६ वैशाख २०८१ बिहीबार
अन्य

अयान्ड्रोमेडा र आकाशगंगाको भार समान

काठमाडौं - अस्ट्रेलियामा कार्यरत नेपाली खगोलशास्त्री डा. प्रज्वल काफ्लेले अयान्ड्रोमेडा (आकाशगंगा) को भार हामी रहँदै आएको आकाशगंगाको जति नै पत्ता लगाएका छन् ।यसअघि अयान्ड्रोमेडा हामी रहँदै आएको आकाशगंगाभन्दा २–३ गुणा ठूलो मानिँदै आएको थियो । काफ्लेको टोलीले दुई आकाशगंगाको भार समान रहेको मापन गरेको हो ।

हाम्रो स्थानीय ब्रह्माण्डको उत्पत्ति कसरी भयो र अन्त्य कसरी हुन्छ भन्ने विषयमा उनको खोजलाई विश्वभरि अत्यन्त महत्वका साथ हेरिएको छ ।अस्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टन अस्ट्रेलियामा कार्यरत वैज्ञानिक काफ्ले नेतृत्वको टोलीले आयन्ड्रोमेडा आकाशगंगामा रहेका केही दुर्लभ उच्च गतिका ताराहरु अध्ययन गरेर हाम्रो आकाशगंगाभन्दा ठूलो नभएको पत्ता लगाएको हो ।

अस्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टन अस्ट्रेलियामा कार्यरत वैज्ञानिक प्रज्वल काफ्ले नेतृत्वको टोलीले आयन्ड्रोमेडा आकाशगंगामा रहेका केही दुर्लभ उच्च गतिका ताराको अध्ययन गरेर हाम्रो आकाशगंगाभन्दा ठूलो नभएको पत्ता लगाएको हो।

उनको खोजमा अस्ट्रेलियामै कार्यरत एक भारतीय र तीन बेलायती वैज्ञानिकले साथ दिएका थिए ।
स्पेनको ला पाल्मास्थित विलिएम हर्सेल टेलिस्कोपले सन् २००५ मा अयान्ड्रोमेडा आकाशगंगाको बारेमा लिएको तथ्यहरुका आधारमा उक्त मापन गरिएको हो । काफ्लेले अयान्ड्रोमेडालाई परिक्रमा गर्ने ८६ वटा ताराको अध्ययन गरेका थिए । १० अर्ब ताराहरु रहेको अनुमान गरिएको यो आकाशगंगाको भार (तौल) मापन गर्न उनीहरुले ‘स्केप भेलोसिटी’ को विधि प्रयोग गरेका थिए ।

स्केप भेलोसिटी भनेको कुनै पनि अर्को वस्तुको भारको गुरुत्वाकर्षणलाई जित्न सक्ने गति हो । जस्तै ः पृथ्वीबाट अन्तरिक्षमा रकेट पठाउने हो भने त्यसको गति ११ किलोमिटर प्रतिसेकेन्डभन्दा बढी हुनुपर्छ । जसले पृथ्वीको गुरुत्वाकर्षणलाई जित्छ । त्यसैगरी हाम्रो आकाशगंगाको गुरुत्वाकर्षण शक्ति जित्ने गति प्रतिसेकेन्ड ५५० किमि हुनुपर्छ । उनीहरुले प्रथम पटक अयान्ड्रोमेडाको स्केप भेलोसिटीको मापन गर्दै उक्त आकाशगंगाको भार पनि जोख्न सफल भएका हुन् ।उनीहरुले दुवै आकाशगंगाको भार करिब ८ खर्ब सूर्य पिण्ड बराबर भएको बताएका छन् । जुन परिणाम हाम्रो आकाशगंगा बराबर हो । एक सूर्यको पिण्ड २० अर्ब खर्बको खर्ब (२ को पछि ३१ वटा शून्य) किलोग्राम बराबर हुन्छ । सौर्यमण्डल रहेको आकाशगंगामा ३ खर्ब तारा रहेको अनुमान गरिन्छ । सबैको तौल सूर्यको पिण्ड बराबर मानेर मापन गरिन्छ ।

वैज्ञानिकहरु अर्बौं वर्षपछि यी दुवै आकाशगंगा एकआपसमा जुध्ने बताउँछन् । नयाँ मापन गरेर त्यसको भार पत्ता लाग्नुअघि हाम्रो आकाशगंगामाथि अयान्ड्रोमेडा हाबी हुने बताइँदै आएको थियो । अब हुने अन्तर ग्यालेक्सी गुरुत्वाकर्षण युद्ध बराबरीमा सकिने छ । काफ्लेको यस अनुसन्धानको विषयलाई विज्ञानको प्रसिद्ध ‘नेचर’ जर्नलसहितका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले समाचार बनाएका छन् ।अयान्ड्रोमेडा आकाशगंगा हाम्रो आकाशगंगाबाट २ करोड प्रकाश वर्ष टाढा  छ । एक वर्षमा प्रकाशले तह गर्ने दुरीलाई प्रकाश वर्ष भन्ने गरिन्छ । एक सेकेन्डमा प्रकाशले करिब ३० लाख किमि दुरी तय गर्छ ।

