६ वैशाख २०८१ बिहीबार
अन्य

पर्यटन नगरी विकास गर्ने अभियान

अघिल्लो बिहीबार स्वयम्भू महाचैत्यमाथि बिहानै नेपालको झण्डा अंकित ठूलो बेलुन उडाइयो । बेलुन नेपाल मण्डल पर्यटन नगरी महोत्सवको उद्घाटन स्वरूप उडाइएको थियो । तीन महिनासम्म चल्ने महोत्सव आगामी वैशाखसम्म विभिन्न चरणमा सम्पन्न हुँदै छ ।

महोत्सव सञ्चालनका लागि ‘नेपाल मण्डल पर्यटन नगरी महोत्सव आयोजक समिति’ गठन गरिएको छ । समितिका अनुसार महोत्सव नेपाल मण्डल पर्यटन नगरीको विकासका लागि थालिएको अभियान हो ।
ऐतिहासिक नेपाल मण्डल सांस्कृतिक सम्पन्नताको नमुना हो । नेपालका अधिकांश विश्व सम्पदा यही उपत्यकामा छ । सरकार यिनै विश्व सम्पदालाई देखाएर वर्षेनी लाखौं पर्यटक उपत्यका बोलाइरहँदा नेपाल मण्डलका अविच्छिन्न भागका रूपमा रहेका उपत्यकाभन्दा उच्च क्षेत्रका सम्पदाहरू सधैं ओझेल पर्दै आएका छन् ।

काठमाडौं उपत्यका कंक्रिटको जंगल र मानिसको चापले गल्दै गर्दा वरपरका डाँडा र बस्तीहरूले पर्यटनमा आफूलाई उपत्यकाको विकल्पका रूपमा विकास गर्न खोज्दै छ । चक्रपथ बाहिरका स्थानीयले आफ्नो क्षेत्रलाई पर्यटन नगरीका रूपमा स्थापित गर्न अभियानका रूपमा अघि बढाएका छन् ।
कसरी सञ्चालन हुँदैछ महोत्सव ?
अन्य महोत्सवहरू जस्तो एकै ठाउँमा निश्चित समयका लागि हुने महोत्सव होइन यो । महोत्सवका लागि सम्बन्धित ठाउँका स्थानीयले आ–आफ्नै क्षेत्रको अनुकूलता अनुसार कार्यक्रम आयोजना गर्ने छन् । ‘स्थानीय स्रोतकै परिचालन गरी स्थानीयले नै कार्यक्रम आयोजना गर्ने छन्,’ सदस्य–सचिव श्रेष्ठ भन्छन्, ‘स्थानीय सम्भावना अनुसार नै कार्यक्रम बनाइन्छन् । सम्बन्धित ठाउँको पर्यटनबाट त्यस ठाउँकै मानिसले समृद्धि हेर्न पाइयोस् भन्ने उद्देश्य हो ।’

महोत्सव अन्तर्गत फागुन पहिलो हप्ता जामाचोमा फोटो पत्रकारको भेला आयोजना गरिने छ । जामाचोबाट निकै सुन्दर फोटो खिँच्न सकिने भएकोले जामाचोलाई पदयात्रा र दृश्यावलोकनको स्थानको रूपमा विकास गर्न सकिने आयोजकको आशा हो । फागुनको पहिलो हप्ता नै शिवरात्रिका दिन शिवपुरी म्याराथुन दौड आयोजना गरिने छ ।

फागुन दोस्रो हप्ता नेपाल मण्डल अध्ययन भ्रमण गरिने छ । यो भ्रमण नौ दिनको हुने आयोजकले जनाएको छ । नेपाल मण्डल पर्यटन नगरीभित्र पर्ने क्षेत्रमा साइकल यात्रा गरिने छ । यसमा साइकल यात्राका लागि इच्छुक जो कोहीले भाग लिन पाउँछन् ।फागुन तेस्रो हप्ता ककनीमा होमस्टे तालिम आयोजना गरिने छ । यसको आयोजना शिवपुरी ककनी पर्यटन नगरीले आयोजना गर्ने समिति सदस्य शोभामाया तामाङले बताइन् । फागुनको चौथो हप्ता भने पशुपतिमा पाहाचह्रे घोडेजात्रा आयोजना गरिने छ ।

चैत पहिलो हप्ता फूलचोकीमा साहित्य सम्मेलन आयोजना गरिने छ । यसको आयोजना फूलचोकी लाकुरीभञ्ज्याङ पर्यटन नगरीले आयोजना गर्ने छ । त्यस्तै चैत दोस्रो हप्ता चन्द्रागिरीमा टिष्टा काँगडा आर्ट सम्मेलन आयोजना गरिने आयोजकले बताएको छ, जहाँ स्थानीयले पर्यटन प्रवद्र्धनका अन्य परियोजना पनि लागू गर्ने तयारी गर्दैछन् ।

