४ वैशाख २०८१ मंगलबार
राजनीति

पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र विद्युतः मुख्यमन्त्री शाही

सुर्खेत- प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा सडक र विद्युत पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। शुक्रबार मुख्यमन्त्रीको सपथपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मुल आधार सडक भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

‘प्रदेशका १० मध्ये दुई जिल्लामा अझै सडक पुगेको छैन्, अरु जिल्लामा पनि नाम मात्रैका सडक छन्’ मुख्यमन्त्री शाहीले भने, ‘पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक पुर्‍याउनुका साथै घरघरमा विद्युतीकरण गर्ने मेरो प्रतिवद्धता छ।’ मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा गरिने प्राथमिकताका पाँच योजना पनि सार्वजनिक गरेका छन्। सडक र विद्युतीकरण, प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय, १० वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल, ग्रीन प्रदेश र पर्यटकीय गन्तव्य उनका योजना हुन्।

मुख्यमन्त्री शाहीले प्राथमिकताको दोस्रो बुँदा शिक्षालाई राखेका छन् । ‘दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वातावरण सृजना गर्ने मेरो अर्को योजना हो’ शाहीले भने, ‘यसका लागि पहिलो चरणमा ‘एक स्थानीय तह, एक प्राविधिक शिक्षालय’ स्थापना गछौं ।’

उनले अझै पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था ६ नम्वर प्रदेशमा विद्यमान रहेको भन्दै प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने बताए । शाहीले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएकाले प्राकृतिक र धार्मिक क्षेत्रहरुको पहिचान, प्रचार–प्रसार, संरक्षण र भौतिक संरचना निर्माणमा लाग्ने बताए।

‘मानसरोवर, छायाँनाथ, कैलाश पर्वत, राराताल, शे–फोक्सुडोत, काँक्रेविहार, त्रिवेणी, पञ्चकोशी, ज्वालालगायत यो प्रदेशका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुको प्रचार–प्रसार संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेछौं’ उनले भने, ‘प्रदेशको समृद्धि र विकासको मूल आधार नै पर्यटन हो ।’

यस्तै मुख्यमन्त्री शाहीले प्रदेश नम्वर ६ लाई ग्रिनसिटीका रुपमा विकास गरिने प्रतिवद्धता जनाएका छन् । ‘कर्णली प्रदेश हिमालय पर्वतको बढी प्रभाव क्षेत्र भएकाले वढ्दो जलवायू परिवर्तनले पारेको असरलाई न्यून गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गरिने छ’ आफ्नो प्रतिवद्धतापत्रको अन्तिम बुँदामा उनले भनेका छन्।

जनताका नाममा सपथ

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश र जनताका नाममा सपथ खाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ खुवाएका थिए । प्रदेश प्रमुखले ‘ईश्वर’का नाममा शब्द उच्चारण गरेपनि मुख्यमन्त्री शाहीले इश्वरको ठाउँमा जनताका नाममा सपथ खाएका थिए।

चार सहिदको फोटोमा माल्यार्णपण

सपथ लगत्तै पदभार ग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका शाहीले ६ नम्वर प्रदेश निर्माणका लागि भएको आन्दोलनमा ज्यान गुमाएका चार जना सहिदको फोटोमा माल्यार्णपण गरेका थिए। मुख्यमन्त्री कार्यालय बाहिर टेबुलमा राखिएको फोटोमा पाल्यार्णपण गरेपछि उनी आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए। ६ नम्वर प्रदेश स्थापनाका क्रममा सुर्खेतका टिकाराम गौतम, गोपालसिंह रजवार, यामबहादुर विसी र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो।

पदभार ग्रहण लगत्तै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको लागि सार्वजनिक लिखत प्रमाणिकरण सम्वन्धी नियमावली–२०७४, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली–२०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली–२०७४ र प्रदेश मन्त्रिपरिषद्को प्रवक्ता नियुक्तीको फाइल प्रमाणिकरण गरेका थिए।

आइतबार मन्त्रिपरिषद् विस्तार

सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय र मन्त्रीको टुङ्गो नलाग्नदा शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मात्रै सपथ ग्रहण गरे । मुख्यमन्त्रीसहित सात मन्त्रालय रहने ६ नम्वर प्रदेशमा तीन माओवादी केन्द्र र चार मन्त्रालय एमालेले पाउने सहमति भएको छ । मुख्यमन्त्रीपछिको शक्तिशाली मानिएको आन्तरिम मामिला तथा कानुन मन्त्रालय एमाले र आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रले पाउने दुई दलबीच सहमति भएको छ । बाँकी मन्त्रालयको भाडबण्डा मिलेको छैन् ।

माओवादी केन्द्रले आफ्नो भागमा परेका दुई मन्त्रीलाई शुक्रबार नै सपथ ग्रहण गराउने कार्यक्रम तय गरेको थियो। माओवादीबाट मात्रै सरकारमा सहभागीता हुँदा सन्देश राम्रो नजाने भन्दै एमालेले आइतबारसम्म पर्खिन आग्रह गरेको थियो । ‘एमालेको आग्रहमा मन्त्रिपरिषद् विस्तार आइतबारसम्मका लागि रोकेका छौं’ माओवादी केन्द्रका एक सांसदले भने, ‘मन्त्रालय र मन्त्री हुनेहरुको टुङ्गो लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं ।’ माओवादी केन्द्रले जुम्लाका नरेश भण्डारी र पश्चिम रुकुमकी विमला केसीलाई सरकारमा पठाउने तयारी गरेको छ । एमालेले भने सरकारमा पठाउने मन्त्रीहरुको टुङ्गो लगाएको छैन्।

प्रकाशित: ४ फाल्गुन २०७४ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App