६ वैशाख २०८१ बिहीबार
कला

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

बर्दिवास-  मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।

गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी श्रीराम र किशोरीजी जानकी, सीताको डोला डोली अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो ।

यसअघि गत बिहीबार धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारीको डोला जनकपुर हुँदै हनुमाननगर पुर्याइएको थियो । त्यससँगै शुक्रबार बिहान जनकपुरको अग्नीकुण्डबाट किशोरीजीको डोला हनुमानगर पुगेपछि दुवै डोला अघि लगाउँदै माध्यमिकी यात्राको लावालश्कर अघि बढेको हो ।

मिथिला माध्यमिकी परिक्रमामा पहिलो दिन भारतको मधुवनी जिल्लामा पर्ने कलना कल्याणेश्वर र दोश्रो दिन पनि मधुवनी जिल्लाकै फूलहरु गिरिजास्थान रात्री विश्राम गरेका साधुसन्तसहितका हजाराै यात्री आज तेश्रो दिनको विश्रामका लागि मटिहानी आइपुग्ने क्रम शुरु भएको हो । यात्रीहरु नगर प्रवेश गर्न थालेपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, श्री लक्ष्मीनारायण मठ मटिहानीका साधुसन्त, नगरका व्यापारी उद्यमीहरु स्वागतका लागि नेपाल–भारत सीमाक्षेत्र दशगजा पुगेका  छन्।

आज मटिहानीमा भव्य परिक्रमाको चहलपहल एकाबिहानैदेखि शुरु भएको छ । परिक्रमाका यात्रीलाई खानपिन, आवास, प्राथमिक उपचार र अन्य सुविधाका लागि नगरवासीले सबै प्रबन्ध मिलाएको प्रमुख मण्डलले जानकारी दिए।

नेपालतर्फ महोत्तरीमा २८, धनुषामा ६२ र भारतको मधुवनी जिल्लामा ३० किलोमिटर गरी १५ दिने माध्यमिकी परिक्रमामा १२० किमीको यात्रा तय गरिन्छ । यस यात्रामा महोत्तरी जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चन वनसहित पाँच विश्रामस्थल रहेको छ । कञ्चन वन विश्रामपछि धनुषा प्रवेश गर्ने यात्रीहरु क्रमशः आठौँ, नवौँ, दशौँ र एघारौँ दिनको रात्री विश्राम पर्वता, धनुषाधाम, सतोखर र औरहीमा गर्ने छन् ।

औरहीपछि पुनः भारतको मधुवनी प्रवेश गर्ने परिक्रमाको लावालश्कर बार्हौँ र तेर्हौँ दिनको रात्री विश्राम क्रमशः करुणा र बिसौलमा बसेपछि चौधौँ दिनको विश्रामका लागि पुनः कल्याणेश्वर हुँदै जनकपुरको रंगभूमि मैदान पुग्नेछन् । पन्ध्रौँ दिन बिहान जनकपुरको अन्तर्गृह परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा पूरा हुने परम्परा छ ।

त्रेता युगमा मिथिलाबिहारी श्रीराम र किशोरीजी श्रीजानकी जनकपुर बसाइका क्रममा फागु पर्व पूर्व फागुन शुक्लपक्षमा वनबिहार गर्दै डुलेका सम्झनामा माध्यमिकी परिक्रमाको परम्परा बसेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । सदचरण, एक छाक मात्र सात्विक भोजन गरेर नाङ्गै गोडाले गरिने यो यात्रा संसारिक दुखःबाट मुक्ति दिने र कल्याणदायक हुने हिन्दू मैथिल जनविश्वास रहँदै आएको छ । रासस
 

प्रकाशित: ६ फाल्गुन २०७४ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App