coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘वडाको करिब सय रोपनी जग्गा मिचिएको छ’

सुदर्शन धिमाल, वडाध्यक्ष
कागेश्वरी मनहरा नगरपालिका– २

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के काम गर्नुभयो ?
हामीले जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको आठ महिना भइसक्यो । जनताले सोचेजस्तो काम अझै गर्न सकिरहेका छैनौँ । यद्यपि आफ्नो तर्फबाट कोसिस गरिरहेका छौँ । हामीले जिम्मेवारी सम्हालेसँगै वडावासीको घर–घरमा शौचालय निर्माण गरेर वडा कार्यालयलाई खुलादिशामुक्त क्षेत्र घोषणा गरेका छौँ । फुयाँल गाउँदेखि बस्नेत गाउँसम्म चार मिटर चौडा भएको १५ सय मिटर सडक ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ । नगरपरिषद्ले अघि सारेको ‘एक घर एक धारा’ अभियानअन्तर्गत अहिले दुईवटा ड्रिप बोरिङ खनेर खानेपानी वितरण प्रणाली विस्तार गरिरहेका छौँ । सम्भवतः चार महिनाभित्रै खानेपानी वितरण गर्नेछौँ ।

काम गर्न कतिको सहज रहेछ ?
जनप्रतिनिधि भएर काम गर्न सोचेजति सजिलो रहेनछ । १८ वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । यो अवधिमा स्थानीय तह अस्तव्यस्त र भद्रगोलशैलीमा चल्दै आइरहेको थियो । त्यसैले पनि अहिले काम गर्न अप्ठेरो भइरहेको छ । अर्काेतर्फ जनताको प्रत्यक्ष सरोकार राख्ने सम्पूर्ण कार्य स्थानीय निकायको काँधमा आएको छ । जनतामा विकासको चाहना र आकांक्षा ठूलो छ । स्थानीय तहमा स्रोत–साधन र बजेट भने अत्यन्तै कम छ । यसले गर्दा पनि हामीले जनताले अपेक्षा गरेअनुसार कार्यसम्पादन गर्न सकिरहेका छैनौँ ।
तपाईंको वडामा अधिकांश सडक कच्ची छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ ?
हाम्रो वडा ग्रामीण क्षेत्र हो । अधिकांश सडक कच्ची र ग्राभेलिङ भएका छन् । वडामातहत साना–ठूला गरेर २० किलोमिटर कच्ची र ग्राभेल सडक छन् । सुन्दरीजल–सूर्यमण्डली–साँघु हुँदै नगरकोटसम्म सडकको डिपिआर र लागत इस्टिमेट गरिरहेका छौँ । सम्भवतः केही समयभित्रै उक्त सडकखण्डको ठेक्का प्रक्रिया अघि बढ्नेछ । चौताराटार–थापागाउँ–सूर्यमण्डली सडकखण्ड नगरस्तरीय योजनामा परेको छ । उक्त सडकमा रिटेनिङवाल लगाउनेदेखि अन्य काम थालिसकेका छौँ । वडाका सडक वडा कार्यालय र नगरपालिकाको बजेटले मात्रै बनाउन सकिने अवस्था छैन । त्यसैले संघीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर आगामी पाँच वर्षभित्रै वडामा रहेका सबै सडक कालोपत्रे गर्ने योजना बनाएको छु ।

