coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पशुपति विकास कोषको नाममा

पशुपतिनाथमा विगत वर्षभन्दा यस वर्ष फरक अनुभूति र अनुभव रह्यो । विगतमा सुरक्षाकर्मीहरूले लाइन व्यवस्थापनमा अलि ध्यान दिएको महसुस हुन्थ्यो । तर यस वर्ष भने यदाकदा सुरक्षाकर्मीहरू देखिन्थे र स्काउटका कपडा लगाएका साना भाइबहिनीहरू पनि यदाकदा देखिन्थे । एक जना बहिनीले करिब ३०÷४० जनालाई साइड लगाएर अनेक बहानाबाजी गरेर लाइनमा घुसाइन् । मेरै अगाडि एक हुल घुसेर मलाई थर्काइदिए । लाइन बसेको साढे ३ घण्टापश्चात् करिब ११ बजेतिर मन्दिर प्रवेश गर्न पाइयो। 

सुरक्षाकर्मीको अलि बाक्लो उपस्थिति थियो र उनीहरूको काम भने त्यहाँबाट लाइनमा नबसीकन ठूलो संख्यामा मानिसहरूलाई भित्र छिराउनमा ठूलो भूमिका थियो । हाम्रो लाइन अगाडि करिब ५० देखि ६० जना त मन्दिर परिसर भित्र छिर्दा नै प्रवेश गरे । सानो १० वर्षको छोरालाई लिएर लाइन बसेको मलाई धेरै रिस पनि उठेको थियो । छोरो धेरै ज्ञानी भएकाले बाबाको पछि र उसको ममीको अगाडि उभिएको छ । भगवान्को दर्शनका लागि त्यो पनि शिवरात्रि नै पारेर म जस्ता लाखौँ अनुयायीहरूले कम्तीमा पनि एक दुई पटक भोग्नुपरेको घटना हुन सक्छ । लाइनमा नै रहँदै मन्दिरको प्रवेश अगाडिको प्राङ्गण प्रवेश गर्ने बेलामा पुन स्काउटका साना भाइले ‘यो पास नलिई मन्दिर प्रवेश गर्न पाइँदैन’ भन्दै पास हातमा थमाइदिए। 

पशुपति विकास कोषका कर्मचारीहरू हो ! भक्तजनलाई थर्काउने तपाईंहरू को ? प्रहरी प्रशासन र स्वयंसेवकका नाममा हिँड्नेहरू पासको दुरुपयोग गर्दै मान्छे बीचमा छिराउने र आफू पनि लाइनमा नबसी दर्शन गर्ने कुकार्यका लागि प्रयोग भएका हौ ? होला धेरै स्वयंसेवक भाइबहिनीहरू अनुशासित रूपमा खटिइरहनु भएको थियो । उहाँहरूलाई श्री पशुपतिनाथले कल्याण गरून् । तर आफ्नो जिम्मेवारीभन्दा फरक उद्देश्यका लागि काम गर्नेहरूले भोलिका दिनमा थप ठूला समस्या निम्त्याउनेछन्। 

अर्को सहन कठिन अवस्था, जुन पिसाब फेर्ने ठाउँ कहीँ कतै व्यवस्था छैन । सानो छोरो बाबा पिसाब फेर्न पाए हुन्थ्यो भन्छ । विगतमा पनि यस्तै थिो । आज चाहिँ पानी परेकाले हो कि मलाई पनि पिसाबले अलि बढी नै च्यापेको थियो । उसको ममी पनि ठाउँको व्यवस्था भए जान हुन्थ्यो भन्दै थिइन् । तर सुलभ व्यवस्था थिएन। 

हे पशुपतिनाथ ! हामी सार्वजनिक शौचालय प्रयोग गर्दा जहाँ तहीँ पिसाब फेरेको ५ रुपियाँ तिर्न तयार छौँ । मिल्छ भने ५ रुपियाँमै शौचालयको व्यवस्था, मिल्दैन भने थप रकम लिएर भए पनि शौचालयको व्यवस्था मिलाइदिए हाम्रो परिवार जस्तै लाखौँ अनुयायीका लागि लामो समय लाइन बस्दा राहत मिल्ने थियो । लाइनमा बस्दाबस्दै त आफ्नो अगाडि विनासंकोच सयौँ मानिस प्रवेश गरे उनीहरूले त भर्खर पिसाब फेरेका होलान्, ठूलो स्वरमा हाँस्दैछन् । हामी निरीह भने मलिन अनुहारले उभिएका छौँ । 

स्वयंसेवक र सुरक्षाकर्मी देख्दा पनि रिस उठेको अवस्थामा दर्शनका लागि गएका हामीलाई श्री पशुपतिनाथले हाम्रो दुःख बुझेर स्याबासी दिनुभए त आभारी हुने थियौँ । होइन, माथिबाट श्री पशुपतिनाथले नै मूर्ख रहेछस् भन्नुभए अझै दुःखी बन्नु सिवाय केही रहेन । कान्छो छोरालाई विगत ५ वर्षदेखि सँगै लिएर हिँडेकामा सधैँ खुसी हुने गरेकामा यस पटक अलि नमज्जा महसुस भएको छ । मलिन अनुहारले बाबा पिसाव फेर्न पाए हुन्थ्यो भनेको मात्र कानमा गुन्जिरहेको छ । 
पशुपति विकास कोषका महाजनहरूले लाइन व्यवस्थापनका लागि काम गर्नुहोला । पशुपति विकास कोषका नामा पशुपति विनाश गर्ने काम नगरौँ । पशुपतिनाथले यहाँहरूको रक्षा गरून् । जय शम्भो !

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App