८ वैशाख २०८१ शनिबार
अन्य

बाँसको भूत

विवश वस्ती
आज स्कुल बिदा थियो । र, दिपेश घरमा नै थियो । बिहानको खाना खाइसकेपछि दिपेशलाई घरमा बस्न मन लागेन । अहँ, पटक्कै मन लागेन । के गर्ने, कहाँ जाने ? दिपेशलाई घरमै बस्नुपर्दा असाध्यै नियास्रो लागिरहेको थियो ।

उसले सोच्यो, ‘आदित्य पनि घरमै होलान् र कुनै साथी नभेट्दा उसलाई पनि नियास्रो लागिरहेको होला । हो, आदित्यको घरमा पो जानुपर्ला ।’‘घरमा बस्न मनै लागेन । म त आदित्यको घरमा जान्छु है, ममी ।’ दिपेशले आँगनमा बिस्कुन चलाइरहेकी आमासामु आफ्नो कुरा राख्यो ।‘यसलाई त छुट्टी हुनै हुँदैन । आदित्यको घरतिर कुद्नु परिहाल्छ ।’ आमाले तत्काल जवाफ दिइन् र भनिन्, ‘बेलुकी भने घाम डुब्नुभन्दा अघि नै आउनु नि । फेरि हामी लिन आउन नपरोस् ।’

‘चाँडै फर्किन्छु ।’ दिपेश घरभन्दा माथिको बाटोतिर उक्लिन लाग्यो । दिपेश र आदित्यको घरबीचको दूरी त्यस्तै किलोमिटरजति मात्रै थियो । त्यति टाढा होइन । तर, दुवैका घरलाई एउटा सानो थुम्कीले छुट्याएको थियो । सानो थुम्की पारी आदित्यको घर थियो भने वारी दिपेशको घर थियो । तीन चार मिनेट हिँडेपछि थुम्की आउँथ्यो र त्यो थुम्की कट्ने बित्तिकै आदित्यको घर आइहाल्थ्यो ।

दिपेशको पाइला छिटो–छिटो लम्किरहेको थियो । कति बेला आदित्यलाई भेटुँ र खेलुँ भन्ने उत्साहले उसलाई छिटो–छिटो कुदाइरहेको थियो । थुम्कीमा पुग्ने–पुग्ने समयमा भने उसको कानमा कसैले बाँसुरी फुकेजस्तो आवाज आएर ठोक्कियो । उसले यताउता, सबैतिर हेर्यो । कसैलाई पनि देखेन । जति जति थुम्कीनजिक पुग्दै गयो, बाँसुरी फुकेजस्तो आवाज झन् गाढा हुँदै गयो ।

थुम्कीनिर एउटा लाम्चो र फराकिलो बारी थियो । त्यो बारीको छेउमा एउटा सुकेको बाँसमा मकैको ढोड राखिएको थियो । बारीमा कुनै बाली नरोपेका हुँदा उजाड र सुख्खा थियो । जब दिपेश त्यो बारीनिर पुग्यो, बाँसुरी फुकेजस्तो आवाज झन् चर्को हुँदै आयो । ऊ झनै चकित भयो र बाँसुरी फुक्ने को होला भन्ने उत्सुकता उसमा झनै पलाउन थाल्यो ।कसैले बाँसुरी फुकेजस्तो, मुरली फुकेजस्तो आवाज भने आउन छाडेन । झन्झन् तिखो र चर्को स्वरमा आइरह्यो । त्यतिबेला हावा पनि निकै बेजोडले चलिरहेको थियो ।

‘दिउँसो–दिउँसो यो ठाउँमा भूतले तर्साउँछ भन्थ्यो । कतै भूतले पो बाँसुरी बजाएको हो कि ?’ दिपेशको मनमा यस्तै आशंका र डर उम्रिन थाल्यो । बाँसुरी बजेजस्तो आवाज आउन पटक्कै छाडेन । ऊ झनै डराउन थाल्यो र डराएकै स्थितिमा छिटो–छिटो पाइला लम्काउँदै आदित्यको घरतिर दौडियो ।दौडिएर आदित्यको घरतिर गएका हुँदा उसको सासको गति तीव्र बनिरहेको थियो ।आदित्य घरमै थियो । दगुर्दै आएका दिपेशलाई देखेपछि आदित्यले सोध्यो, ‘किन कुद्दै र दगुर्दै आएको तिमी ? के भयो ?’‘मैले एउटा अचम्मको कुरा पत्ता लगाएँ ।’ दिपेशको सासको गति घटिसकेको थिएन ।‘के कुरा हो ?’‘त्यो माथिको डाँडामा त भूतले दिउँसै तर्साउँदो रहेछ ।’‘कसरी तर्सायो ?’

