coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

दूध बेचेर पानी किन्दै

पाल्पा- सुन्दा अचम्म लाग्न सक्छ, दूध बेच्दै पानी किन्दै भन्दा। मदनपोखरा छापका स्थानीय कृषकले भने दैनिक दूध बिक्री गरेर पानी खरिद गर्ने रहर नभइ बाध्यता बनेको छ।

व्यवसायिक पशुपालन गरेका यहाँका २७ घर परिवारले दैनिक पानी नकिन्ने हो भने, कामकाज नै चल्दैन। उनीहरूले तीन किलोमिटर टाढा ट्याङ्करबाट पानी ढुवानी गर्दै आएका छन्। पानीको स्रोत नजिक छैन, पहिले भएको मुहान पनि भूकम्पपछि सुकेपछि कृषकलाई समस्या पर्दै गएको छ। दैनिक ७० लिटर दूध बिक्री गर्दै आएका कृषक बलबहादुर सिँजाली भन्दछन्, 'दैनिक चार सय लिटर पानी आवश्यक पर्छ, ट्याङ्करको पानी बिना विकल्प नै छैन। मासिक रूपमा पानीकै लागि १० हजार रूपैयाँ खर्च हुने गर्छ।' पानीको समस्याका कारण पशुपालन गर्न निकै कठिन भएको कृषक सिँजाली बताउँछन्।

छापमा एउटा पानीको स्रोत कुवा हो। पानी संकलनकालागि यहाँ लाइन नै लाग्ने गर्छ। पशुपालक कृषक कुलबहादुर चितौरेले पानीको समस्याका कारण व्यवसाय लिनु न छाड्नु जस्तै भएको बताउँछन्। ट्याङ्कर बोलाउँदा समेत समयमा आउँदैन। 'दैनिक दुईदेखि पाँच सय लिटरसम्म पानी आवश्यक पर्छ,' चितौरे भन्छन्। पानीको समस्या यो वर्ष मात्र भने होइन। 'धेरै वर्ष भयो जिल्ला पशु सेवा कार्यालयको उत्प्रेरणामा गाई पालन गरियो, तर पानीका कारणले गर्दा प्रतिदिन समस्या जटिल बन्दै गएको छ,' कृषक अमृतसिंह ठकुरीले भने, 'लामो प्रयासपछि खानेपानीको लिफ्िटङ योजना त परेको छ, तर कनिका छरे जस्तो बजेटले कहिले पूरा हुन्छ भन्ने सपना जस्तै भएको छ।' पशु सेवा केन्द्र मदनपोखराका प्राविधिक शेरबहादुर राना भन्छन्, 'व्यवसायिक रूपमा नै यहाँका अधिकांश घरमा गाई, भैँसी, बाख्रा, बुंगुर र कुखुरा समेत पालिएको छ। तर, पानीको समस्याका कारण कृषकले पशुपालन छाडेर अन्यन्त्र केन्द्रित हुन थालेका छन्।' पानीको समस्या समाधान गर्न सके यहाँ राम्रो सम्भावना छ। उनले पशु सेवा कार्यालयको सहयोगमा यहाँका कृषकलाई पशुपालनमा उत्प्रेरणा थपेको बताए।

एक दिनमा छापबाट एक सय २० लिटर दूध बजारमा जाने गर्छ, तर दैनिक दुईदेखि तीन ट्याङ्कर पानी भित्रने गर्छ। 'खानेपानी समस्याको सामाधानका लागि धेरै पटक धेरै व्यक्तिलाई अवगत गराउदाँसम्म पनि समाधान हुन सकेन,' कृषक माया खाँड बताउँछिन्।

प्रकाशित: ७ असार २०७३ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App