८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद्ले फागुन तेस्रो साता पूर्णता पाउने

मकवानपुर – देशका ७ प्रदेशमध्ये प्रदेश नम्बर ३ ले सबैभन्दा पहिला मुख्यमन्त्रीसहित ३ मन्त्री पाए पनि मन्त्रिपरिषद्ले पूर्णता भने फागुन तेस्रो सातापछि मात्र पाउने देखिएको छ।

मुख्यमन्त्री डोरमणि पौडेल बुधबार संघीय राजधानी काठमाडौं गएको र उनी फर्किंदा प्रदेश प्रमुख अनुराधा कोइराला नहुने भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको हो । ‘प्रदेश राजधानी हेटौंडा म आइतबार फर्किन्छु, शनिबारै प्रदेश प्रमुख उपचारका लागि भारत जानुहुन्छ,’ मुख्यमन्त्री पौडेलले नागरिकसँग भने, ‘बिहीबार र शुक्रबारमा मन्त्रिपरिषद् बिस्तार हुने सम्भावना न्यून छ।’

मुख्यमन्त्री पौडेल बिहीबार नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै, शनिबार धुलिखेल नगरपालिकाको वार्षिकोत्सवमा सहभागी हुने र काठमाडौंमा विज्ञहरूसँग छलफल गर्ने, संघीय संसद्का महासचिवसँग भेटघाट गर्नेलगायत व्यक्तिगत कामसमेत रहेको बताए।

चार दिन काठमाडौं बसेर फर्किन लागेका मुख्यमन्त्री एवं एमाले ३ नम्बर प्रदेश संसदीय दलका नेता पौडेलले ७ सदस्यीय प्रदेश मन्त्रीमण्डल बनाउने पुष्टि गरेका छन् । त्यसो भए एमाले–माओवादीले ७०–३० प्रतिशतका आधारमा एमालेले बढीमा ५ र माओवादीले बढीमा ३ मन्त्री पाउने सम्भावना रहन्छ । तर प्रदेश सांसदको दबाव र पार्टीहरूको केन्द्रिय कमिटी वा प्रदेश कमिटीले मन्त्रिपरिषद्को संख्यामा हेरफेर गर्न सक्ने अवस्था भने कायमै छ । १ सय १० जना प्रदेश सांसद रहेको यो प्रदेशमा ११ जनासम्म मन्त्री बन्न सक्छन्।

वाम गठबन्धनको सरकार रहेको यस प्रदेशमा प्रदेश मन्त्री बन्न खोज्नेको संख्या भने निकै रहेको बताइएको छ । १३ जिल्ला रहेको प्रदेशका नुवाकोट, चितवन, सिन्धुपाल्चोकलगायत प्रायः सबै जिल्लाका सांसदले मन्त्री बन्न चासो देखाएको स्रोतले जनाएको छ । मन्त्रीका दाबेदारहरू आ–आफ्नो पार्टीका केन्द्रीय कमिटी, प्रदेश कमिटी र संसदीय दलका नेतृत्वसँग विचार बिमर्शमा लागेका छन्।

मुख्यमन्त्री पौडेल र प्रदेश प्रमुख कोइराला राजधानी बाहिर रहेका बेला दुवै दलले मन्त्रिपरिषद्को संख्या र मन्त्रालय भागबण्डा गरेमा फागुनको तेस्रो साता विस्तार हुने सम्भावना रहेको छ । तर दुवै पार्टीमा मन्त्री हुने आकांक्षी धेरै भएमा अझपछि धकेलिन सक्ने सम्भावना धेरै छ।

माओवादी केन्द्रका ३ नम्बर प्रदेश संसदीय दलकी उपनेता एवं मकवानपुर निर्वाचन क्षेत्र २ (क) की सांसद कुमारी मोक्तान मन्त्री बन्ने चर्चामा छिन् । ‘मैले मन्त्रालय तोकेरै मागेको छैन,’ उनले भनिन्, ‘जुन मन्त्रालय दिए पनि प्रदेशको विकास लागि काम गर्न सक्छु ।’ माओवादीका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज उनले पार्टीमा तत्काल यसबारे छलफल नभएको दाबी गर्दै केन्द्रीय कमिटीले निर्णय गर्ने बताइन् । उनका अनुसार वाम गठबन्धनले प्रदेश ३ को मन्त्रिपरिषद् संख्या र सिट बाँडफाँटबारे निर्णय गर्न बाँकी नै छ।

माओवादीबाट १ पुरुष मन्त्री बनाइएकाले महिला र पदीय आधारमा पनि मोक्तानको सम्भावना बढी रहेको बताउँदै सांसद प्रेमबहादुर पुलामीले आफ्नो पनि दाबी प्रस्तुत गरे । ‘पार्टी र जनताका लागि गरेको काम, योगदान र अनुभवले मेरो पनि मन्त्रीका लागि माग छ ।’ पार्टीका पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला संयोजक उनले माओवादीका २३ जना प्रदेश सभासद्ले नै माग दाबी गर्न भने मिल्ने बताए।

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल आइतबार नियुक्त भएका थिए । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सोमबार पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । त्यसलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यभार सम्हालेका मुख्यमन्त्री पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री र एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधारमन्त्री भएका छन् । सोमबारै प्रदेश प्रमुख कोइरालाले सपथ ग्रहण गराएपछि दुबै मन्त्रीले कार्यभारसमेत सम्हालेका थिए।

प्रदेश सभामा एमालेको ५८, माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २१, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, र राप्रपा(प्रजातान्त्रिक)का १–१ जना सांसद रहेका छन् ।

मुख्यमन्त्रीसँग राजधानी साटेको छैन : पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदसँग राजधानी साटेको हल्ला निराधार र कपोलकल्पित भएको दाबी गरेका छन् । नेकपा एमाले मकवानपुरले हेटौंडामा बुधबार आयोजना गरेको स्वागत् तथा सम्मान कार्यक्रममा उनले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे। ‘मैले पदसँग राजधानी साटेको छैन, ढुक्क हुनुहोस्,’ उनले भने, ‘हल्लाको पछि लाग्न छाडेर अब बिकास गर्न एकजुट हुनुपर्छ ।’ पौडेलले प्रदेशलाई समृद्ध बनाउने अभियान सुरु भइसकेको भन्दै त्यसमा सहभागी हुन सबै पक्षलाई आग्रहसमेत गरे।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ हरेक हिसाबले सम्भावना भएको प्रदेश भएको बताउँदै ५ बर्षमा धेरै नमुना लायक काम गर्न सकिने बताए । उनले आफूलाई एमालेले विश्वास गरेर मुख्यमन्त्री बनाएको बताउँदै एमालेको सपना नै समृद्ध मुलुक निर्माण रहेकाले सपना पूरा गर्न आफु दिलोज्यान दिएर लागिपर्ने बताए । 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App