४ वैशाख २०८१ मंगलबार
अन्य

‘सहरका योजनामा आलोपालो भ्रष्टाचार हुन्छ’

पारस खड्का, क्रिकेटर

तपाईंलाई मनपरेको सहर कुन हो ?
मलाई अस्ट्रेलियाको मेलबर्न सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर अति नै व्यवस्थित छ । यहाँ बस्ने पनि अनुशासित छन् । कुनै पनि काम गर्दा एकले अर्कोलाई अवरोध गर्दैनन्, बरु सहयोग गर्छन् । सहरमा देखिने हरेक चिज नयाँ र आकर्षक लाग्छन् । खुला ठाउँ पनि प्रशस्त छन् ।

नेपालका सहर कस्तो लाग्छ ?
हरेक देशका सहरको आफ्नै विशेषता र मौलिकता हुन्छ । हाम्रा सहरमा पनि आफ्नै मौलिकता र रहनसहन पाइन्छ । नेपालका सहर अरु देशका सहरभन्दा धेरै नै मौलिक छन् । यहाँका सहरमा पुरानो संस्कृति र इतिहास भेटिन्छ । विदेशका सहरमा उस्तै–उस्तै खाले विशेषता पाइन्छन् ।

हाम्रै देशको कुन सहर मनपर्यो ?
जस्तोसुकै भए पनि हरेकलाई आफ्नो जन्मथलो प्यारो लाग्छ । म काठमाडौंमै हुर्किएको भएर होला, मलाई यो ठाउँ राम्रो लाग्छ । मैले आफ्नो करिअर पनि यहीँबाट सुरु गरेको हुँ । काठमाडौं नेपालको सुविधायुक्त सहर हो । यो सहरमा हजारौँ मानिसले अवसर पाएका छन् । यहाँको मौसम विश्वका कुनै पनि देशका सहरमा पाइन्न ।

काठमाडौंको अस्तव्यस्तता देखी दिक्क लाग्दैन ?
हरेक अवसर भएको ठाउँका रूपमा हामीले उपत्यकालाई लिन्छौँ । यसलाई रोजगार र अवसरको खानी पनि ठान्छौँ । उपत्यकाबाहिरका राम्रा ठाउँ देख्दैनौँ । यहाँ भएका सेवा–सुविधा समयमै अन्त विकेन्द्रीकरण गरेको भए आज काठमाडौं यति कोलाहल र अस्तव्यस्त हुने थिएन । सहरवासीले यति धेरै दुःख पाउने थिएनन् । कुनै पनि सहर व्यवस्थित बन्न त्यहाँको व्यवस्थापन पक्ष पनि राम्रो हुनुपर्छ ।

सरकार र नागरिक दुवै जिम्मेवार हुनुपर्छ । हाम्रा सहर बिग्रनुको मुख्य कारण सही व्यवस्थापन नहुनु नै हो । माथिल्लो निकायमा बस्ने र सहर विकास गर्ने अभिभारा बोकेको नेतृत्वले सही ढंगले काम गरेको भए सहर धेरै व्यवस्थित बन्थ्यो होला । हामीकहाँ त सहरका योजनामा आलोपालो भ्रष्टाचार हुन्छ । सरकारी वा राजनीतिक शक्तिमा हुने व्यक्तिले सङ्लो मनले काम गरेका छैनन्, त्यसैले पनि सहर बिग्रिएको हो ।

नेपालबाहिर कुनु–कुन देश पुग्नुभएको छ ?
अस्ट्रेलिया, जापान, श्रीलंका, अमेरिका, स्विट्जरल्यान्ड लगायत झन्डै २० देश पुगेको छु । बाहिरी मुलुकका देश आधुनिक अवधारणाअनुसार विकास भइरहेका छन् ।

नेपालबाहिर कुन–कुन सहर घुम्नुभयो ?
मेलबर्न, बोस्टन, लन्डन, कोलम्बो, टोकियो, सिकागो लगायत सहर घुमेको छु । यी सहर निकै व्यवस्थित र सफा–सुग्घर छन् ।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहर भन्नेबित्तिकै सुविधायुक्त र सफा हुनुपर्छ । सहरका हरेक पक्ष व्यवस्थित हुनुपर्छ । एकले अर्कोलाई हेप्नु हुँदैन । सहरको विकासमा सबै एकजुट भएर लाग्नुपर्छ । हाम्रोमा सहर भन्नेबित्तिकै धेरैले काठमाडौंलाई मात्र सम्झन्छन् । उपत्यका बाहिरका सहर पनि सुन्दर छन् । यहाँका सबै सेवा–सुविधा अन्तका सहरमा पनि सारेको भए काठमाडौं अलि खुकुलो हुने थियो । अब त मुलुक संघीयतामा गइसकेको छ, यसले पनि उपत्यकाका सेवा–सुविधा अन्त पुर्याउनेछ । मानिसको चाप बढी भएकाले उपत्यकाको हावापानी प्रदूषित भएको हो ।