अमेरिकी वैज्ञानिक भेरा रुविनले सत्तरीको दशकमै अयान्ड्रोमेडा आकाशगंगाको अध्ययन गरेर डार्क म्याटर पत्ता लगाएकी थिइन् भने त्यसको भार ठ्याक्कै कति हो भनेर अहिले आएर काफ्लेले नेतृत्व गरेको टोलीले मापन गर्न सकेका हुन् । ‘खगोल क्षेत्रमा अध्ययन सामीप्यका कारण बढीजसो हाम्रो आकाशगंगा र त्यसभन्दा बाहिर अयान्ड्रोमेडा आकाशगंगामा थोरै हुने गरेको छ । अन्य ग्यालेक्सीमा रहेका तारा त झन् हेर्न सकिने दुरबिन वा प्रविधि नै उपलब्ध छैन,’ काफ्लेले नागरिकसँग भने, ‘अन्य आकाशगंगाका तस्बिरहरु छन् तर ती सबै मधुरो बत्तीजस्ता छन् । त्यसमा ताराको अध्ययन गर्न सकिँदैन ।’भेरा रुविनले ग्यालेक्सीमा डार्क म्याटर हुन्छ भन्ने खोज पहिलोपटक अयान्ड्रोमान्डामै गरेकी हुन् ।

ब्रह्माण्डमा धेरै आकाशगंगा रहे पनि जीवन सभ्यताले विकास गरेको प्रविधिका आधारमा अन्य बह्माण्डको विस्तृत खोज गर्न सक्षम भइसकेको छैन । कुनै पनि आकाशगंगामा टेलिस्कोप वा आँखाले देखिने भनेको १० प्रतिशत अंशमात्रै हो । बाँकी विषय प्रत्यक्ष देख्न सकिन्न । ‘हाम्रो आकाशगंगाका बारेमा धेरै तथ्यहरु जानकारीमा छन् र यसको भार कति हो भन्ने बारेमा एकमत पनि रहेको छ,’ काफ्लेले भने, ‘एक एक ताराको भार गणना गरेर मापन गर्न सम्भव पनि हुँदैन र सही जानकारी पनि दिँदैन किनभने आकाशगंगाको ९० प्रतिशत हिस्सा  प्रत्यक्ष देखिन्न ।’ काफ्लेसहितको टोली सन् २०१४ देखि यस विषयमा अध्यनरत थियो ।

काफ्लेले अयान्ड्रोमेडा र हाम्रो आकाशगंगामा धेरै गुण समान रहेकाले अयान्ड्रोमेडा अध्ययनले हाम्रो आकाशगंगा अध्ययनमा पनि सहयोग पुग्ने बताए । उनले भने, ‘हाम्रो आकाशगंगा कस्तो छ भनेर यसलाई बाहिरबाट हेर्नुपर्ने हुन्छ तर हामी यसको बाहिर जान सक्दैनाै । त्यसैले अयान्ड्रोमेडाको अध्ययन गरेर हाम्रो आकाशगंगा यस्तो होला अध्ययन गर्न सजिलो हुन्छ ।’ उनका अनुसार आकाशगंगा कसरी बन्यो भनेर पनि बुझ्न सजिलो हुन्छ । उनले भने, ‘हामी अहिले ठूलो घरको झ्यालमा बसेर अर्को त्यस्तै आकार र त्यत्रै ठूलो घरलाई हेरेर अनुमान लगाउने काम गरिरहेका छौं ।’काफ्लेले नयाँ मापनले अयान्ड्रोमेडाका थोरै स्याटलाइट ग्यालेक्सीहरुले परिक्रमा गर्छन् भन्ने जिज्ञासाको पनि जबाफ दिएको बताए।

विद्यालय शिक्षा जनकपुरमा अध्ययन गरेका काफ्लेले त्रिचन्द्र कलेजबाट बिएस्सी र केन्द्रीय क्याम्पस कीर्तिपुरबाट भौतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २०१०–२०१४ मा उनले सिड्नी विश्वविद्यालयको पूर्ण छात्रवृत्तिमा  खगोलशास्त्रमा पिएचडी गरेका हुन् । यसअघि काफ्लेले गरेको आकाशगंगामा रहेको डार्क म्याटरको तौल यसअघि मानिएको भन्दा करिब आधा मात्र रहेको पत्ता लगाएका थिए ।

 

प्रकाशित: ७ फाल्गुन २०७४ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App