८ वैशाख २०८१ शनिबार
कला

स्वयंसेवाको खुसी

  मंगलबार शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न लाममा रहेकालाई छेउमा बसेर स्वयंसेवकहरू भनिरहेका थिए, ‘तपाईं अगाडि बढ्नुस् । लाममा अरुलाई घुस्न नदिनुस् ।’ उनीहरू एकपछि अर्कोलाई लाममा राखेर मन्दिरतिर अगाडि बढाइरहेका थिए ।

वृद्धवृद्धा, अपांगता भएकालाई हात डोर्याउँदै दर्शन गर्न मन्दिरतिर पनि लगिदिन्थे । सेवामा तल्लीन रहँदा उनीहरुको अनुहारमा खुसी छल्किएको स्पष्टै देखिन्थ्यो । उनीहरू आत्मसन्तुष्टिका लागि सेवामा खटिन्छन् । विभिन्न संघ–संस्थाबाट सेवाभाव बोकेर पुगेका ती स्वयंसेवीको उद्देश्य पशुपतिनाथको दर्शन व्यवस्थित ढंगबाट चाँडो गराएर अरुको खुसीमा रमाउनु थियो ।

‘सेवा भनेको अरुलाई सहयोग गर्नु हो,’ स्वयंसेवक सुभद्रा गौतमले भनिन्, ‘हामीले यो काम गरेर पाउनेचाहिँ आत्मसन्तुष्टि हो ।’ संस्थाको चिनारी हुने कपडा तथा पशुपति क्षेत्र विकास कोषले दिएको स्वयंसेवी कार्ड लगाएर दर्शनार्थीको सेवामा उनीहरू खटिरहेका थिए । कोषले स्वयंसेवा गर्न चाहने संस्थालाई ठाउँको निर्धारण गरिदिएको थियो । आफ्नो संस्थाले पाएको जिम्मेवारी व्यवस्थित ढंगबाट पूरा गर्न उनीहरू खटिरहेका देखिन्थे ।

‘हामी हिजैबाट यहाँ आएर काम गरिरहेका छौँ,’ पशुपतिनाथको पश्चिम गेटमा स्वयंसेवा गरिरहेका सन्तोष कुमार थापाले भने, ‘हाम्रो काम भनेको सहज ढंगबाट दर्शनार्थीलाई भगवान्को दर्शन समयमै गराउनु र अप्ठेरोमा परेका सबैलाई सहयोग गर्नु हो ।’ नेपाल स्काउटबाट ड्युटी इन्चार्जका रूपमा खटिएका थापा कहिले लाम मिलाउन व्यस्त देखिन्थे भने, कहिले ड्युटीमा रहेका अरुको समस्या र कामतिर नजर लगाउँथे । शिवरात्रिको अघिल्लै दिनदेखि त्यहाँ पुगेर सेवा गरिरहेका उनले भने, ‘यसरी सेवा गर्दा आनन्दै छुट्टै हुन्छ ।’

सोमबार ११ बजेदेखि पशुपतिमा खटिइरहेकी मञ्जिला सुनुवारको अनुहारमा कति पनि थकान देखिन्नथ्यो । ‘हिजो बिहान ११ बजे यहाँ आइपुगेका थियौँ,’ उनले भनिन्, ‘त्यसयता नियमित सेवाकै काममा लागिरहेको छु ।’ मञ्जिलाले अनुभव सुनाइरहँदा घडीमा बेलुकाको ४ बजेको थियो । मञ्जिला स्काउटबाट प्राथमिक उपचार समूहको  संयोजक थिइन् । आफ्नो जिम्मेवारीसँगै अन्य काममा पनि क्रियाशील रहिन्, त्यसले गर्दा सुत्न समेत पाइनन् । ‘आफ्नो जिम्मेवारी त पूरा गर्नुप¥यो,’ उनले भनिन्, ‘जति धेरै सेवा गर्न सक्छु, त्यति खुसी हुन्छु ।’ मञ्जिला डेन्टल साइन्सकी विद्यार्थी हुन् । स्काउटले पशुपति वेदाश्रमस्थित शिविर समेत खडा गरेको थियो । शिविरका संयोजक विदुर गिरीका अनुसार स्काउटले विशेष अवसरमा यसैगरी सेवाको काम गर्दै आएको छ ।

पशुपतिमा अन्य सामाजिक संस्थाका प्रतिनिधि पनि सेवामा समर्पित देखिन्थे । ‘हामी राति ३ बजे नै आएर लाइन मिलाउने काम गरिरहेका छौँ,’ भविष्यका लागि युवा संस्थाका राजेश कार्कीले भने, ‘हामी यसरी नखट्ने हो भने कोषले मात्रै व्यवस्थित गर्न सम्भव थिएन अनि दर्शन गर्न आउनेले समस्या भोग्नुपर्ने हुन्थ्यो ।’ आफूहरूले सकेको सहयोग गर्नपर्छ भन्ने ठानेर सेवा गर्न आएको उनले बताए । शिवरात्रि मात्रै होइन, उनीहरू यसैगरी अन्य विशेष अवसरमा सेवा गर्न विभिन्न ठाउँमा पुग्छन् ।
सामाजिक संस्था मात्रै नभएर कलेजका विद्यार्थी पनि पशुपतिमा स्वयंसेवा गर्न पुगेका देखिन्थे । ‘हामी बिहानैदेखि आएर दर्शनार्थीका भीडलाई व्यवस्थित गर्न लागिपरिरहेका छौँ,’ ट्रिनिटी कलेजकी एक छात्राले भनिन्, ‘यसरी अरुको सेवामा खट्न पाउँदा धेरै खुसी लाग्छ ।’

मंगलबार सम्पन्न शिवरात्रि मेलामा पशुपतिनाथ दर्शन गर्न जाने भक्तजनको सेवामा करिब ४० सामाजिक संस्थाका स्वयंसेवक खटिएका थिए । ती संस्था अघिल्लो दिनबाट शिवरात्रिको बेलुकासम्मै सेवा गरेको कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए । ‘स्वयंसेवा गर्न चाहने संस्थालाई हामी ठाउँ तोकिदिन्छौँ,’ ढकालले भने, ‘सोहीअनुसार संस्थाले सेवाको काम गर्छन् ।’स्वयंसेवकले आफ्नो जिम्मेवारी स्वतस्र्फूत रूपमा पूरा गरिदिँदा समयमै दर्शन गर्न दर्शनार्थीलाई सहज भएको उनले बताए । ‘हजारौँ स्वयंसेवीहरू सेवा गर्न आउँछन्,’ उनले भने, ‘जसले गर्दा दर्शन व्यवस्थापनमा ठूलो योगदान पुगेको छ ।’

प्रकाशित: ५ फाल्गुन २०७४ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App