१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

प्रेम : मनभित्रको मौन मस्ती

जति अभियान र सरकारी प्रतिबद्धता जारी गरे पनि अनि कानुनमा कडाइ गरिए पनि महिलामाथि हुने गरेका विभिन्न खाले हिंसाका घटना कम भएका छैनन् । आजकाल हिंसाका समाचारहरूले धेरै नै स्थान पाएका छन् । नहोऊन् पनि कसरी, हिंसामुक्त समाजको निर्माण गर्न सकिन्छ भनेर हामी त्यता लागेकै छैनौँ । हिंसा व्यक्तिको मनस्थितिबाट सृजना हुने हुँदा सरकारी प्रतिबद्धता र लिखित कानुनले मात्र यसको रोकथाम या कमी हुने अपेक्षा गर्नु नतिजा नभएर अपेक्षा मात्रै हुनेछ, भइरहेको पनि छ । शारीरिक, मानसिक, आर्थिक, घरेलु, राजनीतिकलगायत हिंसाका अनेकन् रूप छन् । हिंसाका प्रकार र तरिका अलग अलग भए पनि अरूलाई चोट पुर्‍याएरै आफू सन्तुष्टि लिने प्रयास नै हिंसा हो । हिंसा पुरुषले महिलामाथि गर्छ या महिलाले पुरुषमाथि भन्दा पनि उक्त व्यक्तिको मनस्थिति र दृष्टि सही ठाउँमा केन्द्रित हुन नसक्नुको कारण हिंसा उत्पन्न हुन्छ । व्यक्ति आफूले चाहेर पक्कै हिंसा गर्दैन । जब उसका वासना र कामनाहरू पूरा हुँदैनन् तब ऊ मानसिक रूपमा विक्षिप्त हुन थाल्छ, बेहोसीमा पुग्छ र उसमा प्रेमको नाम निशाना हुँदैन अनि हिंसामा उत्रिन्छ । उसले होसमा आएर थाहा पाउँछ, मैले यो अपेक्षाका लागि हिंसामा नउत्रेको भए हुन्थ्यो। 

कसैको गल्तीमा मुस्कान छर्ने खुबी हो, प्रेम । तुफानपछिको शान्ति र गीतबिनाको संगीत हो, प्रेम । दिव्यताको अनुभूति हो प्रेम । शाश्वत सत्य हो प्रेम । जुन देखिँदैन, जुन लेखिँदैन, जसको हिसाब छैन, जसको खाता छैन, नाफा छैन, घाटा छैन, सिकायत छैन, ईष्र्या छैन । लोभ छैन, मोह छैन । प्रेममा स्वीकार छ, शान्ति छ । प्रेम मौन छ अनि त्यही मौनताभित्र संगीत छ । त्यही संगीत हो, प्रेम । चाँदनी रातको मधुर प्रकाशको दिव्यता हो, प्रेम । कलकल झरनाको छङछङ संगीत हो, प्रेम। 

यौनिक हिंसा ज्यादै नै बढेको छ, जसमा महिला र युवतीहरू यसको शिकार हुने गरेका छन् । आमा, दिदीबहिनी बराबरका महिलामाथि यौनिक हिंसा हुनु पक्कै पनि प्रेमपूर्ण र होसपूर्ण व्यक्तिद्वारा हुने कार्य होइन । देवी समान भनेर मानिने महिलामाथि हिंसा पु¥याउने प्रवृत्ति भने मानवरूपी दानव प्रवृत्ति हो । समाचार आउँछन्, प्रेममा धोखा खाएकाले हिंसार हत्या आदि । प्रेम कुनै गणित र लेनदेन होइन, धोखा खानुपर्ने । मानिस लिप्त हुन्छन्, वासना र काममा अनि नाम दिन्छन् प्रेमको र समाचार आउँछ, प्रेमकै कारणले हिंसा । प्रेमको नाममा बढ्दै गइरहेका हिंसाका रूपहरूले प्रेमकै अवमूल्यन भइरहेको छ । जहाँ समस्या छ, त्यहाँ उपाय पनि छ । त्यसैले हिंसामुक्त समाज र राष्ट्र हामीले चाहेको हो भने एक मात्र उपाय हो, चेतना जागरणका कार्यक्रम सर्वत्र र निरन्तर जारी गरिनु । चेतनाको स्तरबाट प्रेमपूर्ण र होसपूर्ण कसरी हुने, त्यो कला सिकाउन र सिक्न सके कुनै नियम, कानुन र अभियान आवश्यक पर्दैन । त्यसैले अहिंसा र प्रेमपूर्ण हुने कलाबारे अभियानलाई अब सशक्त बनाइनु पर्छ। 

