coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

छाडा चौपायाले सडक जाम

कोहलपुर- सवारी दुर्घटना र ट्राफिक अस्तव्यस्त रोक्न विस्तार भएको चारलेन सडक खण्डको कोहलपुर क्षेत्रमा छाडा चौपायको बिगबिगी बढेको छ। चारलेन सडक बीचबाट छाडा चौपाया आवतजावत गर्ने र डिभाइडरमा चरनले दुर्घटना र जाम बढाएको छ। सडक चौडा भए पनि कोहलपुर नगरका चारलेन सडकमा छाडा साढेको राज बढिरहेको छ।

चारलेन सडकसँगै जोडिएको क्षेत्रीय ट्राफिक र इलाका प्रहरी कार्यालय रहे पनि साढेहरू सडकमा प्रशस्त देखिन्छन्। सडकमा राज गरेका छाडा साढेहरूकै कारण सडक दुर्घटना बढेको र सवारी आवत जावतमा बाधा पुगिरहेको छ। नगरभित्रका सडकमा ठिङ्ग उभिएका र दौडिरहेका पशुचौपायाले पैदल यात्री र सवारी चालकको साँतोपुत्लो लिन्छन्। सडकपेटीमा बस्न, खान र हिँड्न पाएका गाई, गोरु, खच्चरले आवत जावतमा अवरोध र सडक दुर्घटना बढाएको छ। बूढा पशुचौपाया गाई, गोरु र खच्चर सडकमा ल्याएर छोड्ने र गाडीको ठक्करबाट मार्ने संस्कार बढेको कोहलपुरका बुद्धिजीवी भूमबहादुर भण्डारी बताउँछन्। 'चारलेन सडकमा गाडीमा ठोक्किएर पशुचौपाया मरेका र गन्ध आइरहेका देखेकै छौँ,' उनले भने, 'यसरी आँखै अगाडि दुर्घटना देख्दा प्रहरी र नगपालिकाले केही गरेन।' चारलेन सडक विस्तारपछि सडक छेउ र बीचको डिभाइडरमा दुवो पलाएकाले चरन क्षेत्र बनाएको उनले बताए। साता भित्र मात्र कोहलपुरका चारलेन सडकको हाई स्कुल, पिपरी, बाल विद्यामन्दिर, धिताल पेट्रोल पम्पमा गरी चारवटा पशु गाडीको ठक्करबाट मरेका छन्। नगरबासीले घरका बूढा र रोगी गाई, गोरु, घोडा, खच्चर सडकमा छोड्ने चलन बढेको छ। तर, छाडा पशुचौपाया हटाउने सवारी साधन र कान्जी हाउस नगरपालिकामा छैन। बीच सडकमा तमासा देखाउने साँढेले सडक जाम गर्ने, साइकल, मोटरसाइकल, रिक्सा जस्ता सवारीसाधन पल्टाउने र ठोकेरै हिँड्ने गर्छन्। कतिपय स्थानमा सवारी साधले पशु चौपायालाई ठोकेर घाइते बनाउँछन् र मार्छन्। यसरी मरेका चौपाय हप्तौसम्म सडकबाट हटाइँदैन। बीच सडकमा हिँड्नेदेखि साना सवारी साधन चलाउनेको भागदौड चल्छ। वषर्ौंदेखिको समस्याका रूपमा छाडा चौपायाको बिगबिगी चारलेन विस्तार पछि झनै बढेको छ। बजार क्षेत्रमा छाडिने यस्ता पशुले पसलका सामान खाई दिने, सर्वसाधारणलाई दुःख दिने गर्छन्।

     कोहलपुर नगरपालिका प्रमुख माधवप्रसाद शर्माले कान्जी हाउस र पर्याप्त श्रोत साधन नहुँदा छाडा पशुचौपाया व्यवस्थित गर्न नसकिएको बताए। 'छाडा चौपाया व्यवस्थित गर्ने विषयमा छलफल भएको छ,' उनले भने, 'चालू आर्थिक वर्षसम्म कान्जी हाउस बनाउने योजना नरहे पनि आगामी वर्षबाट काम अगाडि बढाइन्छ।' सडक दुर्घटनामा मरेका पशुचौपाया फाल्दिन र हटाई दिन नगरबासीको खबर आउने गरे पनि श्रोत साधनको अभावमा कोहलपुर नगरपालिकाले काम गर्न सकेको छैन।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजेन्द्रसिंह खड्काले छाडा चौपायाले सडक व्यवस्थापन र ट्राफिक सहजतामा बाधा पुर्‍याउने गरेको बताए। 'यो विषयमा हामी गम्भीर छौँ,' उनले भने, 'नगरपालिकासँग समन्वय र सहकार्य गरेर नियन्त्रणको प्रयास थाल्छौं।' कान्जी हाउस कोहलपुर आसपासमा नभएकाले तत्कालका लागि नगर क्षेत्रमा माइकिङ गरेर पशु धनीलाई सचेत पार्ने उनले बताए। उनले त्यसरी पनि समाधान नभए पशुचौपाया गाडीमा राखेर राप्तीपारि र कुसुम क्षेत्रमा छोड्ने योजना र तयारी गरेको बताए। स्थानीय स्वायत्त शासन ऐन २०५५ को नियम (९६) मा छाडा पशु पक्राउ गरी लिलाम गर्ने व्यवस्था छ। छाडा पशुलाई पूर्ण रूपमा सडकबाट मुक्त पार्न सकिएको छैन। स्थानीय स्वायत्त शासन ऐनले छाडा पशु पक्राउ गरी लिलाम गर्ने अधिकार दिए पनि प्रयास भने गरिएको छैन।

प्रकाशित: ७ असार २०७३ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App