‘त्यहाँ कसैले बाँसुरी फुकेजस्तो आवाज आउँदो रहेछ । मैले कसले बाँसुरी फुकेको रहेछ भनेर चारैतिर हेरें तर एउटै मान्छे देखिनँ ।’ दिपेशले केही बेर अड्किँदै भन्यो, ‘त्यो डाँडामा दिउँसै भूतले तर्साउँछ भन्थ्यो । मलाई त हो कि जस्तो लाग्यो ।’आदित्यले भन्यो, ‘तिमी र म जाउँ न त्यहाँ । कसरी बाँसुरी बजाउँदो रहेछ, सुनौं एक पटक ।’ र, आदित्यले एक दुई पाइला पनि अघि बढायो ।‘हैन, हामी दुई जना मात्र नजाऔं । मलाई त डर लागिरहेको छ । कसैलाई लिएर जानु ठीक होला ।’ दिपेशले भन्यो र हिँड्नै लागेका आदित्यको हात च्याप्प समातेर रोक्यो ।

‘साँच्ची, अच्युत काका घरमै हुनुहुन्छ, उहाँलाई नै लिएर जाउँ ।’ आदित्यले प्रस्ताव राख्यो र दुवैजना अच्युत काकाको घरतिर लागे । दुवै जना आफू अगाडि उभिएको देखेपछि अच्युत काकाले सोधे, ‘किन, के भयो ? किन आएका हौ ?’दिपेशले सबै कुरा बतायो ।अच्युत काका, दिपेश र आदित्य माथिको डाँडातिर उक्लिए । डाँडामा बेजोडले हावा चलिरहेको थियो । हावाकै कारण केही माथिको बाँस झ्याङ, पीपल र समीका रुखहरु हाँगा नै भाँचिएलाझैं गरी लच्किरहेका थिए ।

दिपेशले जुन ठाउँमा लिएर गएको थियो, त्यहाँ बाँसुरी वा मुरली फुकेजस्तो आवाज आइरहेको थियो । हावा अलि बेजोडले चल्दा आवाज चर्को हुन्थ्यो र हावा कम चल्दा आवाज पनि पातलो हुन्थ्यो ।
‘अहिले पनि बाँसुरी बजाएजस्तो आवाज आइरहेको छ । यो पक्कै पनि भूतको करामत हुनुपर्छ ।’ दिपेशले भन्यो ।

‘मलाई पनि ममीले यो डाँडामा एक्लै नजानू, भूतले तर्साउँछ भन्नुहुन्थ्यो । साँच्ची, भूत नै हो कि क्या हो ?’ आदित्यले पनि मनभित्र डर उमार्दै भन्यो ।अच्युत काकाले भने डाँडाको बाँस र त्यसमा राखिएको मकैको ढोडतिर एकोहोरो नजर लगाइरहेका थिए । उनले त्यसको चारैतिर घुमेर हेरे र आफूसँगै उभिएका दिपेश र आदित्यलाई भने, ‘हो, तिमीहरुले भनेजस्तै भूतले बाँसुरी बजाएको रहेछ ।’

‘कसरी थाहा पाउनुभयो, अंकल ?’ दुवै जनाले आश्चर्य मान्दै सोधे र अच्युत काकाको अनुहारमा हेर्न थाले ।
‘ऊ त्यो सुकेको बाँस छ नि ।’ सुकेको बाँसतिर औंलाले देखाउँदै अच्युत काकाले भने, ‘त्यही बाँसको भूतले बाँसुरी फुकेर हामीलाई तर्साएको रहेछ । जब्बर रहेछ, त्यो बाँसको भूत ।’‘तपाईंले कसरी पत्ता लगाउनु भो अंकल ?’ आदित्यले सोध्यो ।‘तिमीहरुले जसलाई भूत भन्यौ र त्यसले तर्सायौ भन्यौ नि । त्यस्तो भूत–सुतले तिमीहरुलाई तर्साएको होइन । र, कसैले बाँसुरी फुकेको पनि होइन ।’ अच्युत काकाले दृढतापूर्वक भने ।‘के हो त अंकल, यसको रहस्य ?’ दिपेश उत्सुक देखियो ।

‘ऊ त्यो मकैको ढोड राखिएको सुकेको बाँस छ नि । हो, त्यसको माथिल्लो भाग सुकेर फुटेका छन् । जब हावा बेजोडले चल्छ, बाँसको त्यो सुकेर फुटेको भागमा हावा छिर्दा आवाज आउँछ । ठूलो हावा चल्दा ठूलै आवाज आउँछ र सानो हावा चल्दा सानै आवाज आउँछ । त्यही आवाज नै बाँसुरी बजेजस्तो सुनिँदो रहेछ । आखिर, बाँसुरी पनि त बाँसबाटै त बन्छ नि, हैन र ? सुकेको बेत बाँसमा प्वाल पारेर बाँसुरी बनाइन्छन् र त्यसमा फुक्दा त बज्ने हो नि ।’ अच्युत काकाले भूतको रहस्य पत्ता लगाई दिए ।अच्युत काकाको कुरा सुनिसकेपछि दिपेश र आदित्य एक–अर्कालाई हेर्दै हाँस्न थाले ।

 

 

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App