८ वैशाख २०८१ शनिबार
शिक्षा

नेपालयले ‘कविशिरोमणि रचनावली’ बजारमा ल्याउँदै

काठमाण्डौ– पब्लिकेशन्स नेपालयले कवि शिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण सृजनाहरु समावेश गर्दै ‘कविशिरोमणि रचनावली’ प्रकाशन गरेको छ । पाँच भागमा संगालिएको रचना संग्रह कवि शिरोमणिको निधन भएको फागुन ७ को पुण्यमिति पारेर सार्वजनिक हुने भएको छ । कविशिरोमणि लेखनाथको देहावसान २०२२ फागुन ७ गते भएको थियो।

वि. सं. १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मिएका कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली साहित्यका एक शीर्ष साधक हुन् । पौड्याल नेपाली पद्य साहित्यमा शास्त्रियता र दर्शनलाई कलापूर्ण, सरल र सरस तरिकाले प्रस्तुत गर्ने सिपका अगुवा कवि मानिन्छन् । सँस्कृत भाषाको पृष्ठभूमिमा हुर्किएर पनि नेपाली भाषाको काव्य सृजनालाई आधुनिक युगमा प्रवेश गराउने कामको आरम्भ लेखनाथबाटै भएको मानिन्छ ।

कविशिरोमणि लेखनाथलाई परिष्कारवादी धाराका प्रणेता पनि मानिन्छ । यी कविले आफ्ना प्रकाशित कृतिलाई समेत पुनःपरिमार्जित गर्ने गरेको पाइन्छ । कविशिरोमणिका ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य—सन्देश’, ‘गौंथलीको चिरिबिरि’, ‘जीवन—चङ्गा’ जस्ता अनेकौं रचनाहरू आम पाठकका बीच पनि लोकप्रिय रहेका सृजनाहरू हुन् । उनका कतिपय कविताका हरफहरू त लोकोक्ति बनेर समेत फैलिएका छन् । 

कालिदास र मैथलिशरण गुप्तालाई मन पराउने कविशिरोमणि लेखनाथ पौड्याल महाकवि लक्ष्मीप्रसाद देकोटा र माधवप्रसाद घीमिरेलाई पनि औधि मन पराउथे । महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दमा लेखनाथ पौड्याल ‘ऋषिकल्प प्राज्ञ’थिए । लेखनाथलाई औपचारिक शिक्षा थोरै भएको भन्दै प्रज्ञाप्रतिष्ठानको सदस्यता दिन हिचकिचाउने राजा महेन्द्र सामु देवकोटाले ‘ऋषिकल्प प्राज्ञ’नभएको संस्थामा आफू रहनु उचित नहुने धारणा राखेको सन्दर्भलाई उल्लेख्य मानिन्छ ।

लेखनाथको निधनको आधा शताब्दीपछिसम्म पनि उनका केही रचनाहरू अप्रकाशितै थिए । ती कृतिसमेत खोजबीन गरी प्राध्यापक सनतकुमार वस्तीले ‘कविशिरोमणि रचनावली’ लाई पूर्णता दिएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका साहित्य विषयका प्राध्यापक वस्तीले लेखनाथका जटिल पद—पदावलीलाई सन्दर्भ सहित सरल बनादिएको हुनाले यो सँग्रह पाठकका निम्ति थप आकर्षक बन्न सक्ने नेपालयले जनाएको छ ।

पब्लिकेशन्स नेपालयका किरण कृष्ण श्रेष्ठले भने ‘नेपाली साहित्यमा स्थापित सृजनशील साधकका अमूल्य कृतिहरू बजारमा अप्राप्य छन् । त्यस्ता साहित्यिक कृतिहरू स्तरीय रुपमा आजका पाठकका निम्ति पनि उपलब्ध हुनुपर्छ भन्ने ध्येयले हामीले ‘नेपालय क्लासिक्स’ शुरु गरेका हौं । यो क्रममा कविशिरोमणिका कृतिलाई प्रकाशनमा ल्याउन पाउनु हाम्रो अहोभाग्य हो ।’ ‘कविशीरोमणि रचनावली’ संग्रहको मूल्य ६ हजार ९ सय ७५ रुपैयाँ रहेको छ ।

प्रकाशित: ४ फाल्गुन २०७४ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App