७ वैशाख २०८१ शुक्रबार
अन्य

ल्होछार पहिरन

कीर्तिपुरकी उर्मिला तामाङ यो वर्षको ल्होछार मनाउन निकै उत्साही छन् । सोनाम ल्होछारमा उनी तामाङ समुदायको पोसाकमा सजिने योजनामा छन् । ‘हामी तामाङ समुदायको नयाँ वर्ष हो ल्होछार, निकै रमाइलो गरेर मनाउँछौँ,’ उनले भनिन् । तामाङ पहिरन स्यामा (लुंगी), आंग्रे (चोली), केई (पटुकी), थोप्कु (गम्छा), पागी (टोपी) मा सजिने योजनामा रहेको उनले बताइन् । ‘गरगहनामा कानमा चेप्टे सुन, घाँटीमा जन्तर, हरियो पोते लगाउनेछु,’ उनले भनिन् ।

यसपालि तामाङ समुदायले मनाउने सोनाम र शेर्पा समुदायले मनाउने ग्याल्पो एउटै तिथिमा परेको छ ।
सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको छ । यो पर्वमा तामाङ समुदायले घर सरसफाइ गर्छन् । घर–परिवार, आफन्तसँग भेटघाट गर्छन् । ‘हामी तामाङले बुद्धलाई मान्छौँ, बिहान नुहाइधुवाइ गरी बुद्धलाई दियो (बत्ती) बालेर पूजा गर्छौं,’ उनले भनिन् । ल्होछारको दिन घरमा होम, पूजा राख्नाले घरको ग्रहदशा हट्ने विश्वास रहेको उनी बताउँछिन् । ‘ल्होछारको दिन खाप्से बनाएर देउतालाई चढाउँछौँ । त्यसपछि तामाङको अन्य परिकार बनाएर सबै परिवारका साथ रमाइलोसँग खान्छौँ,’ उनले भनिन् ।

रञ्जित लामा तामाङ गोइलो सपका सञ्चालक हुन् । ग्याल्पो ल्होछारको अवसरमा उनी थेंगा (आस्कोट), तोङसर (कमिज), कङ्सुर (हाफ कोट), तागी (टोपी), कानमा वीरबल रिङ लगाउने योजनामा उनी छन् । ‘सोनाम ल्होछारमा तामाङको पोसाकमा सजिएर, साथीभाइ जमघट भएर तामाङका परिकार खाएर  मनाउने विचारमा छु,’ उनले भने ।

तामाङका मौलिकतालाई बचाउने हेतुले ल्होछारलाई आपसी भाइचाराका साथ मनाउने उनले बताए । तामाङका परिकार लोप अवस्थामा रहेको र विश्व बजारमा प्रचार गर्न नसकेकामा उनले चिन्ता व्यक्त गरे । ‘हरेक वर्ष टुँडिखेलमा जम्मा भएर एकआपसमा शुभकामना आदान–प्रदान गरेर मनाउन पाउँदा निकै रमाइलो महसुस हुन्छ,’ उनले भने ।

डोमी शेर्पा यसपालिको ग्याल्पो ल्होछारमा बक्खु, घाँटीमा मुगाको (भ्युरी), शिरमा टोपी लगाउने योजनामा छन् । ‘ल्होछारमा आफन्त सबैसँग भेटघाट गरेर, थुप्रै परिकार खाएर मनाउने जमर्कोमा छु,’ उनले भनिन् । बुद्ध भगवान्को पूजा गर्नुभन्दा अघि लुङ्दर फेर्ने चलन रहेको उनी बताउँछिन् । ल्होछारमा चेलीबेटीलाई माइतीले बोलाएर मीठा परिकार खाएर मनाउने चलन रहेको उनी बताउँछिन् । पूजा गरेर खासी चढाएर मात्र अन्य खाना खाने प्रचलन रहेको उनी बताउँछिन् ।

स्वयम्भूकी शान्ति लामा यो वर्षको ल्होछारमा लुंगी, मखमलको चोली र पछ्यौरीमा सजिने योजनामा  छन् । ‘कानमा चेप्टे सुन, शिरमा मारम्हेन्दो (शिरफूल), गलामा पैसेमाला र नारिल (पोेते) लगाउनेछु,’ उनले भनिन्, ‘ल्होछार हाम्रा लागि नयाँ वर्ष हो, यो दिन सानो धजो भए पनि नयाँ लगाउनुपर्छ भन्ने मान्यता छ ।’

बुद्धको पूजापछि घरमूलीले चम्पाको पिठो (जौ, गहुँ लगायत अन्नको पिठो मिसाइएको) टीकाको रूपमा निधारमा लगाउने चलन रहेको उनी बताउँछिन् । ‘घरवरिपरि चम्पाको पिठो छर्कने चलन पनि छ, यसो गर्दा सुख–शान्ति हुने विश्वास छ,’ उनले भनिन् ।

 

 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App