७ वैशाख २०८१ शुक्रबार
समाज

पर्यटकीय सहस्त्र झरना ओझेलमा

बागलुङ – जिल्लाको विभीन्न स्थानमा रहेका पर्यटन गन्तव्य बन्न ठाउँहरु प्रचार प्रसारको अभावमा ओझेल परेका छन्। यहाँको विकासका लागि पर्यटन विकासलाई पहिलो प्राथमिकता दिने सरोकारालाले बताउँदै आए पनि त्यस अनुसार पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिएको पाइँदैन। जिल्लाको सुन्दर झरना मध्येको एक गलकोट सहस्त्र झरना प्रचार प्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।

गलकोट नगरपालिका—३ हटियाको बोहोराफाँट र स्यालाको सिमानामा रहेको उक्त झरना पर्यटक लोभ्याउनका लागि निकै आकर्षक भए पनि प्रचार प्रसारको अभावमा आझेल परेको हो। पहाडको कापमाबाट छङछङ गर्दै बग्दै कलकल झरनाको विकास र प्रचारमा ध्यान नदिदा त्यस क्षेत्रले आम्दानीको राम्रो माध्यम गुमाईरहेको छ। करिब दुई मिटर अग्लो चट्टानी कापबाट हिउँदा वर्षा निरन्तर तीब्र गतिमा पानी बग्ने निर्कै आकर्षक उक्त झरनाको अहिलेसम्म आधिकारिक रपमा उचाई समेत मापन गरिएको छैन। झरनाको फेदीबाट हेर्दा आकाशबाट पानी झरे जस्तै देखिन्छ।

 झरनाको प्रचार प्रसार पूर्वाधकारको विकासमा ध्यान नदिँदा गल्कोट नगरकै आम्दानीको स्रोत गुमिरहेको स्थानीय रबिन बोहोरा बताउँछन्। ‘तलबाट हेर्दा आकासैबाट पानी झरे जस्तो देखिन्छ, अलि धेरै बेर बस्यो भने झरनाको आवाज नै फरक फरक सुनिन्छ,’ बोहोराले भने,‘यसको प्रचार र व्यवस्थापनमा ध्यान दिने हो भने सुनको अन्डा दिनसक्छ।’ झरनासम्म पुग्नका लागि सुरक्षित पदमार्ग र दृश्यावलोकनका लागि आवश्यक पूर्वाधारको विकास जरुरी रहेको उनको भनाई छ। ‘झरनाको वरिपरि अग्ला भिर छन्, झरनाको अवलोकनका लागि आउनेहरुका लागि सरक्षित बनाउन आवश्यक पूर्वाधारको विकास गर्नुपर्छ,’ बोहोरा भन्छन्,‘यहाँसम्म आउने सुरक्षित पदमार्ग पनि आवश्यक छ।’ स्थानीयस्तरबाटै झरनालाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरिनुपर्ने उनीहरुको माग छ।

 जैविक विविधताले भरिपूर्ण उक्त स्थानबाट विविध प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने स्थानीय झहर बहादुर खत्रीले बताउँछन्। ‘प्राकृतिक रुपमा सुन्दर वाताबरण छ,’ उनी भन्छन्,‘एक पटक यहाँ आउनेहरुलाई अर्को पटक फेरि आउन यहाँको सुन्दरताले नै बाध्य बनाउँछ।’ नजिकै बोहोराफाँट र स्याला गाउँ छ। त्यहाँका स्थानीयले यस झरनालाई शक्तिको प्रतीक मान्ने गरेका छन्। झरनाको फेदीमा झाँक्रीको पूजा गरिन्छ। उक्त ठाउँमा आसपास गाउँका स्थानीय गएर पूजा गर्छन्। मन्दिर नजिकै पौवा निर्माण गरिएको छ। झरनाको पानी बगेर दरमखोलामा मिसिन्छ। छिमेकी गाउँ बोहोराफाँट, स्यालासँगै अन्य ठाउबाट पनि झरनाको अवलोकन गर्न सकिन्छ। गलकोटको हटिया बजारबाट झरना स्थल पुग्न पैदल रुपमा ४५ मिनेट समय लाग्छ। झरनाको वरपर वस्ती नभएका कारण पनि उक्त झरना ओझेलमा परेको गल्कोट नगरपालिका—३ अध्यक्ष विरजङ भण्डारी बताउँछन्। 

‘यसको नजिकमा बस्ती छैनन्, त्यस कारण पनि पछि परेको हो,’ उनले भने,‘प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटन र धार्मिक महत्व बोकेको झरनाको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउन सकिन्छ।’ अध्यक्ष भण्डारीले उक्त झरनामा क्यानोनिङ खेल सञ्चालनका लागि सर्बे गर्ने तयारीमा वडा कार्यालय रहेको जानकारी गराए। ‘अहिले एक लाख रुपैयाँ बजेट विनीयोजन गरेका छौं, क्यानोनिङको सम्भाव्यता अध्ययन गर्छौं,’ उनले भने,‘त्यहाँ पुग्नका लागि सहज पदमार्ग निर्माण पनि हाम्रो पहिलो प्राथमिकतामा छ।’ पदमार्गसंगै सुविधा सम्पन्न होटल तथा चौतारा र सूचना केन्द्रको पनि अवाश्यकता देखिन्छ। गलकोट नगरपालिकाले गुरुयोजना बनाएर उक्त क्षेत्रको विकासमा लाग्ने उनले बताए। ‘नगरको विकासका लागि गुरुयोजना बनाउने भन्नेबारे छलफल पनि चलेको छ,’ उनले भने,‘यो झरनालाई पनि गुरुयोजनामा समेटेर यसको विकास र प्रचारलाई तीब्र बनाउँछौं।’

सहस्त्र झरनामा चट्टान भित्रबाट पानी खसेको छ। झरनाको बायाँ भागमा रहेको चट्टानबाट करिब दुई सय भन्दा बढि छहराहरु निरन्तर रुपमा झर्ने गरेको छ। वर्षैभरी निरन्तर रुपमा झरनामा पानी बग्ने गरेका कारण उक्त झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको आशा छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App