स्याटेलाइट सिटीको अवधारणा कता पुग्यो ?
काठमाडौं उपत्यका विकास प्राधिकरणले कागेश्वरी मनहरा–गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानलाई समेटेर स्याटेलाइट सिटीको नीतिगत अवधारणा ल्याएको छ । नीतिगत निर्णय भए पनि सिटी निर्माणका लागि हालसम्म केही काम हुन सकेको छैन । वडा तथा नगरपालिकाले स्याटेलाइट सिटी निर्माणका लागि बारम्बार पहलकदमी गरिरहेको छ । हामीले त स्थानीय स्तरमा समन्वय गर्ने मात्रै हो । अन्य काम त उपत्यका विकास प्राधिकरणले गर्ने हो । वागमती मनहरा लगायत नदीलाई व्यवस्थित गराउन पनि स्याटेलाइट सिटी अत्यावश्यक छ ।
तपाईंको वडामा कृषियोग्य भूमि प्लटिङ भइरहेको छ, रोक्ने योजना के छ ?
ग्रामीण क्षेत्र भएकाले अहिलेसम्म वडामा कृषियोग्य जमिन प्रशस्त मात्रामा छ । लामो समय जनप्रतिनिधि नहुँदा कृषियोग्य जमिनमा प्लटिङ तथा अव्यवस्थित बस्ती बस्ने क्रम बढ्यो । हामी आएसँगै कृषियोग्य जमिनमा अनधिकृत रूपमा प्लटिङ गर्न रोक लगाएका छौँ । त्यसका साथै घर निर्माण गर्न अनिवार्य रूपमा भवन निर्माण आचारसंहिता लागू गरेका छौँ ।

वडा कार्यालयले किसानका लागि कस्तो योजना अघि सारेको छ ?
उब्जाउभूमि भएकाले अधिकांश वडावासी कृषिमा निर्भर हुँदै आइरहेका छन् । किसानले तरकारीखेती, गाई–बाख्रापालन तथा नगदेबाली लगाउँदै आइरहेका छन् । पछिल्लो समय जिल्ला कृषि कार्यालय स्थानीय तहमातहत आइसक्यो । त्यसैले नगरपालिका र वडा कार्यालयले कृषि कार्यालयसँग समन्वय गरेर कृषिलाई निर्वाहमुखीभन्दा व्यवसायमुखी बनाउन पहलकदमी गरिरहेको छ । वडा कार्यालयले किसानका लागि तालिम, अभिमुखीकरण तथा बीउ–विजनमा सहुलियत लगायत योजना अघि सारेको छ ।

हेल्थपोस्टमा बारम्बार औषधि अभाव हुने जनगुनासो छ नि ?
हाम्रो वडा कार्यालयमा एउटा हेल्थपोस्ट सञ्चालित छ । केही समययता औषधि अभाव भइरहेको सुन्नमा आएको छ । नगरपालिका र वडा कार्यालयले औषधि खरिदका लागि समन्वय गरिरहेको छ । वडा कार्यालयले हेल्थपोस्टका लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेल्थपोस्टले अबको एक महिनाभित्रै बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनेछ । हेल्थपोस्ट अहिले एचएको नेतृत्वमा सञ्चालन हुँदै छ । अब गर्भवती महिला सुत्केरी गराउन तालिमप्राप्त नर्सको दरबन्दी समेत खुला गरेका छौँ ।
नगरपरिषद्बबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सडक निर्माणका लागि कुल बजेटको ६० प्रतिशत बजेट छुट्ट्याएका छौँ । वडा कार्यालयले सडक निर्माण, ढल निर्माण, खानेपानी, स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

सार्वजनिक जग्गाको अतिक्रमण रोक्न कस्ता योजना अघि सार्नुभएको छ ?
केही भूमाफियाले जनतप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै सार्वजनिक जग्गा मिचेका छन् । वडामा करिब एक सय रोपनी सार्वजनिक जग्गा मिचिएको छ । एक सय रोपनीमध्ये करिब आठ रोपनी जग्गामा घर निर्माण गरेरै बसोबास गरेका छन् । अन्य जग्गामा खेतीपाती गर्दै आइरहेको सूचना पाएका छौँ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि अध्ययन समिति बनाइसकेको छ । अबको केही समयभित्रै सार्वजनिक जग्गाको रेखांकन गरेर वडा कार्यालयमातहत ल्याउनेछौँ ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
मेरो कार्यकालसम्म वडामा व्यवस्थित र सुन्दर बस्ती बनाउने लक्ष्य राखेको छु । वडा कार्यालयले व्यवस्थित सहरीकरणका लागि अध्ययन गरिरहेको छ । त्यसका अलावा वडावासीलाई स्वच्छ र सफा खानेपानी, व्यवस्थित सडकलगायत पूर्वाधार बनाउने सपना बोकेर अघि बढेको छु ।
प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: ७ फाल्गुन २०७४ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App