८ वैशाख २०८१ शनिबार
अन्य

‘काठमाडौंवासीको स्वभाव मायालु लाग्छ’

मेलिना मानन्धर, अभिनेत्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै प्यारो लाग्छ । किनकि म यही सहरमा जन्मेँ र यही सहरबाट करिअर सुरु गरेकी हुँ । काठमाडौंकै कारण मैले आफूलाई चिनाउन पाएँ । यो सहर मेरो मनमा सजिएको छ । उपत्यकाको वरिपरि देखिने डाँडाकाँडा हरियाली, मिलेका पुराना बस्ती र संस्कृति पनि अति राम्रो लाग्छ । अरु देशका सहरवासी हेरीकन काठमाडौंवासीको स्वभाव मायालु लाग्छ ।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर भन्नेबित्तिकै व्यवस्थित, शान्त र सुविधायुक्त हुनुपर्छ । सहरका हरेक चोक सुरक्षित हुनुपर्छ । सहरभित्र निर्धक्क भएर हिँड्न सक्ने वातावरण हुनुपर्छ । सबैखाले सुविधा भएनन् भने त्यसलाई सहर भन्न सुहाउँदैन । जब नागरिकले सहरमा छु भन्ने महसुस गर्न सक्छन्, बल्ल हामीले सहर पनि व्यवस्थित छ भन्ने बुझ्छौँ । यी पक्षलाई हेर्दा भने पछि छौँ जस्तो लाग्छ ।
के कुरामा हामी पछि पर्यौँ ?
हरेक कुरामा पछि छौँ । अरु देशका सहर हेरीकन हाम्रा देशका सहर धेरै अव्यवस्थित र भद्रगोल लाग्छन् । सहरमा सुविधाभन्दा असुविधा धेरै छन् । आमनागरिकले सास्ती खेप्नुपरेको छ । यसमा मुख्य दोषी सरकार नै देखिन्छ । किनकि सहरको विकासका लागि सरकार वा काम गर्ने निकाय बलियो र चुस्त हुनुपर्छ ।
काठमाडौं कस्तो लाग्छ ?
मैले अघि नै भनेँ मेरो जन्म यहीँ भएको हो । मैले आफूलाई यही सहरबाट चिनाउन पाएँ । म सानी छँदा काठमाडौं धेरै राम्रो थियो । अहिलेजस्तो भद्रगोल र कोलाहल कतै थिएन । देशैभरका मानिस आउने क्रम बढ्दै गयो, तर सरकारले त्यही किसिमले विकासका काम सञ्चालन गरेन । सहरमा बस्नेहरू फाइदाको निम्ति मात्रै काम गर्ने भए ।

काठमाडौंको कुन पक्ष राम्रो लाग्छ ?
काठमाडौं सबै समुदायको फूलबारी हो । यहाँ देशैभरका मानिस अटेका छन् । कैयौँले रोजगार पाएका छन् । यहाँ हरेकखालको सुविधा पाइन्छ । प्राकृतिक र सांस्कृतिक रूपमा उपत्यका अग्रणी स्थानमा छ । यहाँको मौसम पनि सदावहार छ । प्रदूषण र अव्यवस्थित विकास निर्माणले यसलाई कुरूप बनाएको हो । सरकारले धुवाँधुलो रोकथाम र ट्राफिक जामलाई केन्द्रमा राखेर काम गर्ने हो भने सहर अलि व्यवस्थित हुन्थ्यो होला ।

काठमाडौैं किन अव्यवस्थित भएको होला ?
समयमै विकास निर्माणका काम नगर्नु र हरेक ठाउँमा घुस खाने प्रवृत्तिले बिग्रिएको सहर हो, काठमाडौं । यहाँ सत्तामा हुनेले राजनीतिक खेल देखाइरहेका छन् । कोही पनि सहरको विकासबारे गम्भीर भएर लागेनन् । सबैले आफ्नो जिम्मेवारी टार्नेतर्फ मात्रै ध्यान दिए । यो मेरो सहर हो, यसलाई मैले बनाउनुपर्छ भनेर लागेको भए सहर धेरै राम्रो हुने थियो । उपत्यकालाई बनाउनका लागि सरकारले सडक विस्तार, धुवाँधुलो, ट्राफिक जामलगायत विषयलाई  केन्द्रमा राखेर काम गर्नुपर्छ ।

