७ वैशाख २०८१ शुक्रबार
कला

मेमोरी किङ अर्पण

गत बुधबार राष्ट्रिय सभागृहको हलमा माइन्ड पावर सम्बन्धी एक कार्यक्रम सञ्चालन गरियो । हल विद्यार्थीले भरिभराउ रहेको उक्त कार्यक्रमका वत्ता थिए, मेमोरी किङ भनेर चिनिने झापाका २६ वर्षीय अर्पण शर्मा ।

पछिल्लो समय उनी सेमिनार र वर्कसपमा व्यस्त छन् । उनी विभिन्न कलेज, स्कुुल र संस्थामा मेमोरी पावर सम्बन्धी कार्यक्रम चलाउँछन् । र, छोटो समयमा धेरै कुरा सम्झिने कला सिकाउँछन् ।
कम समयमा धेरै शब्द याद गरेर उनले वल्र्ड रेकर्ड राखेका छन् । उनले एकैपटक हेरेका ४६ वस्तुलाई क्रमबद्ध स्मरण गरी विश्व कीर्तिमान राखेका छन् ।नेपालको शिक्षा प्रणाली देख्दा निकै दुुःख लाग्ने उनी बताउँछन् । ‘हाम्रो पठनपाठन शैली सुुगा रटाई छ । माक्सलाई मुख्य सोच्ने होड छ । विद्यार्थीले बुुझोस् वा नबुुझोस् घोक्ने तरिका दिइएको छ, जुन अत्यन्त गलत हो,’ उनले भने ।

मानिसले दिमागको सही प्रयोग गर्न नसकेको उनी बताउँछन् । दिमागमा आवश्यक कुरा राख्न नसक्दा र कम प्रयोग गर्दा ५० प्रतिशत विद्यार्थी डिप्रेसनको सिकार भइरहेको उनको भनाइ छ । ‘हामी निकै शक्तिशाली प्राणि हौं, हाम्रो जीवनशैलीले दिमागलाई निकै प्रभाव पार्छ,’ उनी भन्छन् ।नेपालको शैक्षिक प्रणाली रटन्ते भएकाले विद्यार्थीको दिमागको प्रयोग कम भएको उनको तर्क छ ।

‘नेपालको शिक्षा प्रणाली परिवर्तन गर्न सकियो भने सृजनात्मक विद्यार्थी उत्पादन हुने उनी बताउँछन् ।
हरेक कुरालाई सम्झने धेरै तरिका रहे पनि त्यसबारे थाहा नपाएर कतिपय तनाव लिइरहेको उनले बताए । ‘शब्दलाई चित्रमा परिणत गर्न सकियो भने स्मरण गर्न निकै सजिलो हुन्छ,’ उनले भने ।आफ्नो विगत सम्झदै उनी भन्छन्, ‘मेरो स्मरणशक्ति सानै उमेरबाट तेज थिएन, यो त मैले पछि आफैले बनाएको हो ।’सानो उमेरमा पढाइ शैली सम्झँदा उनलाई पछुतो लाग्ने गरेको छ । ‘१० कक्षासम्म रटन्ते शैलीमा नै पढेँ,’ उनले सम्झिए ।

किताब पढ्ने विभिन्न तरिका प्रयोग गर्न सके हरेक कुरा सम्झन सहज हुने उनी बताउँछन् । ‘विद्यार्थीले आफ्नो दिमागलाई कन्ट्रोलमा राख्न सक्यो भने पढाइ भन्नेबित्तिकै नाक खुम्च्याउनुु पर्दैन,’ उनले भने ।
दिमागमा अनावश्यक कुरा हटाउन सके नयाँ कुरा सृजना गर्न सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘दैनिक जीवनमा सानो मेसिन प्रयोग गर्दा हामी निकै सावधानी अपनाउँछौं, अरुबाट सिकेर चलाउँछौ भने हाम्रो दिमाग त झन् स्मार्ट टेक्नोलोजी हो, जसलाई प्रयोग गर्न होसियार हुनु जरुरी हुन्छ ।’

दिमाग सबैको उस्तै हुने र त्यसलाई चलाउने तरिका फरक हुने उनी बताउँछन् । ‘मानिसको दिमागमा दुुई वटा भाग हुन्छ । दायाँ र बायाँ,’ उनी भन्छन्, ‘जसले राइट भाग चलाउँछ, उसले दिमागको ९० प्रतिशत प्रयोग गरेको हुन्छ । तर, लेफ्ट भाग चलाउनेले दिमागको १० प्रतिशत मात्र प्रयोग गरेको हुन्छ ।’

दिमागलाई जति प्रयोग गर्न सक्यो उति खारिने उनको अनुभव छ । दिमागमा कुन कुरालाई कसरी सेट गर्ने भन्ने तरिका स्कुल पढ्दा थाहा पाउन नसकेकाले जीवनको गोल्डेन समय गुमाएकोमा दुुःख व्यक्त गर्छन् । ‘कक्षामा साथीसँग मजाकमा ३० शब्दलाई लेखेर कस्ले छिटो सम्झन सक्छ भनेर प्रतिस्पर्धा गर्दा मैले डेढ मिनेटमा याद गर्न सकेँ,’ उनी भन्छन्, ‘मैले रिसर्च गर्न थाले र वल्र्ड रेकर्ड राख्छुु भनेर सोच्न थाले ।’

उनी भारतका जया सिंहा रभिरालाको रेकर्ड तोड्दै गिनिज बुक अफ दि वल्र्ड रेकर्ड राख्न सफल भएका छन् ।
ओशोको ‘डाइनामिक योगा’ गर्ने क्रममा गलत तरिका अपनाउँदा काम सुन्न नसक्ने भएको उनी बताउँछन् । ‘गलत तरिकाले योगा गर्दा कान नै नसुन्ने भएँ,’ उनी भन्छन्, ‘दुुई दिन त रोएर नै बिताएँ । तेस्रो दिनदेखि साधना, ध्यान र मेडिटेसन गरेँ, तीन महिनामै काम निको भयो ।’

दुुई वर्षको साधना, ध्यान र योगाले कान मात्रै ठिक भएन, दिमाग पनि निकै धारिलो भएको उनी बताउँछन् । योगालाई धारीलो छुरीसँग तुलना गर्दै उनी भन्छन्, ‘योगा भनेको छुरीजस्तै हो, छुरीले तरकारी पनि काट्न सकिन्छ र मान्छेको घाँटी पनि ।’ योगा गर्दा ध्यान दिएर तथा विधि पुर्याएर गर्न उनी सुझाउँछन् ।
उनले २०७० पुुस ६ गते १ सय ६४ वटा रङ ५.४० सेकेन्डमा याद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेको बताए । तर, यो रेकर्डको प्रमाण पत्र भने नपाएको उनी बताउँछन् । ‘१ सय ६४ वटा रङलाई आँखामा कालो पट्टि बाँधेर अगाडिबाट क्रम मिलाएर भन्नुपर्ने थियो, जुन मैले ५.४० सेकेन्डमा याद गरेँ,’ उनले भने ।
उनले २०७४ भदौमा गिनिज बुुक अफ वल्र्ड रेकर्ड राख्न सफल भए । उनले अहिलेसम्म पाँच वल्र्ड रेकर्ड राखेको बताए । यहाँसम्म आइपुुग्न निकै मेहेनत गरेको उनी बताउँछन् ।

प्रकाशित: ५ फाल्गुन २०७४ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App