८ वैशाख २०८१ शनिबार
अन्य

ल्होछारका परिकार

नेपालका तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार । सोनाम ल्होछारमा तामाङ समुदायले विभिन्न परिकार बनाएर खान्छन् । ल्होछारमा खाइने परिकार

खाप्से
मैदाको पिठो, दूध, घिउ, चिनी मिसाएर मुछी विभिन्न आकारमा तेलमा तारेर बनाइने परिकार हो, खाप्से । यो परिकारलाई ल्होछारको प्रसादका रूपमा लिइन्छ । ल्होछारमा पूजा गरेपछि खाप्से प्रसादका रूपमा खाने उर्मिला तामाङ बताउँछिन् ।
 
कन्दमूल परिकार
कन्दमूलको परिकारमा सखरखण्ड, तरुल, पाकेको फर्सीलगायत हुन्छन् । बौद्धका रञ्जित लामा कन्दमूलका परिकार शुद्ध र स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । ‘जाडोको अन्त्यमा आउने ल्होछार पर्वमा शरीरलाई न्यानो बनाउने विश्वासका साथ कन्दमूलका परिकारले खाने चलन छ,’ उनी भन्छन्, ‘तर अहिलेका बजारिया खानाले कन्दमूलका परिकारलाई प्रतिस्थापन गरेको छ । ’

आलुम
आलुम फापरको पिठोबाट बनाइने परिकार हो । यो ल्होछारमा मात्रै बनाइने सञ्चारकर्मी सञ्चु ब्लोन तामाङ बताउँछिन् । ल्होछारमा प्रत्येक वर्ष ल्हो (वर्ग) फेरिन्छ । ल्हो १२ वटा जीवजन्तुको नामबाट राखिएको हुन्छ । ल्हो फेरिँदा जुन जीव पर्छ, आलुम बनाउँदा त्यसैको सांकेतिक रूप बनाइने उनी बताउँछिन् । ‘यो वर्ष कुकुर वर्ग परेको छ, एउटा आलुम कुकुरको आकारमा बनाउनुपर्छ,’ उनले भनिन् । फापरको पिठोलाई पानीमा मुछी पानीमा उमालेर पकाइन्छ । ल्होछारको मुख्य खानाभित्र आलुम पर्ने उनको भनाइ छ ।

बाबरी
चामल र मैदाको पिठोबाट बनाइने एक प्रकारको तामाङ परिकार हो, बाबरी । पिठोलाई गोलाकार बनाएर तेलमा फुराएर बाबरी बनाइन्छ । ल्होछारमा खाने मुख्य परिकारमा बाबरी पर्ने सञ्चारकर्मी तामाङ बताउँछिन् ।

फुरौला
फापरको पिठो गिलो पारी तेलमा फुराएर बनाइने एक प्रकारको परिकार हो । फुरौलाको आकार आफ्नो इच्छानुसार बनाउन सकिन्छ ।

गुन्दु्रकका परिकार
तामाङ समुदायमा गुन्द्रुकको परिकारलाई पनि विशेष रूपमा लिइन्छ । गुन्दु्रकको अचार, गुन्द्रुक साँधेको, गुन्द्रुकको तरकारीलगायत बनाएर खाने चलन रहेको सञ्चारकर्मी तामाङ बताउँछिन् । ल्होछारमा तयार पारिने परिकारको सूचीमा गुन्द्रुकको परिकार प्राथमिकतामा पर्ने उनले बताइन् ।
आलुको अचार
आलुको अचार ल्होछारमा नभई नहुने परिकार हो । आलुमा आफ्नो इच्छानुसार गेडागुडी, मुला, लप्सी, तिललगायत मिसाएर अचार बनाइन्छ । आलुको अचारले खानाका परिकारमा अझ बढी मिठास थप्ने उनी बताउँछिन् ।
स्याबले
राजधानीका रेस्टुरेन्ट र क्याफेमा खाजाको रूपमा खाइने स्याबले ल्होछारको परिकारमा पर्नेे रञ्जित लामा बताउँछन् । लामाका अनुसार गहुँु वा मैदाको पिठो मुछेर बीचमा मासु राखिन्छ र त्यसलाई तेलमा तारेपछि स्याबले तयार हुन्छ । साकाहारीका लागि मासुको सट्टा सब्जी राखेर बनाउन सकिने उनी बताउँछन् ।
ढिँडो
फापर, कोदो, मकै, गहुँलगायत विभिन्न खाद्यान्नको पिठोबाट ढिँडो बनाइन्छ । ढिँडो तामाङ समुदायको प्रिय खाना भएको लामाले बताए । ल्होछारमा अन्य परिकारजस्तै ढिँडो बनाएर खाने प्रचलन रहेको उनी बताउँछन् ।
मासु
ल्होछारमा मासुको विभिन्न परिकार बनाएर खाने गरिन्छ । विशेषगरी लोकल कुखुराको झोल खाने चलन रहेको लामा बताउँछन् । कुखुरा, खसीलगायत मासुका विभिन्न परिकार समेत ल्होछारमा खाने प्रचलन छ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App