७ वैशाख २०८१ शुक्रबार
अर्थ

जहाँ धाराबाट दूध आउँछ

ललितपुरको इकुडोलवासीले उत्पादन गरेको दूध पाइपको सहयोगले संकलन गरिदै। तस्बिर /नागरिक

सविता खड्का
काठमाडौं – धाराबाट के आउँछ ? जवाफका लागि पर्खिनु नै पर्दैन–‘पानी’ । लतिलपुरको इकुडोलमा भने धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो।

इकुडोलवासीले दूध संकलनका लागि यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए । सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् । ‘दूध संकलनका लागि सहज होस् भनेर यस्तो प्रविधि सुरु गरेका हौं,’ आचार्यले भने।

यस प्रविधिमार्फत सडकको पहुँच नभएका उचाइका गाउँबाट पाइपको सहायताले बेसीमा दूध आपूर्ति गरिन्छ । आचार्य ढुवानीका साधनको विकल्पमा दूध संकलनका लागि पाइप प्रविधि सञ्चालनमा ल्याएको बताउँछन् ।  सुरुमा ६० हजार रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो प्रविधिले आफूलगायत गाउँका थुप्रै किसानलाई फाइदा भइरहेको उनको भनाइ छ।
इकुडोलमा पर्याप्त मात्रामा दूध उत्पादन हुने भए पनि वर्षा तथा गर्मीका बेला संकलन गर्न समस्या हुँदै आएको थियो । लामो समय लगाएर संकलन गर्दा दूध फाट्ने समस्यासमेत थियो । युवा वैदेशिक रोजगारीमा गएपछि दूध संकलनका लागि जनशक्तिको समेत अभाव थियो । यस्ता समस्या समाधानका लागि पाइप प्रविधि उपयुक्त माध्यम बनेको इकुडोलका किसान बताउँछन्।

सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि पाइप प्रविधि सुरु हुन पुग्यो । यसबाट किसान र व्यवसायीको श्रम, समय र पैसासमेत बचत भएको छ।

यो प्रविधिबाट कसरी दूध संकलन हुन्छ भन्ने प्रश्नको जवाफमा आचार्य भन्छन्, ‘सुरुमा पाइपमा तातो पानी पठाइन्छ । तातो पानी आएपछि दूध संकलन केन्द्रमा दूध आउँदैछ भन्ने थाहा हुन्छ, दूध सकिएको संकेतस्वरुप चिसो पानी पठाइन्छ,’ आचार्यले भने । आचार्यले सुरुमा तातो पानी पठाउनुको कारण खुलाए, ‘अघिल्लो दिनमा पठाएको दूधको फ्याट पाइपमा टासिने हुँदा दूध फाट्ने सम्भावना हुन्छ । तातो पानीले चिल्लो पदार्थ बगाएर लैजान्छ र पाइपबाट ताजा दूध आपूर्ति हुन्छ।’

पाइप प्रविधिले किसानको समय, श्रम र पैसा पनि बचाएको छ । ‘यो प्रविधिले हाम्रो समयसँगै प्रतिलिटर दूधमा पाँच रुपैयाँ बचत भएको छ’, आचार्यले भने । यो प्रविधि प्रयोग गर्नुपहिले किसानले ढुवानीबापत प्रतिलिटर पाँच रुपैयाँ अतिरिक्त खर्च गर्नुपथ्र्यो । एक दिनमा दुई सय लिटरभन्दा बढी दूध संकलन हुने इकुडोलका किसानले दुध संकलन केन्द्रसम्म दूध पुु¥याउँदा दैनिक एक हजारभन्दा बढी खर्च हुने गथ्र्याे । वार्षिक खर्च तीन लाख ६५ हजार पथ्र्यो । पाइप प्रविधि प्रयोग गरेपछि यो रकम बचत भएको छ । पछिल्लो समय क्षेत्रीगाउँ, स्याउडाँडा र छपेलीमा पनि यही प्रविधिबाट दूध संकलन भइरहेको आचार्यले जानकारी दिए।

इकुडोलमा यो प्रविधि सुरु भएको पाँच वर्षपछि ललितपुरकै बुखेलमा राजेन्द्र घिमिरे, भट्टेडाँडामा ठक्करप्रसाद सन्जेलले यो प्रविधिबाट दूध संकलन सुरु गरेका थिए । २०७० बाट गोटीखेलमा शिवप्रसाद सन्जेलले पनि दूध संकलनका लागि यही प्रविधि प्रयोग गरे । गोटीखेलमा ६० घर धुरीबाट उत्पादन हुने आठ सय लिटर दूध यही प्रविधिबाट संकलन हुने गरेको छ।
पाइप प्रविधि सुरु हुनुपहिले गोटीखेलका ६० घरधुरी  किसान प्रत्येक दिन २ घण्टा हिँडेर बजारमा दूध पु¥याउँथे । पाइप प्रविधिको माध्यमबाट भने एक घण्टाभित्रै आठ सय लिटर दूध संकलन भइसक्ने सन्जेलले बताए । संकलित दूध  गोटीखेल दूध चिस्यान केन्द्रमा राख्ने र मागअनुसार विभिन्न डेरी उद्योगमा पठाइने जानकारी सन्जेलले दिए।

प्रकाशित: ८ फाल्गुन २०७४ ००:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App