चैतको तेस्रो हप्ता महोत्सव पुग्नेछ, शिवपुरी । गोकर्ण–शिवपुरी केबलकार निर्माणका लागि त्यहाँ महायज्ञ गरिनेछ । वैशाख पहिलो हप्ता स्वयम्भू, बौद्ध, नमोबुद्ध शान्ति मोटरसाइकल र्याली र चिसापानी–गोसाइकुण्ड हेलिकोप्टर यात्रा गरी नगरकोटमा पर्यटन महोत्सवको समापन गरिने बताइएको छ ।
पहिलोपटक गर्न लागिएको यो महोत्सव अब वर्षेपिच्छे हुने आयोजकले जनाएको छ । महोत्सवका लागि एक करोड १५ लाखको लागत अनुमान आयोजकले गरेको छ । सम्बन्धित पर्यटन नगरीको स्थानीय तह, नागरिक, व्यवसायीको पहलमा स्रोत व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
नेपाल मण्डलका पाँच पर्यटन नगरी
नेपाल मण्डलअन्तर्गत पाँच वटा पर्यटन नगरी स्थानीयकै पहलमा प्रवद्र्धन गरिने भनिएको छ । काठमाडौंको स्वयम्भू महाचैत्यलाई केन्द्रमा राखी उपत्यका वरपरका विभिन्न गाउँ समेटेर ती नगरीको अवधारणा बनाइएको छ ।  

चन्द्रागिरी चम्पादेवी पर्यटन नगरीले नागढुङ्गा, छैमले, वाणभञ्ज्याङ, चितलाङ, टिष्टुङ, पालुङ, थानकोट, देउराली, मच्छेगाउँ, कीर्तिपुर, चोभार, फर्पिङ, यङकीदहसम्मको भू–भागलाई समेटेको छ । यसअन्तर्गत ७ हजार नौ सय ५० फिटमा अवस्थित चन्द्रागिरी, केबलकार भालेश्वर महादेव, बुद्ध स्तूप र चैत्यलाङ मार्ग छन् ।

त्यस्तै, फूलचोकी लाकुरी भञ्ज्याङ पर्यटन नगरी नाम दिइएको भू–भागले भट्टेडाँडा, बुङमति, खोकना, देवीचौर, भुसेलडाँडा, दहचोक, नल्लु, लेले, कोडभञ्ज्याङ, रिसर, रानीकोटगढी, पोखरे थुम्का, पञ्चलिङ्ग, घ्याम्पे डाँडा, चैचलडाँडा, पाटी भञ्ज्याङलाई समेटेको छ । यो नगरीमा ९ हजार ७३ फिटको फूलचोकी डाँडा पर्यटकका लागि राम्रो गन्तव्य मानिँदै आएको छ । यही नगरीमा पर्ने गोदावरी डाँडालाई विश्वंभू बुद्ध र फुचोमाजु (मञ्जुश्री) ले ध्यान गरेर सिद्ध भएको पीठका रूपमा मानिन्छ ।नगरकोट जरसिंहपौवा पर्यटन नगरीमा ५ हजार ९ सय ३३ फिट उचाइमा रहेको नगरकोट क्षेत्र पर्छ । नगकोटलाई मञ्जुश्री र उनकी पत्नी सरस्वती ल्हासा प्रस्थान गर्दा बास बसेको स्थानको रुपमा समेत लिइने नेपाल मण्डल पर्यटन नगरी महोत्सव आयोजक समितिका सदस्य सचिव पदम श्रेष्ठ बताउँछन् ।

नगरकोट जरसिंहपौवा नगरीमै पर्छ, मणिचुड दह, जुन ७२ सय फिट उचाइमा रहेको छ । यस स्थानमा बोचिसत्व मणिचुड महाराजले बज्रयोगिनीको आदिभूमि साँखुबासीलाई रोगबाट बचाउन आफ्नो शीरको मणिमस्तक काटेर दान गरेको जनविश्वास छ । बोधिसत्व मणिचुडलाई भगवान बुद्धको पूर्व अवतार समेत मानिने श्रेष्ठ बताउँछन् । नगरकोट जरसिंहपौवा पर्यटन नगरीले साँगा भञ्ज्याङ, बनेपा, धुलिखेल, पनौती, कलमसी, चाँगुनारायण, भट्टे डाँडा, नाङलुँ, थानाभञ्ज्याङ, जरसिंहपौवा, लप्सीफेदी, नाङलेभारै, चौकीभञ्ज्याङ, कात्तिके भञ्ज्याङ, चिसापानीदेखि मेलम्चीसम्म समेट्छ ।

त्यस्तै, शिवपुरी ककनी पर्यटन नगरीअन्तर्गत झुलेडाँडा, मणिचुँड, बज्रयोगिनी, गागलफेदी, मुलखर्क, पोखरेली, चिलाउने, तारेभीर, सुन्दरीजल, शिवपुरी, गोकर्ण रिमिकोट, बुढानिलकण्ठ, खड्ग चपली भद्रकाली, गुरुजु भञ्ज्याङ, भोर महांकाल, टोखा, कल्लेडाँडा, तारकेश्वर, मनमैजु, जीतपुर, धर्मस्थली, गोलढुङ र ककनी पर्छन् । शिवपुरीलाई ककुछन्द बुद्धले स्थानीयलाई बुद्ध धर्ममा दीक्षित गराएको स्थानका रूपमा मानिने श्रेष्ठले बताए ।

