८ वैशाख २०८१ शनिबार
अन्य

बाजेका पालाको चंगा पसल

 

सविता खड्का

असन काठमाडौको पुरानो व्यावसायिक केन्द्र हो । यहाँका स्थानीयहरूले विभिन्न व्यापार- व्यवसाय गर्दै आएका छन् । तीमध्ये कति पसलहरू त निकै पुराना छन् । यस्तै मध्येको एक हो, चित्रकार चंगा पसल ।
पसल झण्डै एक शताब्दिदेखि सञ्चालन भइरहेको सञ्चालक दिनोज चित्रकार बताउँछन् । उनका अनुसार पसल हजुरबुबा नारायण चित्रकारले स्थापना गरेका थिए । ‘बाजेकै पालादेखि सुरु भएको चंगा व्यवसाय हाम्रो परम्परागत व्यवसाय नै हो,’ ४१ वर्षीय दिनोजले भने ।

उनकी ८७ वर्षीया हजुरआमा पसलकी साक्षि हुन् । हजुरआमा १० वर्षमा बिहे गरेर आउँदा पसल सञ्चालन रहेको उनी बताउँछन् । पसल सञ्चालन भएको ९० वर्षभन्दा बढी हुनसक्ने उनी अनुमान गर्छन् । यो नेपालकै सबैभन्दा पुरानो चंगा पसल भएको उनको दाबी छ ।

सामान्यतया चंगा उडाउने समय चैत–वैशाखदेखि दसैंसम्म चल्छ । चित्रकार भने १२ महिना चंगा बेच्ने बताउँछन् । ‘सिजनका बेला अलि बढी व्यापार हुन्छ, तर हामीले बाह्रै महिना चंगा बेच्छौं,’ उनले भने ।
बाजे हुँदै बाबु र आफ्नो पुस्तासम्म आइपुग्दा पनि चित्रकारको चंगा व्यवसायप्रतिको मोह घटेको छैन । बीचमा केही समय परिवारलाई व्यवसाय जिम्मा लगाएर जागिर सुरु गरेका उनी ०६५ पछि पुनः यही व्यवसायमा सक्रिय रहँदै आएका छन् ।

सधै व्यापार नहुने भएकाले उनको परिवारले चंगासँगै पाउ लगायतका खाद्य वस्तु पनि बेच्दै आएको छ ।
चंगाको होलसेल पसल सञ्चालन गर्दै आएका उनी भारतबाट चंगा आयात गर्ने बताउँछन्  । ‘हामीले भारतबाट सिधै आयात गर्छौँ,’ उनले भने । चंगाको सिजनका बेला उनी आफैले काठमाडौंभित्र तथा बाहिर पनि चंगा सप्लाई गर्छन् । हाल उनले तीन रूपैयाँदेखि एक सय ५० रूपैयाँसम्मका चंगा बिक्री गर्छन् ।

चंगासँगको उनको सामिप्यता सानैदेखि हो, तर बाल्यकालमा उनले सहजै चंगा उडाउन भने पाउने थिएनन् । बाल्यकाल सम्झदै चित्रकारले भने, ‘पसलमा बस्नुपथ्र्याे त्यसैले चंगा उडाउन निकै कम पाइन्थ्यो ।’ कहिलेकाहीँ उनी बुबाको आँखा छलेर चंगा चोरेर उडाउँथे, तर उनले बुबाको हातबाट कुटाइ खानुपथ्र्याे ।
उनी चंगा उडाउनुमा पनि धार्मिक महत्व जोडिएको बताउँछन् । पहिले वर्षा याममा धान रोपेपछि भगवान इन्द्रलाई पानी रोकिदिन आग्रह गरेर चंगा उडाइने गरेको किंवदन्ती रहेको उनको भनाइ छ । नेवारी परम्परा अनुसार बिहे गरेर टाढा गएका चेलिबेटीलाई दसैका बेला निमन्त्रणा गर्न पनि सांकेतिक रूपमा चंगा उडाउने प्रचलन रहेको उनले बताए।

पछिल्लो समय ग्याजेटप्रति युवाहरूको मोह बढ्दै गएपछि चंगाको व्यापार कम हुँदै गएको उनको अनुभव छ । ‘पहिले  समय कटाउने अन्य माध्यम निकै कम भएकाले चंगाको व्यापार बढी थियो,’ उनले भने ।
पहिलेको तुलनामा उपत्यका बाहिर भने चंगाको व्यापार केही बढेको उनको अनुभव छ । भूकम्पपछि पनि उपत्यकामा चंगाको व्यापार खासै फस्टाउन नसकेको उनको भनाइ छ । ‘अहिले पहिलेजस्तो व्यापार छैन, तर पनि पहिलेदेखि यही व्यवसाय गर्दै आएकाले निरन्तरता दिइरहेका छाँै,’ उनले भने ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App