८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय तहमा सडक र बिजुली

  मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत  – मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेश नम्बर ६ का सबै स्थानीय तहमा सडक र बिजुली पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार मुख्यमन्त्री पदको शपथ लिएपछि नागरिकसँग कुरा गर्दै शाहीले समृद्धिको मूल आधार सडक  र बिजुली यिनलाई यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘प्रदेशका १० मध्ये दुई जिल्लामा अझै सडक पुगेको छैन्, अरु जिल्लामा पनि नाममात्रैका सडक छन्’, शाहीले भने, ‘अब पाँच वर्षभित्र सबै स्थानीय तहमा सडक र घरघरमा बिजुली पु¥याउने मेरो योजना छ ।’
शाहीले सरकारले प्राथमिकतामा राखेका  पाँच योजना पनि सार्वजनिक गरेका छन् । सडक र विद्युतीकरण, प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय, १० वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल, ग्रीन प्रदेश र पर्यटकीय गन्तव्य उनका योजना हुन् ।

शाहीले दोस्रो प्राथमिकतामा शिक्षालाई राखेका छन् । ‘दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्था स्थापना गरिनेछ । योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वातावरण सिर्जना गर्ने योजना छ’, शाहीले भने, ‘यसका लागि पहिलो चरणमा प्रत्येक स्थानीय तहमा एक÷एक वटा प्राविधिक शिक्षालय स्थापना गर्छौं ।’

उनले अझै पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था ६ नम्बर प्रदेशमा रहेको भन्दै प्रदेशभित्रका सबै जिल्लामा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा ल्याउने बताए । शाहीले समृद्धिको मूल आधार पर्यटन पनि भएकाले प्राकृतिक र धार्मिक क्षेत्र पहिचान गरी प्रचारप्रसार, संरक्षण र भौतिक संरचना निर्माणमा लाग्ने बताए । ‘मानसरोवर, छायाँनाथ, कैलाश पर्वत, राराताल, शे–फोक्सुडो ताल, काँक्रेबिहार, त्रिवेणी, पञ्चकोसी, ज्वालालगायत यो प्रदेशका साना ठूला सबै धार्मिक तथा प्राकृतिक स्थललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेछौं’, उनले भने ।शाहीले प्रदेश नम्बर ६ लाई ग्रिनसिटीका रुपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । ‘कर्णाली प्रदेश हिमालय पर्वतको बढी प्रभाव क्षेत्र भएकाले बढ्दो जलवायु परिवर्तनले पारेको असरलाई न्यून गर्न यो प्रदेशलाई ग्रिन प्रदेशका रुपमा विकास गरिनेछ’, उनले भने ।
जनताका नाममा शपथ
मुख्यमन्त्री शाहीले देश र जनताका नाममा शपथ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले शाहीलाई शपथ गराएका हुन् । प्रदेश प्रमुखले ‘ईश्वर’ का नाममा शब्द उच्चारण गरे पनि मुख्यमन्त्री शाहीले ईश्वरको ठाउँमा जनता उच्चारण गरे ।

शपथ ग्रहणलगत्तै पदभार ग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका शाहीले ६ नम्बर प्रदेश निर्माणका लागि भएको आन्दोलनमा ज्यान गुमाएका चार सहिदको फोटामा माल्यार्पण गरेका छन् । मुख्यमन्त्री कार्यालय बाहिर टेबुलमा राखिएका सहिदका फोटामा माल्यार्पण गरेपछि उनी कार्यकक्षमा प्रवेश गरेका थिए । ६ नम्बर प्रदेश स्थापनाक्रममा सुर्खेतका टीकाराम गौतम, गोपालसिंह रजवार, यामबहादुर बिसी र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो ।

पदभार ग्रहण गरेपछि मुख्यमन्त्री शाहीले प्रदेश सरकार सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियमावली–२०७४, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली–२०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली–२०७४ र प्रदेश मन्त्रिपरिषद्का प्रवक्ता नियुक्तिको फाइल प्रमाणीकरण गरे ।
आइतबार मन्त्रिपरिषद् विस्तार
माओवादी केन्द्र र एमालेबीच मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा शुक्रबार मुख्यमन्त्री शाहीले मात्रै पदको शपथ लिएका हुन । मुख्यमन्त्रीसहित सात मन्त्रालय रहने ६ नम्बर प्रदेशमा माओवादी केन्द्रले तीन र एमालेले चार मन्त्रालय पाउने सहमति भएको छ । आन्तरिम मामिला तथा कानुन मन्त्रालय एमाले र आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रले पाउने  सहमति भए पनि बाँकी मन्त्रालयबारे कुरा मिलेको छैन् ।

‘एमालेको आग्रहमा मन्त्रिपरिषद् विस्तार आइतबारसम्मका लागि रोकेका छौं’ माओवादी केन्द्रका एक सांसदले भने, ‘मन्त्रालय र मन्त्रीको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार  गर्छौं ।’ माओवादी केन्द्रले जुम्लाका नरेश भण्डारी र पश्चिम रुकुमकी विमला केसीलाई सरकारमा पठाउने तयारी गरेको छ । एमालेले भने सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छैन् ।

प्रकाशित: ५ फाल्गुन २०७४ ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App