७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश सरकारले पूर्णता पायो

सुर्खेत- ६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चारसहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्। ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ।

एमाले प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी भएको छ। ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व सम्हालेका छन्। अर्थ व्यवस्था समितिका पूर्व सभापतिसमेत रहेका ज्वालाले आफ्नो विज्ञताका आधारमा मन्त्रालय छानेका हुन्। उनी सल्यानबाट निर्वाचिन सांसद हुन्।

यस्तै एमालेका दल रावलले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । रावल हुम्लाबाट निर्वाचित सांसद हुन् । एमालेकै नन्दसिंह बुढाले वन तथा वातावरण मन्त्रालय र खड्ग खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् भने खत्री सुर्खेतबाट निर्वाचित सांसद हुन्।

मुख्यमन्त्रीपछिको शक्तिशाली मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय माओवादी केन्द्रले राखेको छ। आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन्। उनी माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दावेदार थिए । यस्तै पश्चिम रुकुमकी विमला केसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । पहिलो संविधानसभामा सदस्य रहेकी केसी समानुपातिक सांसद हुन्।

प्रकाशित: ६ फाल्गुन २०७४ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App