नम्बर प्लेटको गाडीलाई १७ टनसम्म बोक्न छुट रहे पनि त्यति नै क्षमताको भारतीय नम्बर प्लेटको गाडीले भने २२ टन बोक्ने गरेको उनको भनाइ छ । यसले गर्दा लागत सस्तो पर्ने भएकाले नेपाली उद्यमीले भारतीय ट्रकलाई प्राथमिकता दिने हुँदा आफूहरु मर्कामा परेको उनले स्पष्ट पारे। 

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App