तपाईंको सपनाको सहर कस्तो होला ?
मेरो सपनाको सहर स्वच्छ, हराभरा, सुविधायुक्त होस् । सहरमा कुनै खाले असुविधा नहोस् । सहरवासी सबैले सहरमा समान स्थान पाऊन् । सहरका सबै अधिकार खोज्न नेताहरूको पछि लाग्न नपरोस् । सबैले स्वतन्त्र जीवन जिउन सकून् । कतै पनि प्रदूषण नदेखियोस्, सरकारी सुविधामा नागरिकले सास्ती खेप्न नपरोस् ।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
जापान, हङकङ, जर्मन, मलेसिया लगायत १० भन्दा बढी देशका सहर घुमेकी छु । बाहिरी मुलुकका हरेक सहर सुन्दर र आकर्षक छन् ।

तीमध्ये धेरै मनपरेको सहर कुन हो ?
मलाई सिंगापुर धेरै राम्रो लाग्यो । यो ठाउँ धेरैको सपनाको सहर पनि हो । सिंगापुर हेर्दै मनमोहक र सुन्दर लाग्छ । सहरमा हरेक कुरा नयाँ लाग्छन् । सिंगापुर घुम्दा आनन्द आउँछ । कतै फोहोर देखिन्न । विदेशका सहरको आधुनिक विकासको पक्ष राम्रो छ ।

पछिल्लो समय कुन ठाउँ घुम्नु भयो ?
दोलखाको कालिञ्चोक गएकी थिएँ । त्यहाँको हिउँ हेर्न पाउँदा रमाइलो लाग्यो ।
तपाईंले घुमेका विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
हाम्रा सहरमा हरेक कुराको हाहाकार छ । सामान्य नागरिकलाई सहरमा बाँच्नै नसक्ने गरी महँगी बढेको छ । खानेपानी सुविधा छैन । रोजगार छैन ।  विदेशका सहरमा यस्तो अवस्था छैन । हरेक नागरिकले रोजगार पाएका हुन्छन् । प्राकृतिक सौन्दर्य र मौलिकतालाई हेर्ने हो भने हाम्रा सहर अग्रपंक्तिमा छन् ।

काठमाडौंको मननपर्ने पक्ष के हुन् ?
प्रदूषण र ट्राफिक जाम नै मनपर्दैन ।

मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार छ । पुराना संस्कृति, परम्परा र दरबार क्षेत्रलाई हेर्दा पनि उपत्यका राम्रो लाग्छ ।
सहरको मनपर्ने खानेकुरा के हो ?
सबैखाले खानेकुरा राम्रो लाग्छ ।
उपत्यकाभित्रै कतै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
खासै हिँड्ने बानी छैन । फेरि उपत्यकाभित्र घुम्न लायक ठाउँ पनि त्यति छैनन् ।सहरवासीको बानी–व्यवहार कस्तो लाग्छ ?
सहरको विकासप्रति सहरवासी उत्तरदायी छैनन् । सबैले आफूखुसी फोहोर फाल्छन् । आफ्ना कारणले सहर बिग्रन्छ भन्ने कसैले हेक्का राख्दैनन् । सहरवासी उत्तरदायी भइदिएको भए सहर यति अस्तव्यस्त र भद्रगोल हुँदैनथ्यो ।
मन भएर पनि घुम्न नपाएको ठाउँ कुन हो ?
मलाई जोमसोम घुम्न मन छ । समय मिल्यो भने त्यहाँ पनि छिटै पुग्छु ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App