बाहिरी शिक्षा र बाहिरी चेतनाले मात्र पुग्दो रहेनछ भन्ने उदाहरण बढ्दै गएका महिला हिंसाका उदाहरणले बताउँछन् । बाहिरबाट मनुष्यको आन्तरिक चेतनामा परिवर्तन आउँदैन । जति शैक्षिक स्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँदै गयो  त्यति हिंसाको प्रकृति बढ्दै गइरहेको छ । सुन्न, पढ्न र देख्नै नसक्ने प्रकृतिका हिंसाका घटना बढ्दै जानु जत्तिको अमानवीय कार्य अरू के होला ? यौन शोषण र महिला हिंसा आफ्नै परिवारबाटै हुने, आफ्नै छोरीमाथि हुने जस्ता पत्यार नै गर्न नसकिने घटना पनि नेपाली समाजमा हुने गरेको समाचार आउँछन् । यी सब घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अनि पुरुषप्रधान समाज कायम राख्न खोजिने अमानवीय प्रवृत्तिले मात्र बारम्बार दोहोरिरहेका छन् भनेर आरोप लगाउनुभन्दा प्रेमपूर्ण कसरी बन्ने भन्ने शिक्षा आजको आवश्यकता रहेको छ । समाजमा घट्ने हिंसाका कारण मनुष्यको चेतनामा खोज्नु जरुरी छ, मनुष्यको मनोविज्ञान भित्र खोजिनु जरुरी छ । त्यसभित्रको पीडा ठीक पार्न, भित्रको प्रेम जगाउन, भित्रको अहिंसाको स्वभावको बोधका लागि थोरै मात्रामा भए पनि आध्यात्मिक ज्ञानको जरुरी छ । जुन आध्यात्मिक ज्ञान मनुष्यको स्वभाव हो, त्यो जन्मँदै मनुष्यले लिएर आएको गुण हो । अध्यात्मले प्रेमको मार्ग मात्र प्रस्तुत गर्छ । आफ्नो स्वभावमा बाँच्न सिकाउँछ, स्वतःस्फूर्त मनुष्य आफ्नो उद्गम, आफ्नो स्वभावमा फर्कन्छ । भित्री चेतना खुलेको मनुष्य समाजले मात्र अहिंसात्मक क्रान्तिको सुरुवात गर्न सक्छ, जुन तथाकथित कागजी, कानुनी, हिंसाविरुद्धका अभियानभन्दा उच्च गुणको क्रान्ति हुन सक्छ।

हिंसामा जानुभन्दा सयौँ गुणा सहज छ, प्रेममा जिउन । प्रेमपूर्ण हुन कुनै गणित र मिहिनेतको जरुरी छैन र प्रेमले नै संसार जित्छ भन्ने शिक्षणको जरुरी छ । मानिसलाई सिधै हिंसामा नजाऊ भनेर मान्ने आधार र विश्वास तयार गर्नु जरुरी छ । त्यसका लागि सजिलो मध्यमा हो योग, ध्यान र सकारात्मक सोचका शिक्षण । ओशो भन्नुहुन्छ, “जीवन नै प्रेम हो । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होसपूर्ण हेर र भोग । अनि योगमा समाहित हुने कला जानेमा जीवन प्रेमपूर्ण बन्छ ।” अनुभव गर्न लायक कुनै कुरा छ त त्यही हो प्रेम । जीवनका सम्पूर्ण आयामहरूमा होस, जागरूकता र सजगता कायम छ भने त्यही हो प्रेम। 

प्रेमबाहेक अरू केही कुरा छ जीवनमा अपनाउन लायक ? प्रेमबाहेक केही चिज छ दिन लायक ? प्रेममा हिंसा होइन आनन्द र निःशब्द अनुभूति छ भनेर बोध गर्ने शिक्षाको कमीले हिंसा उत्पन्न हुने त हो । प्रेम हिंसा नभएर कसैमा देखिने सुन्दरता र अस्तित्वप्रतिको अहोभाव हो । सुन्दरता बाहिरी शारीरिक आकर्षण नभएर  भित्रबाट फुट्ने भावसहितको काव्य हो । शारीरिक आकर्षण र रूपभन्दा परको अस्तित्वगत आकर्षण हो प्रेम । धन, शब्द र अलंकारले सिँगार्न नसकिने गहिराइको अनुभूति हो प्रेम । प्रार्थना बनेर कसैप्रति शिर झुक्छ भने त्यही उपासना हो प्रेम । करुणा र सहयोगको माध्यमबाट कसैको जीवन उद्धार गर्छ भने त्यही करुणाको भाव हो प्रेम । कसैको गल्तीमा मुस्कान छर्ने खुबी हो प्रेम । तुफानपछिको शान्ति र गीतबिनाको संगीत हो प्रेम । दिव्यताको अनुभूति हो प्रेम । शाश्वत सत्य हो प्रेम । जुन देखिँदैन, जुन लेखिँदैन, जसको हिसाब छैन, जसको खाता छैन, नाफा छैन, घाटा छैन, सिकायत छैन, ईष्र्या छैन । लोभ छैन, मोह छैन, स्वीकार छ, शान्ति छ । मौन छ अनि मौनभित्र संगीत छ, त्यही हो प्रेम । चाँदनी रातको मधुर प्रकाशको दिव्यता हो प्रेम । कलकल झरनाको छङछङ संगीत हो, प्रेम । जति विशेषण जोडे पनि पूर्णता नदिने मनभित्रको मस्ती हो प्रेम। 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App