काठमाडौंलाई व्यवस्थित पार्न के गर्नुपर्ला ?
काठमाडौंबाहिरका सहरलाई पनि सुविधायुक्त बनाउनुप¥यो । अहिले भइरहेको विकास, निर्माणलाई छिटो सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिनुप¥यो । काठमाडौं आफैँमा नराम्रो सहर होइन । मानिसकै कारण बिग्रिएको सहर हो, काठमाडौं । यहाँ बस्ने सबै जिम्मेवार भइदिएको भए आज काठमाडौं यति फोहोर हुने थिएन । दुई–तीनवटा विषय मात्रै ध्यान दिनसके काठमाडौं अन्य सहरभन्दा सुन्दर बन्न सक्छ ।

काठमाडौंबाहिर कुन–कुन सहर राम्रो लाग्यो ?

उपत्यकाभन्दा बाहिरका धेरै सहर सुन्दर छन् । नेपालका हरेक सहरको आ–आफ्नै विशेषता छ । मलाई काठमाडौंबाहेक पोखरा, विराटनगर, नेपालगन्ज, धनगढी र धरान पनि राम्रो लाग्छ । हरेक सहरमा नेपालको मौलिकपन र वास्तविकता झल्केको पाइन्छ । हिजोको हाम्रो समाज कस्तो थियो भन्ने कुरा हामै्र सहरले पनि बोलेका छन् ।

काठमाडौंको मनपर्ने पक्ष के हो ?
उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष मौसम हो । यहाँको हावापानी सदावहार छ । यस्तो किसिमको हावापानी संसारमा अन्त पाइँदैनजस्तो लाग्छ । उपत्यकामा ऐतिहासिक मठ–मन्दिर र जात्रा–पर्व पनि छन् ।

मननपर्ने पक्ष के हुन् ?
यहाँको धुवाँधुलो, ट्राफिक जाम, भीडभाड मनपर्दैन । ट्राफिक व्यवस्थापन हुन नसकेकै कारण राजधानीवासीले धेरै समस्या खेप्नुपरेको छ । सडक निर्माणलाई समयमै नसक्दा अहिले उपत्यकाको सबैतिर प्रदूषण बढेको छ । जताततै धुलो मात्रै देखिन्छ ।
यस्ता समस्या समाधानका लागि के गर्नुपर्ला ?
सरकारी निकायबीच आपसी समन्वय हुनुपर्यो । सबै निकायले पारदर्शी ढंगले काम गर्नुप¥यो । उपत्यकाको सरसफाइ, बाटोघाटो निर्माण, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषय केन्द्रमा राखेर काम गर्ने हो भने समस्या तुरुन्तै समाधान हुन सक्छ ।

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहर स्वच्छ, सफा, हरियाली र शान्त होस् । यातायातलगायत सहरमा हुने हर सुविधा होस् ।

विदेशका सहर र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो ?
विदेशी र हाम्रा सहरलाई दाँज्न मिल्दैन । हाम्रा सहरको विशेषता विदेशी सहरमा भेटिँदैन । विदेशी सहरमा पाइने विशेषता हाम्रा सहरमा भेटिँदैन । हाम्रा सहरको मौलिकता र ऐतिहासिक पक्ष देशको भन्दा भिन्न छ।

पछिल्लो समय घुमेको सहर कुन हो ?
पछिल्लो समय खेलकै सिलसिलामा नामिबिया पुगेको थिएँ । खेल सकिएको दिन त्यहाँका केही सहर पनि घुमेका थियौँ ।

काठमाडौंनजिकै घुम्न जानुपर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यकानजिकै घुम्ने र रमाइलो गर्ने पर्याप्त ठाउँ छैनन् । नगरकोट, धुलिखेल, ककनीलगायत ठाउँ जाने गरेको छु ।
काठमाडौं उपत्यकाको मनपर्ने खानेकुरा के हो ?
मलाई यहाँको मःमः ज्यादै मिठो लाग्छ । यहाँको जस्तो मःमः उपत्यकाभन्दा बाहिरका सहरमा पाइनँ ।
प्रस्तुति :शिवहरि घिमिरे

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App