४ वैशाख २०८१ मंगलबार
समाज

आरक्ष विस्थापितको शिविरमा हात्ती आतंक, २१ टहरा भत्कायो

महेन्द्रनगर – कञ्चनपुरका आरक्ष विस्थापितको शिबिरमा जंगली हात्तीको बथानले आतकं मच्चाएको छ । जंगली हात्तीको बथानले ढक्का र तारापुर शिबिरमा बस्दै आएका आरक्ष विस्थापितको टहरा भत्काईदिएको हो। 

आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले शनिबार राति आएको हात्तीको बथानले २१ घरपरिवारका टहरा भत्काईदिएको बताए। टहरा भत्काउनुका साथै हात्तीको बथानले भाँडाकुण्डा अन्नबाली समेत नष्ट गरिदएको छ। हात्तीको बथान बस्तीमा पसेपछि स्थानीय भने भाग्दा बाँचेका छन्। 

‘हात्ती बस्तीमा आउँदा सबैले हल्ला ग-यौँ, ‘अध्यक्ष भण्डारीले भने, ‘हामी भागेर बाँच्यौँ, घर अन्नबाली खाईदियो।’ यस्तै हात्तीको बथानले ११ जनाको झण्डै ५/७ विगाह जमिनको गहुबाली समेत नष्ट गरिदिएको छ। घर टहरा भत्काईदिएपछि आरक्ष पीडित परिवारको विचल्ली भएको छ। दैनिक खाने, पकाउने, अन्नबाली नष्ट गरिदिएपछि उनीहरुको विचल्ली भएको हो। 

संघर्ष समितिका अध्यक्ष भण्डारीका अनुसार धन बहादुर विष्ट, अमिर नेगी, हर्क बहादुर विष्ट, गणेश बहादुर कुँवर, जयभान पार्की, हरिलाल साउद लगायत २१ घर परिवारको टहरा भत्काएको छ। 

विस २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालिन आरक्ष) विस्तारका क्रममा विभिन्न स्थानबाट विस्थापित गराएका आरक्षपीडितको पुनर्स्थापना नहुँदा उनीहरु यस्तै निकुञ्ज, जंगल, खोलानाला छेउछाउमा बस्दै आएका छन्। 

भारतको दुधुवा नेशनल पार्क हुँदै लालझाँडी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको जैविक मार्ग नासिदै गएपछि हात्तीले मानविय बस्तीमा समेत आक्र्रमण गर्दै आएको छ। आरक्षपीडितले घरटहराको क्षतिपूर्ति र राहतको माग गरेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७४ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App