जामाचो यङ्कीदह पर्यटन नगरी नागार्जुन पहाडको आसपास क्षेत्रमा पर्छ । बोधिसत्व नागार्जुनको नामबाट यो पहाडको नाम रहेको बताइन्छ । नागार्जुनले बज्रयान ध्यानलाई प्रवद्र्धन गरेका थिए । ६ हजार ३ सय ३० फिट उचाइको जामाचो पहाडमा जामाचो मेला पनि लाग्छ । यो क्षेत्र पदयात्राका लागि समेत लोकप्रिय हुने क्रममा छ । यसले मुडकुगढी, बालाजु, नागार्जुन, इचङगु, स्वयम्भू, इनडाँडा, भीमढुङ्गा, रामकोट, बतासेडाँडा, कीटिन भञ्ज्याङ, बलम्बु र दहचोकलाई समेटेको छ ।

प्रवद्र्धन र पूर्वाधार सँगसँगै
उपत्यका वरपरका डाँडा अनि बस्तीमा कति लुप्त सम्पदा त्यसै बिर्सिएर जाने अवस्थामा छन् । कति पहिचान भएका सम्पदा पनि प्रचारप्रसार अभावमा लुप्तझैं छन् । ती सम्पदाको प्रवद्र्धन गरी फाइदा उठाउने विषयमा आजसम्म न सरकारको ध्यान गयो, न त स्थानीय जनताले नै सोचे । अब यिनै सम्पदाको खोजी र प्रचारप्रसार यो अभियानले गर्ने सदस्य सचिव श्रेष्ठले बताए ।

यो अभियान अन्तर्गत सम्पदा र सम्भावनाको खोजी गरिनेछ । त्यसैअनुसार पर्यटनको विकासका लागि पूर्वाधारहरु बनाइने उनी बताउँछन् । यस अभियानले केही काम गरिसकेको पनि छ । चन्द्रागिरी चम्पादेवी पर्यटन नगरीमा पर्ने थानकोटमा टिष्टा काँगडा पार्क बनाउने योजना रहेको छ । त्यस्तै दहचोकमा नेपाल एकीकरणका सेना नायक कालु पाँडेको चिहान को प्रवद्र्धन गरिनेछ । यहाँबाट गोरखाको मनकामना समेत देखिने स्थानीय बताउँछन् । पूरातत्व विभागले इन्द्र दहको पुनर्निर्माण पनि सुरु गरेको छ ।

शिवपुरी ककनी नगरीअन्तर्गत नुवाकोटको ककनीमा शोभामाया तामाङले होमस्टे सञ्चालनमा ल्याएकी छन् । ककनीमा अर्गानिक कृषि र कृषि पर्यटनको प्रवद्र्धनका लागि थप होमस्टेको विकासका लागि काम गर्ने आयोजकले बताएको छ । त्यस्तै चित्लाङ, टिष्टुङ, पालुङमा कृषि पर्यटनको अवधारणाअनुसार एक दिन एक रातको प्याकेज प्रवद्र्धन गरिएको छ । यसको संयोजन चन्द्रागिरी चम्पादेवी पर्यटन नगरीका विनोद महर्जनले गरेका छन् ।

फूलचोकी लाकुरी भञ्ज्याङ पर्यटन नगरीमा बनाइएको नल्लु पाथीभरा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ । नल्लुमा बनेको पाथीभरामा शनिबार र मंगलबार त मैला नै लाग्छ । यहाँबाट उठेको रकमले स्थानीय महिलालाई व्यावसायिक सीपमूलक तालिम दिने र बालबालिकालाई पढाउने योजना रहेको फूलचोकी लाकुरी भञ्ज्याङ पर्यटन नगरीका लागि प्रतिनिधिले बताएका छन् । अभियानअन्तर्गत नै संखु लेलेमा गुम्बा निर्माण गर्न लागिएको छ । त्यस्तै विभिन्न स्थानका सुटिङ स्थलहरू बनाउने योजना स्थानीयले बनाइएको श्रेष्ठले बताए ।

यसरी संरचना र पूर्वाधार बनाउन प्रकृति नबिगारी स्थानीयको अग्राधिकारको सुनिश्चितता हुने गरी बनाइने श्रेष्ठ बताउँछन् । त्यस्तै पुराना र ओझेलमा परेका सम्पदाको खोजी गरी तिनको प्रचारप्रसार गरिने उनको भनाइ छ । केन्द्रीकृत विकासका कारण राजधानी वरपरको पर्यटन विकास हुन नसकको उनी बताउँछन् । त्यसैले विकासको विकेन्द्रीत व्यवस्थापन गर्न स्थानीय नै जागरुक हुनुपर्ने निष्कर्षका पर्यटन नगरीको अवधारणा ल्याइएको हो । सम्बन्धित स्थानका जनप्रतिनिधि र स्थानीयको पहलमा पर्यटन नगरीको विकासको अवधारणा अघि सारिएको श्रेष्ठ बताउँछन् ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App